नेपालको नयाँ नक्सा हटाएर के रु १ को सिक्कामा गुम्बाको चित्र राख्न लागिएको हो?

लो गेकर दामोदरकुण्डस्थित बौद्ध गुम्बा

तस्बिर स्रोत, Lo Ghekar Damodar Kunda Municipality

    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ५ मिनेट

नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरूका अनुसार एक र दुई रुपैयाँका नयाँ सिक्का निष्कासनका लागि डिजाइन परिवर्तनको प्रक्रिया अघि बढेको छ। तर प्रधानमन्त्री कार्यालयका प्रवक्ताले बाहिर चर्चामा आए जस्तो एक रुपैयाँको नयाँ सिक्कामा उपल्लो मुस्ताङस्थित एउटा गुम्बाको आकृति राख्ने निर्णय नगरिएको बताएका छन्।

यसपालि नयाँ पहेँलो रङ्गको धातुको सिक्काको सट्टामा सेतो रङ्गको 'स्टेनलेस स्टील'को सिक्का जारी गर्न लागिएको र त्यसो गर्दा लागत समेत घटाउन खोजिएको राष्ट्र ब्याङ्कका प्रवक्ताले बताएका छन्।

नेपाल राष्ट्र ब्याङ्कले एक रुपैयाँ र दुई रुपैयाँ दरका कागजका नोट निकाल्न छोडिसकेको छ। तर दैनिक प्रयोगका लागि फुटकर रुपैयाँ पनि आवश्यक हुने भएकाले सिक्का भने 'टकमरी' गर्दै आएको छ।

सञ्चारमाध्यममा एक रुपैयाँको सिक्कामा नेपालको नक्सा हटाएर मुस्ताङमा रहेको लो घेकर गुम्बाको चित्र राख्न लागिएका विवरणहरू आएपछि विपक्षी नेताहरूसहित धेरैले त्यसबारे चासो र चिन्ता व्यक्त गरेका छन्।

मन्त्रिपरिषद्को असार ३२ गतेको बैठकले एक र दुई रुपैयाँ दरका नयाँ सिक्का टकमरी गर्न नेपाल राष्ट्र ब्याङ्कलाई स्वीकृति दिने निर्णय लिएको थियो।

प्रधानमन्त्रीको कार्यालय के भन्छ

नेपाली सिक्का

प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले बीबीसीसँग कुरा गर्दै सिक्का छाप्ने निर्णय भए पनि त्यसमा गुम्बाको आकृति राख्ने निर्णय नभएको बताए।

उनले बीबीसीसँग भने, "एक रुपैयाँको सिक्काबारे जुन सरोकार व्यक्त भएको छ, सिक्कामा गुम्बाको फोटो राख्ने कुनै पनि निर्णय भएको छैन।"

प्रधानमन्त्रीको सचिवालयले यसबारे कुनै प्रतिक्रिया दिएको छैन।

तर पछिल्लो विवाद सतहमा आएसँगै अब एक रुपैयाँको सिक्कामा नक्साले नै निरन्तरता पाउने सम्भावना रहेको केही जानकार अधिकारीहरूले बताएका छन्।

चर्चामा आएको गुम्बाबारे हामीलाई के थाहा छ

अमेरिकी राजदूतवासका अधिकारी र मुस्ताङका स्थानीय उक्त गुम्बा पुनर्निर्माण परियोजना सम्पन्न भएको कार्यक्रम स्थल।

तस्बिर स्रोत, US Embassy/Facebook

तस्बिरको क्याप्शन, अमेरिकी विदेश मन्त्रालयले उक्त गुम्बाको संरक्षणमा आर्थिक सहयोग उपलब्ध गराएको थियो

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएपछि एक रुपैयाँको सिक्कामा नेपालको नक्साको साटो मुस्ताङको ले घेकेर दामोदरकुण्ड गाउँपालिकामा अवस्थित आठौँ शताब्दी पुरानो बौद्ध गुम्बाको आकृति राख्न लागिएको चर्चा हुन थाल्यो।

नेपालमा अहिले प्रचलनमा रहेका एक र दुई रुपैयाँको सिक्कामा सन् २०२० मा संविधान संशोधनमार्फत् आफ्नो भूभागका रूपमा समेटेको कालापानी, लिम्पियाधुरा, लिपुलेक रहेको भेग देखिने गरी पश्चिमोत्तर भेगमा चुच्चो देखिने नक्सालाई राखिएको छ।

भारत र नेपाल दुवैले ती भूभाग आफ्नो भएको दाबी गर्दै आएका चन्। नक्सा विवादले केही समय दुई देशको सम्बन्ध पनि चिसिएको थियो।

विगत केही वर्षदेखि नेपालले सिक्का, ब्याङ्क नोट र सरकारी चिह्नमा समेत अद्यावधिक नक्सा प्रयोग गर्दै आएको छ। सबैभन्दा पहिला केपी ओली नेतृत्वको सरकारले एक र दुई रुपैयाँको सिक्कामा नेपालको अद्यावधिक नक्सा समावेश गर्ने निर्णय लिएको थियो।

त्यस बेला एक रुपैयाँका सिक्का ३० करोड थान र दुई रुपैयाँका सिक्का १० करोड थान निष्कासन गरिएको अधिकारीहरू बताउँछन्।

अहिले एक रुपैयाँको सिक्कामा राख्ने भनी विभिन्न विवरणहरूमा उल्लेख गरिएको गुम्बा उपल्लो मुस्ताङमा माराङ नदीनजिकै ३,९३० मिटर उचाइमा अवस्थित छ।

सन् २०१५ को विनाशकारी भूकम्पले क्षति पुर्‍याएको उक्त सम्पदास्थलको पुनर्निर्माण र सबलीकरणका लागि अमेरिकी विदेश मन्त्रालयले सन् २०२० मा 'एम्ब्यासडर्स फन्ड फर कल्चरल प्रिजर्भेशन ग्र्यान्ट'अन्तर्गत सन् २०२० मा दुई लाख ८५,००० अमेरिकी डलर उपलब्ध गराएको थियो।

मुस्ताङ क्षेत्रकै एउटा गैरसरकारी संस्था नोर्बुसम फाउन्डेशनले चार वर्ष लगाएर मर्मत, पुनर्निर्माण र छानो लगायतका पूर्वाधारहरूमा काम गरेको थियो।

जेन जी आन्दोलनपछि सम्पन्न निर्वाचनपछि बनेको सरकारले एक रुपैयाँको नोटमा उक्त गुम्बाको आकृति राख्न लागिएको खबर आएपछि नेपाल-भारत सीमा विवाद र भूराजनीतिसँग जोडेर समेत प्रतिक्रियाहरू व्यक्त भएका थिए।

नेकपाका नेता भीम रावलले त्यस्तो निर्णय "भौगोलिक अखण्डताविरुद्ध" ठहरिने भन्दै सरकारसँग स्पष्टीकरण माग गरेका थिए।

१ रुपैयाँको सिक्का निकाल्न २ रुपैयाँभन्दा बढी खर्च?

राष्ट्र ब्याङ्कका प्रवक्ता गुरुप्रसाद पौडेलले मौज्दात कम हुँदै गएकाले एक र दुई रुपैयाँको सिक्का निष्कासन गर्न लागिएको जनाए।

"अब के परिवर्तन गर्न खोजिएको हो, त्यो मैले भनिनँ। किनभने निर्णय भइसकेको छैन। एक रुपैयाँको सिक्का निष्कासन गर्नका लागि दुई रुपैयाँभन्दा बढी पर्छ। दुई रुपैयाँको लागि पनि बढी परिरहेको छ। अहिले हाम्रो मिश्रित धातु हो र यसमा इनामेलको जलप गरिएको हुन्छ। यसको वातावरणीय पक्ष, लागत पक्ष र आकारको कुरामा केही परिवर्तन गर्न राष्ट्र ब्याङ्कले अहिले छलफल गरेको हो।"

उनले एक र दुई रुपैयाँको सिक्कामा मात्रै परिवर्तन गर्न खोजिएको भन्दै 'स्टेनलेस स्टील'को प्रयोग गर्ने र सिक्काको आकार घटाउँदा लागत पनि केही कम हुनसक्नेबारे छलफल चलेको बताए।

राष्ट्र ब्याङ्कका अधिकारीहरूका अनुसार सिक्कामा उल्लेख हुने लोगो, चित्रहरू पनि बेलाबेलामा परिवर्तन गरिन्छ।

यसअघि सिक्कामा नेपालगन्जस्थित वागीश्वरी, जनकपुरस्थित जानकी र पोखरास्थित तालवाराहीका मन्दिरजस्ता पुरातात्त्विक र धार्मिक स्थल एवम् नेपाल भ्रमण वर्ष लगायतका अभियानका सङ्केत राखिएको उनीहरूले बताए।

सिक्काको डिजाइन कसरी परिवर्तन हुन्छ, कहाँ छापिन्छ?

१० पैसा, २५ पैसा र ५० पैसाका सिक्का
तस्बिरको क्याप्शन, नेपालले एक रुपैयाँभन्दा कम दरका सिक्का निष्कासन गर्न बन्द गरिसकेको छ

राष्ट्र ब्याङ्कका गभर्नरको संयोजकत्वमा सिक्का डिजाइन समिति रहने गर्छ। त्यसमा सम्पदा र संस्कृतिसहित विभिन्न क्षेत्रका विज्ञहरू रहने अधिकारीहरू बताउँछन्।

सिक्काको रङ्ग, तौल, आकार र डिजाइनमा कुनै परिवर्तन गर्नुपरेको खण्डमा उक्त सिमितिले गरेको सिफारिसका आधारमा मन्त्रिपरिषद्‌मा प्रस्ताव पठाउने गरिन्छ।

राष्ट्र ब्याङ्कका प्रवक्ता पौडेलले भने, "सिक्काभित्र भएका अथवा भनौँ न त्यहाँ लेखिएका लोगोहरू अथवा चित्रहरू परिवर्तन गर्नुपर्‍यो भने सिक्का डिजाइन समितिले सिफारिस गरेको आधारमा नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ। अन्यथा सामान्य अवस्थामा जुन चलनचल्तीको हो त्यसलाई हुबहु छपाइ गर्नुपर्‍यो भने सिक्का डिजाइन समितिले मात्रै सिफारिस गरेर नेपाल राष्ट्र ब्याङ्कको सम्बन्धित विभागले ग्लोबल टेन्डरमार्फत् आयात गर्न सक्छ।"

हाल नेपालमा प्रचलनमा रहेका एक रुपैयाँको सिक्का पोल्यान्डमा र दुई रुपैयाँको सिक्का ब्रिटेनमा टकमरी गरिएको थियो।

अधिकारीहरूका अनुसार यसपालि ती दुई देशबाहेक रुस, चीन, क्यानडा र स्लोभाकियाका सहित कुल छवटा कम्पनीमध्येबाट सिक्का छाप्ने कम्पनी छनोट गरिने छ।

यसअघि नै एक रुपैयाँको सिक्का छाप्न २ रुपैयाँ ४० पैसा परेको भन्दै नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरू अहिले डलरको विनिमयदर अझ बढेको उल्लेख गर्छन्। प्रविधि र सामग्रीले लागतलाई प्रभावित तुल्याउने भन्दै पुनः लागत अनुमान गर्नुपर्ने अवस्था रहेको उनीहरू बताउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।