'इजरेलको गाजामा दैनिक चार घण्टा सैन्यविराम'

तस्बिर स्रोत, Reuters
- Author, डेभिड ग्रिटेन
- Role, बीबीसी न्यूज
- Published
इजरेलले उत्तरी गाजाका केही क्षेत्रमा दैनिक चार घण्टा सैनिक विराम लागु गर्न लागेको संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जन कर्बीले बताएका छन्।
यद्यपि इजरेलका रक्षा मन्त्रीले ती खाली “स्थानीय र निश्चित क्षेत्रमा मात्र अपनाइने उपायहरू” भएकामा जोड दिएका छन्। र यसबाट “युद्धमा जारी भिडन्तमा फरक नपर्ने” पनि उनको भनाइ थियो।
राष्ट्रपति जो बाइडनले भनेका छन् लडाइँ भइरहेका स्थानबाट मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निस्कनका लागि दुई पटक “मानवीय उद्धारको समय” निर्धारण गरिने छ।
बिहीवार गाजा सिटीस्थित दुई ठूला अस्पतालवरपर चर्को भिडन्त भएको बताइएको छ।
राहत अभाव
यसैबीच उक्त सहर तथा उत्तरका अन्य स्थानबाट ठूलो सङ्ख्यामा प्यालेस्टिनीहरू दक्षिणतर्फ भागेर गइरहेका तस्बिरहरू सार्वजनिक भएका छन्।
अमेरिकी राष्ट्रपति बाइडनले गाजामा अमेरिकाले मानवीय सहायता सामग्रीहरू र सहयोगमा वृद्धि गर्ने प्रयास गरिरहेको बताएका छन्। उनले त्यस क्षेत्रमा राहत सामग्री बोकेका दैनिक १५० ट्रकहरू पठाउने लक्ष्य राखिएको पनि बताएका छन्।
तर संयुक्त राष्ट्रसङ्घले भनेको छ दैनिक गाजामा प्रवेश गरिरहेका राहत सामग्रीहरूको मात्राले त्यहाँका मानिसहरूको दैनिक आवश्यकताको “सानो अंश” मात्र धानिरहेको छ। र मानवीय अवस्था एकदमै “असह्य” रूपमा खराब रहेको उक्त निकायले बताएको छ।
यसअघि प्यारिसमा आयोजित एक सम्मेलनमा गाजामा युद्धविरामका लागि बारम्बार अपील गरिएको थियो।
हालसम्मको क्षति

तस्बिर स्रोत, Reuters
इजरेलले एक महिनाभन्दा बढी समयदेखि गाजामा बम हमला गरिरहेको छ र झन्डै दुई हप्तादेखि उसले त्यहाँ ठूलो स्तरको स्थल आक्रमण पनि आरम्भ गरेको छ।। उसको उद्देश्य इजरेल अमेरिका र अन्य पश्चिमा शक्तिहरूले आतङ्कवादी सङ्गठन मान्ने हमासलाई नष्ट गर्नु रहेको छ।
अक्टोबर ७ तारिखमा हमासका बन्दुकधारीहरुले दक्षिणी इजरेलमा सीमापार गरी ठूलो र अभूतपूर्व हमला गर्दा १० जना नेपालीसहित १,४०० जनाको ज्यान गएको थियो भने २४० जनालाई बन्धक बनाइएको थियो।
गाजाको हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले भनेको छ युद्ध आरम्भ भएयता त्यहाँ १०,८०० जनाको ज्यान गइसकेको छ र १५ लाख मानिसहरूले आआफ्नो घर छाडी भाग्नुपरेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















