तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मेस्सी, म्याराडोना कि पेले - को हुन् हालसम्मकै महान् फुटबल खेलाडी? यस्तो छ बहस
- Author, जुलिया ग्रान्की
- Role, बीबीसी न्यूज ब्रजिल
- Published
- पढ्ने समय: ७ मिनेट
लिओनेल मेस्सी आफ्नो करिअरको तेस्रो विश्वकप फाइनलको तयारीमा जुटिरहँदा एउटा चिरपरिचित प्रश्न फेरि दोहोरिएको छ : के यी आर्जेन्टिनी सुपरस्टार अहिलेसम्मकै महान् फुटबलर हुन्? के उनले आफ्नै देशका डिएगो म्याराडोना र ब्रजिलका पेलेलाई पनि उछिनेका हुन्?
उनान्चालिस वर्षका मेस्सी सन् २०२६ विश्वकपमा पनि आर्जेन्टिनी टोलीको केन्द्रमा छन्।
विश्लेषकहरूका अनुसार युवावस्थाजस्तो विस्फोटक गति नरहे पनि आफ्नो खेल बुझाइ, सही स्थानको छनोट र उत्कृष्ट निर्णय क्षमतामार्फत् उनी खेलको दिशा बदल्ने क्षमता राख्छन् र मैदानभित्र प्रायः प्रशिक्षकजस्तै भूमिका उनले निर्वाह गरिरहेका हुन्छन्।
त्यसको अर्थ उनले आफ्ना सबै प्रतिद्वन्द्वीहरूलाई साँच्चै उछिने भन्ने हो त?
मेस्सीको पक्षमा तर्क
मेस्सीलाई फुटबल इतिहासकै महान् खेलाडी मान्नेहरू प्रायः उनका दुई विशेषतामा जोड दिन्छन्, लामो अवधिसम्मको उत्कृष्टता र लगातारको शानदार प्रदर्शन।
धेरै महान् खेलाडीहरूको उत्कृष्ट समय तुलनात्मक रूपमा छोटो रह्यो। तर मेस्सी लगभग दुई दशकसम्म विश्व फुटबलका सर्वश्रेष्ठ खेलाडीहरूमध्ये एकका रूपमा छन्।
यस अवधिमा उनले कीर्तिमानी आठ पटक बालन डोर पुरस्कार जितेका छन्। साथै स्पेन र फ्रान्समा लीग उपाधि, च्याम्पिअन्स लिगको उपाधि, एउटा कोपा अमेरिका तथा सन् २०२२ को कतार विश्वकपको उपाधि पनि जितेका छन्। गोल र 'असिस्ट' दुवैमा उनले असाधारण कीर्तिमान बनाएका छन्।
उनका समर्थकहरू युरोपमा बार्सिलोनाको प्रभुत्वदेखि अन्तर्राष्ट्रिय फुटबलमा आर्जेन्टिनाको पुनरुत्थानसम्मका उदाहरण दिएर त्यसलाई भिन्दाभिन्दै परिवेशमा समेत सफल हुने उनको क्षमताका रूपमा प्रस्तुत गर्छन्।
मेस्सीका समर्थकहरूका अनुसार प्रतिभा, निरन्तरता र लामो समयसम्म कायम उच्चस्तरीय क्षमताको बेजोड तालमेलले उनलाई अरूभन्दा भिन्न बनाएको छ।
बार्सिलोनामा छँदा उनीसँगै खेलेका फ्रान्सका पूर्स्ट्राइकर थिएरी आन्री पनि मेस्सीको प्रतिस्पर्धात्मक मानसिकतालाई असाधारण ठान्छन्।
स्पेनी पत्रिका 'मार्का'सँगको अन्तर्वार्तामा उनले बार्सिलोनामा सँगै प्रशिक्षण गरेका दिनहरू सम्झँदै भनेका छन्, मेस्सीले आफूमाथि अन्याय भएको महसुस गर्नासाथ उनको व्यवहार पूर्ण रूपमा बदलिन्थ्यो।
"बीस्टलाई नजिस्क्याइयोस्," उनले अन्तर्वार्ताको बिट मार्ने क्रममा भनेका छन्। त्यसो भनिरहँदा उनले 'फाउल' नदिइएको ठानेका अवस्थामा आर्जेन्टिनाले त्यसको केहीबेरमै केही गोल गरेर प्रतिक्रिया जनाएको परिस्थितिहरूको स्मरण गरेका छन्।
म्याराडोनाको छाया
आर्जेन्टिनामा यस्तो तुलना पेले वा अन्य अन्तर्राष्ट्रिय खेलाडीभन्दा बढी डिएगो म्याराडोनासँग हुने गरेको छ। कप्तानका रूपमा म्याराडोनाले सन् १९८६ मा आर्जेन्टिनालाई विश्वकप जिताएका थिए।
उनको प्रभाव फुटबलमा मात्रै सीमित थिएन। धेरै आर्जेन्टिनीका लागि उनी राष्ट्रिय पहिचानका प्रतीक बनेका थिए।
"म्याराडोना आर्जेन्टिनाका राजा थिए। राजा चुनिदैन, उसले केवल देशको प्रतिनिधित्व गर्छ," मेस्सीका प्रमुख जीवनीकारमध्ये एक तथा स्पेनी पत्रकार गिल्येम बलगेले बीबीसी न्यूज ब्रजिलसँग भने।
वर्षौँसम्म पनि कतिपय आर्जेन्टिनीहरूले मेस्सीको प्रतिभाको प्रशंसा त गरे तर म्याराडोनालाई अधिक वास्तविक राष्ट्रिय प्रतीक ठाने।
सन् २०२० मा दिवंगत भएका म्याराडोना गरिबीमा हुर्केबढेका थिए। उनी खुलेर सत्ताको आलोचना गर्थे, राजनीतिमा संलग्न हुन्थे र उनको विद्रोही तथा चमत्कारी व्यक्तित्वले धेरै मानिसलाई आकर्षित गरेको थियो।
यसको विपरीत मेस्सीको बाटो बिल्कुल अलग रह्यो। मैदानबाहिर उनी शान्त र सङ्कोच मान्ने स्वभावका छन्, राजनीतिक विषयमा बोल्नबाट जोगिन्छन् र लगभग पूर्णरूपमा फुटबलमै केन्द्रित रहन्छन्। उनी आफ्नो करिअरको अधिकांश समय खेलसँग असम्बन्धित चर्चाबाट परै रहेका छन्।
मेस्सीले बदलेको सोच
सन् २०२१ मा आर्जेन्टिनाले कोपा अमेरिका जितेपछि मेस्सीप्रतिको मानिसहरूको धारणा परिवर्तन हुन थाल्यो। उक्त जितले ठूलो अन्तर्राष्ट्रिय उपाधिको २८ वर्षदेखिको प्रतीक्षा समाप्त गरिदिएको थियो।
उक्त परिवर्तन सन् २०२२ को विश्वकपमा अझ सघन बन्यो, जहाँ मेस्सीको प्रदर्शनले आर्जेन्टिनालाई तेस्रो विश्व उपाधि दिलायो।
त्यस प्रतियोगितामा मेस्सीले आफ्नो व्यक्तित्वको अझ भावुक र आक्रामक पक्ष पनि झल्काए। उनले यस्तो नेतृत्वकौशल देखाए जो धेरै समर्थकहरूले पहिले केवल म्याराडोनासँग मात्रै भएको ठान्थे।
"उनले आफ्नो व्यक्तित्वका नयाँ पक्षहरू देखाए। मानिसहरूले उनलाई टोलीका सेनापतिका रूपमा हेर्न थाले," बलगे भन्छन्।
ती क्षणहरूले धेरै आर्जेन्टिनीका लागि मेस्सी र उनका पूर्ववर्ती म्याराडोनाबीचको भावनात्मक दूरी कम गरिदिए। यद्यपि यो बहस अझै पूर्ण रूपमा भने नटुङ्गिएको बलगे ठान्छन्।
"आज मेस्सीले फुटबलरका रूपमा म्याराडोनालाई उछिनेका छन्। तर आर्जेन्टिनामा सधैँ त्यस्ता मानिसहरू रहिरहनेछन् जो म्याराडोनाले उनीहरूको राम्रो प्रतिनिधित्व गर्छन् भन्ने भावना छ," उनी भन्छन्।
पेलेको पक्षमा तर्क
मेस्सीले म्याराडोनालाई मात्र नभई ब्रजिलका महान् खेलाडी पेलेलाई पनि उछिनेका केही विश्लेषकहरूको तर्क छ। सन् २०२२ मा दिवङ्गत भएका उनलाई प्रायः "फुटबलका राजा" भनेर चिनिन्छ।
पेले तीनवटा विश्वकप जित्ने एक मात्र खेलाडी हुन्। उनले सन् १९५८, १९६२ र १९७० मा आफ्नो देशलाई विश्वकपको उपाधि जिताउन सघाएका थिए।
सन् २०१८ मा ब्रजिलको पत्रिका 'फोल्या डे एस. पाउलो'सँगको अन्तर्वार्तामा पेलेले म्याराडोना मेस्सीभन्दा "धेरै राम्रा खेलाडी" भएको तर्क गरेका थिए। त्यसमा उनले मेस्सी आफ्नो बायाँ खुट्टामा अधिक निर्भर रहेका र अन्य केही महान् फुटबल खेलाडीहरूको जस्तो पूर्ण खेल क्षमता नभएको बताएका छन्।
"[फ्रान्ज] बेकनबावर र [योहान] क्रोएफ पनि राम्रा छन्," पेलेले सन् १९७० को दशकमा शिखरमा रहेका जर्मनी र डच खेलाडीको नाम लिँदै भनेका थिए।
ब्रजिलका पूर्वअन्तर्राष्ट्रिय खेलाडी टोस्टओको विचार भने फरक थियो। सन् २०२१ मा उनले मेस्सीले म्याराडोनालाई पछि पारेका तर अझै पनि महान् ब्रजिलिअन खेलाडीभन्दा तलै रहेका तर्क गरेका थिए।
"पेलेपछि मेस्सी इतिहासकै उत्कृष्ट खेलाडी हुन्," उनले भनेका छन्, "उनी म्याराडोनाभन्दा अधिक पूर्ण छन् र उनको करिअर पनि लामो रह्यो। पेले र मेस्सीको शारीरिक क्षमतामा फरक छ। पेले बलिया थिए र अझ उत्कृष्ट एथ्लिट थिए।"
पेले स्वयंले भने आफ्नो खेलकौशलको मेस्सीसँग तुलना गर्न नमिल्ने तर्क गरेका थिए।
"राम्रोसँग हेड गर्ने र दायाँबायाँ दुवै खुट्टाले राम्रो प्रहार गर्ने खेलाडी र केवल एउटा खुट्टाले मात्र प्रहार गर्ने, एउटा दक्षता भएको र राम्रोसँग हेड गर्न नसक्ने खेलाडीबीच कसरी तुलना गर्न सकिन्छ?," उनले उक्त पत्रिकासँगको अन्तर्वार्तामा भनेका छन्।
"पेलेसँग दाँजिन खेलाडीले बायाँ खुट्टाले राम्रो खेल्नुपर्छ, दायाँ खुट्टाले पनि राम्रो प्रहार गर्नुपर्छ र हेडमार्फत् गोल गर्न सक्नुपर्छ।"
आँकडाभन्दा पर
उक्त विमतिले एउटा ठूलो समस्या उजागर गर्छ। आँकडाहरूले नै महानता निर्धारण गर्ने भए यो बहस उहिल्यै टुङ्गिसकेको हुन्थ्यो।
विभिन्न श्रेणीमा मेस्सीका व्यक्तिगत र समूहगत उपलब्धिहरू अतुलनीय छन्।
तथापि फुटबलका महानतम खेलाडीबीचको तुलनाबारे किन बहस भइरहन्छ भन्ने कुरालाई सङख्याहरूले मात्रै अर्थ्याउन सक्दैनन्।
यो बहस एउटा साधारण तथ्यका कारण जटिल बनेको छ, त्यो के भने पेले, म्याराडोना र मेस्सीले निकै फरक समयमा खेले।
पेलेले सन् १९५८ मा पहिलोपटक विश्वकप जित्दा फुटबलमा आधुनिक खेलविज्ञान, विश्वव्यापी टेलिभिजन प्रसारण र उन्नत प्रविधि थिएन।
म्याराडोनाको समय अर्थात् सन् १९८० को दशकसम्म आइपुग्दा फुटबल विश्वव्यापी आकर्षणको खेल बनिसकेको थियो तर अर्बौँ डलरको उद्योग बन्नबाट निकै पर थियो।
मेस्सीले आफ्नो लगभग सम्पूर्ण करिअर यस्तो माहोलमा बिताएका छन्, जसमा प्रदर्शनको विश्लेषण, अत्याधुनिक चिकित्सा सुविधा र सञ्चारमाध्यमको निरन्तरको उपस्थितिले प्रमुख भूमिका खेल्छन्। हरेक खेललाई विश्वभरका प्रशिक्षक, विश्लेषक र प्रशंसकहरूले तत्क्षणमा विश्लेषण गर्छन्।
यसले गर्दा विभिन्न पुस्ताका खेलाडीहरूबीच तुलना गर्नु झन् कठिन हुँदै गएको छ।
मेस्सीलाई "प्रतिभाशाली" भन्न रुचाउने ब्रजिलका पूर्वस्ट्राइकर रोनाल्डो महानतम खेलाडीको पहिचान गर्ने कुरा छनौटको मापदण्डमा भर पर्ने धारणा राख्छन्।
"मापदण्डबिना कसरी तय गर्न सकिन्छ?" उनले भने।
पेले, म्याराडोना र मेस्सीको करिअर बिल्कुलै भिन्न संसारमा विकसित भयो।
पेलेले फुटबललाई विश्वव्यापी खेल बनाउन महत्त्वपूर्ण भूमिका खेले।
म्याराडोना आर्जेन्टिनी इतिहासको उथलपुथलपूर्ण समयमा खेलकुद, राजनीति र संस्कृतिका प्रतीक बने।
मेस्सीले विश्वव्यापीकरण, खेल विज्ञान र सञ्चारमाध्यमको निरन्तरको उपस्थितिद्वारा प्रभावित युगमा आफ्नो विरासत बनाए।
यी तीनै जनाले यस्तो खेलमा प्रतिस्पर्धा गरे, जुन गहिरो रूपमा परिवर्तन हुँदै गुज्रिएको छ। उनीहरूले पूर्ण रूपमा फरक परिस्थिति, खेलतालिका, चुनौती र अपेक्षाहरू सामना गरे।
अन्ततः तपाईँ के कुरालाई अधिक महत्त्व दिनुहुन्छ भन्ने कुरामा तपाईँको धारणा निर्भर हुन्छ : प्रतिभा, उपलब्धि, प्रभाव, दीर्घकालीन सफलता वा सांस्कृतिक प्रभाव।
अनि यही कारणले गर्दा यो बहस टुङ्गिने सम्भावना कम छ र फुटबलका महानतम खेलाडीबारेको चर्चा पुस्तौँसम्म निरन्तर चलिरहने छ।
बीबीसी न्यूज ब्रजिलका क्यारोलिन सोउजा र लाइस एल्ग्राटीको ग्राफिक तस्बिर
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।