जोर्डनमा दुई अमेरिकी सैनिक मारिएपछि इरान र अमेरिकाबीच दोहोरो आक्रमण

    • Author, क्याथ्रिन आर्मस्ट्रङ
    • Role, वासिङ्टन डीसी
  • Published
  • पढ्ने समय: ३ मिनेट

जोर्डनमा भएको इरानी बलिस्टिक क्षेप्यास्त्र र ड्रोन हमलामा दुई अमेरिकी सैनिक मारिनुका साथै थप एक जना बेपत्ता भएपछि अमेरिका र इरानबीच एक अर्काविरुद्ध आक्रमण चर्किएको छ।

यूएस सेन्ट्रल कमाण्ड (सेन्टकम)ले चारजना अमेरिकी सैनिकहरूलाई उपचारका लागि जोर्डनका अस्पतालहरूमा सारिएको जनाएको र उनीहरू डिस्चार्ज भइसकेको जनाएको छ। सामान्य चोटपटक लागेका अन्य जिम्मेवारीमा फर्किएका छन्।

अमेरिकी सैन्य अधिकारीहरूले शुक्रवार मारिएका सैनिकहरूको पहिचान खुलाएका छैनन्। उक्त घटनाको परिस्थिति वा स्थानको बारेमा विवरण दिएका छैनन्।

राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनमा शनिवार राति अमेरिकाले इरानविरुद्ध हवाई आक्रमणको नयाँ चरण सुरु गरेको सेन्टकमले जनाएको छ।

लगातार आठौँ रातका आक्रमणहरू "होर्मुजको जलमार्गमा व्यावसायिक ढुवानीलाई धम्की दिने इरानको क्षमतालाई अझ कमजोर पार्न तय गरिएको" सेन्टकमको विज्ञप्तिमा जनाइएको छ।

सेन्टकमले थप के भनेको छ?

ती आक्रमणहरूको उद्देश्य "हिजो राति जोर्डनमा अमेरिकी सैनिकहरूविरुद्ध आक्रमण गर्ने इस्लामिक रेभलूशनरी गार्ड कोर (आईआरजीसी)का फौजहरूलाई तत्कालै दण्डित गर्नु" रहेको उक्त विज्ञप्तिमा भनिएको छ। तर त्यसबारे थप विवरण खुलाइएको छैन।

यी घटनाक्रम करिब एक साताअघि पुनः चर्किएको तनावमाझ देखा परेको हो।

त्यसक्रममा वाशिङ्गटनले इरानी बन्दरगाहहरूको पुनः नाकाबन्दी लागू गर्नुका साथै तेहरानले होर्मुजको जलमार्ग बन्दको घोषणा गरेको थियो।

जससँगै उनीहरूबीचको प्रारम्भिक युद्धविराम सुरु भएको एक महिना भन्दा कम समयमै अन्त्य भएको थियो।

इरानी सर्वोच्च नेताको लिखित विज्ञप्ति

शनिवार अबेर इरानका सर्वोच्च नेता मूज्तबा खामेनेईले एक लिखित विज्ञप्तिमार्फत अमेरिकाले सम्झौताको "बारम्बार उल्लङ्घन" गरेको बताए।

जसक्रममा खामेनेईले भने: यसले "एक आधारभूत सत्यलाई उजागर गरेको छ: अमेरिकी राष्ट्रपतिको हस्ताक्षर पूर्णतः बेकार र विश्वास गर्न नसकिने खालको छ।"

युद्धको सुरुआतमा आफ्ना बुबाको हत्या भएको आक्रमणयता सार्वजनिक रूपमा नदेखिएका नयाँ सर्वोच्च नेताले अमेरिकालाई "द्वन्द्व बढाउन" खोजेको आरोप लगाउँदै इरानले "यसको अविस्मरणीय पाठ" सिकाउने बताए।

जोर्डनको सेनाले यसअघि कुनै क्षतिको विवरण नदिईकनै रातभरमा आफ्नो हवाई क्षेत्रमा प्रहार गरिएका १० इरानी क्षेप्यास्त्रहरूलाई रोकेको जनाएको थियो।

एकसातामै दोस्रोपटक अमेरिकी सैनिक मारिए

यसै महिनाको सुरुमा बेपत्ता भएका एकजना अमेरिकी सैन्य पाइलटलाई मृत घोषित गरिएसँगै द्वन्द्वमा मृत्यु हुने अमेरिकीको सङ्ख्या १६ पुगेको छ। मृत्यु हुनेको सङ्ख्यामा यसै साता भएको यो दोस्रो वृद्धि हो।

शनिवार एक विज्ञप्तिमार्फत सेन्टकमले भनेको छ : "इरानी बलिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमणसँग यूएस सेन्ट्रल कमाण्ड (सेन्टकम) र साझेदार सेनाहरूले प्रतिरक्षा गरिरहँदा जोर्डनमा दुई अमेरिकी सैनिकहरू मारिएका छन्। थप एकजना सैनिक हाल बेपत्ता छन्।"

"उनीहरूको परिवारका सम्मानमा सेन्टकमले मृत योद्धाहरूको पहिचानसहित थप जानकारी आफन्तहरूलाई सूचित गरिएको २४ घण्टा नहुँदासम्म गोप्य राख्नेछ।"

मृत्युको घोषणाको प्रतिक्रियामा अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले एक्समा लेखेका छन्: "उनीहरूको बलिदानले हाम्रो दृढ सङ्कल्पलाई बलियो मात्र बनाउँछ।"

इरानी सरकारी सञ्चारमाध्यमहरूले आईआरजीसीले शनिवार बिहान जोर्डनको अल-अजराक बेसमा कम्तीमा दुई अमेरिकी लडाकु विमानहरू नष्ट गरेको जनाएका छन्।

उक्त खबरका बारेमा बीबीसीले सेन्टकमलाई सम्पर्क गरे तापनि उसले त्यसबारे विवरणहरू दिन अस्वीकार गरेको थियो।

यसअघि शनिवार अमेरिकी विदेश मन्त्रालयले एक सूचना जारी गर्दै विश्वभरका अमेरिकीहरूलाई र खासगरी मध्य पूर्वमा रहेका आफ्ना नागरिकहरूलाई "थप सावधानी" अपनाउन सुझाएको छ।

इरानमा तीन साता मानिनेहरू 'कम्तीमा ५० जना'

वासिङ्टन र तेहरानले गत जुनमा युद्ध अन्त्य गर्न प्रारम्भिक सम्झौता गरे तापनि उक्त सम्झौता केही हप्तामै टुङ्गिएको थियो। ट्रम्पले जुलाई ८ मा उक्त सम्झौता "समाप्त" भएको घोषणा गरेका थिए।

इरानी सरकारी सञ्चारमाध्यमहरूले देशको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जनाए अनुसार विगत तीन हप्तामा अमेरिकी आक्रमणमा परेर कम्तीमा ५० जनाको मृत्यु हुनुका साथै ५०० भन्दा बढी घाइते भएका छन्।

आधिकारिक तथ्याङ्कका अनुसार २८ फेब्रुअरीमा इरानमा अमेरिका र इजरेलको लडाइँ सुरु भएदेखि मध्य पूर्वमा हजारौँको सङ्ख्यामा मानिसहरूको मृत्यु भएको छ। मृतकहरू धेरैजसो इरान र लेबननका छन्।

सैन्य निशानाहरूका साथै पछिल्ला दिनहरूमा इरान र अमेरिका दुवैमाथि महत्त्वपूर्ण पूर्वाधारमा हमला गरेको आरोप लागेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।