प्रचण्ड: 'चीनसँग अन्य ठूला परियोजना पनि अघि बढाउने प्रयास भएको छ'

पोखरा विमानस्थल

तस्बिर स्रोत, CM Prachanda/Facebook

Published

पोखरामा तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलको सेवा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले चीनसँग अन्य ठूला परियोजना पनि अघि बढाउने प्रयास भएको बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै चीनलाई अरू महत्त्वपूर्ण परियोजनालाई पनि अघि बढाउन आग्रह गरेका छन्।

झन्डै २२ अर्ब रुपियाँ चिनियाँ ऋणबाट निर्माण गरिएको उक्त विमानस्थल अन्तर्गत आन्तरिक उडान औपचारिक रूपमा आइतवारबाटै सुरु भएका छन्।

अन्तर्राष्ट्रिय उडान सुरु हुन केही महिना लाग्ने अधिकारीहरूले बताएका छन्।

विमानस्थल सञ्चालन भएको घोषणा गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा थप रोजगारी र अवसर दिने परियोजना अघि बढाउन चीनलाई अनुरोध गरेका हुन्।

प्रचण्डले के भने?

प्रधानमन्त्रीले नयाँ विमानस्थल पोखराको विकासका लागि महत्त्वपूर्ण हुने भन्दै आफ्नो दल शान्ति प्रक्रियामा सहभागी भएयता त्यसका लागि पहलहरू अघि बढाएको बताए।

देशको विकासमा सम्पर्क सञ्जाल महत्त्वपूर्ण हुने भन्दै उनले नयाँ विमानस्थलले पोखराको पर्यटनलाई पनि टेवा दिने विश्वास व्यक्त गरे।  

प्रचण्डले भने, “(चीनका तर्फबाट) हाम्रा नाकाहरू खोल्ने प्रक्रिया अघि बढेको छ। रेलवे परियोजनाको सर्भे प्रक्रिया अघि बढेको छ। अन्य ठूला परियोजना अघि बढाउने प्रयास भएको छ। म चीन सरकारसँग अपिल गर्न चाहन्छु यसलाई गति दिएर धेरै भन्दा धेरै परियोजना सम्पन्न गर्ने र नेपाली युवाहरूका लागि रोजगारी सिर्जना गर्ने र जनताको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न सहयोग हुने विश्वास लिएको छु।”

चिनियाँ एक्जिम ब्याङ्कले दिएको ऋण अन्तर्गत २५ प्रतिशत ऋणमा शून्य प्रतिशत ब्याज लाग्ने र बाँकीमा २ प्रतिशत ब्याज लाग्ने र त्यसलाई २० वर्षमा तिरिसक्नुपर्ने सर्त राखिएको बताइन्छ।

प्रचण्ड

तस्बिर स्रोत, CM Prachanda/Facebook

चीन के चाहन्छ?

चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई नेपाल चीन बेल्ट एन्ड रोड परियोजना अन्तर्गतको प्रमुख निर्माण भनेको छ।

उद्घाटन समारोहमा आफ्नो धारणा राखेका काठमाण्डूस्थित सार्जड अफेयर वाङ सीनले चीन र अन्तर्राष्ट्रिय उड्डयन मापदण्ड अनुरूप यो विमानस्थल निर्माण गरिएको बताए।

उनले चीनले आफ्नो छिमेक नीतिमा नेपाललाई प्राथमिकतामा राखेको बताउँदै वर्तमान सरकारसँग मिलेर उच्चस्तरको बेल्ट एन्ड रोड निर्माण अघि बढाउन आफ्नो सरकार इच्छुक रहेको बताए।

उनले भने, “२०२३ साल राष्ट्रपति सी जिनपिङको बीआरआई पहलको प्रस्तावको दशौँ वार्षिकोत्सव हो। दुई राष्ट्र प्रमुखको निर्देशनमा, हामी संयुक्त रूपमा ट्रान्स हिमालयन बहु-आयामिक कनेक्टिभिटी नेटवर्क निर्माण गर्नेछौ र बीआरआई सहकार्यमा फलदायी नतिजा ल्याउनेछौँ।”

चिनियाँ दूतावास

तस्बिर स्रोत, Chinese Embassy in Nepal/Facebook

उनले नेपाल चीन सीमापार रेल्वेको सम्भाव्यता अध्ययन र सर्वेक्षणका विज्ञ टोली नेपाल आइपुगेको उल्लेख गर्दै यो उक्त पूर्वाधार निर्माण महत्त्वपूर्ण कदम भएको बताए।

उनले उक्त अन्तर्देशीय परियोजनाले ‘भूपरिवेष्ठित मुलुक’बाट ‘भूजडित मुलुक’बन्ने नेपालको सपना साकार बनाउने बताए।

चिनियाँ दूतावासका सार्जड अफेयरले हुम्ला जिल्लाको यारी नाकाबाट सन् २०२३ को सुरुमा व्यापार पुन: सञ्चालन हुने पनि बताए।

त्यसबाहेक चीनले ज्यानुअरी ८ बाट कोभिड महामारीका कारण यात्रामा लगाइएका प्रतिबन्ध हटाउन लागेको जानकारी दिँदै त्यसले नेपालको एक दशकको पर्यटन योजनालाई सघाउने विश्वास व्यक्त गरेका थिए।

विमानस्थलमा कुन कुन वायु सेवा सञ्चालकको चासो छ?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्न ‘कम्तीमा दुई महिना’ समय लाग्ने देखिएको अधिकारीहरूले बताएका छन्।

यान्त्रिक परीक्षण उडान अर्थात् 'क्यालिब्रेशन फ्लाइट' सम्पन्न भएसँगै आन्तरिक सेवा आरम्भ गर्ने निर्णय गरिएको थियो।

तर अझै केही प्राविधिक पाटा सल्टाउन बाँकी रहेका कारण अन्तर्राष्ट्रिय उडान सुरु हुन भने समय लाग्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

अधिकारीहरूका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल बाहिरका गन्तव्यसँग जोड्नका लागि बुद्ध एअरले पहल गरिरहेको छ।

बुद्ध एअरले पोखरामा आधारित रहेर नेपाल तथा नेपाल बाहिरका विभिन्न गन्तव्यमा सेवा सञ्चालन गर्न चाहेको छ।

भारतका विभिन्न सहरमा उडान भर्नका लागि उक्त कम्पनीले भारत सरकारसँग अनुमति माग गरेको र भारतबाट अनुमति प्राप्त भएको केही समयमै आफूहरू अनुमति दिनका लागि तयार रहेको क्यानले जनाएको छ।

’‘गन्तव्य मुलुकले अनुमति नदिएसम्म सेवा सुरु गर्न मिल्दैन। भारतले अनुमति दिनासाथ यताबाट दिन समस्या छैन,’’ उनले भने।

बुद्ध एअरका प्रवक्ता दीपेन्द्र कर्णका अनुसार तत्काललाई उक्त कम्पनीले पोखरा-बनारस उडान सुरु गर्न चाहेको छ।

क्रमिक रूपमा पोखरा-दिल्ली अनि पोखरा-देहरादूनसम्म उडान भर्ने योजना पनि उक्त कम्पनीले बनाएको छ।

त्यसबाहेक हिमालयन एअरलाइन्स, फ्लाइ दुबई, कतार एअरवेज र नेपाल एअरलाइन्सले नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा सञ्चालनका लागि चासो देखाएका छन्।

त्यस्तै नेपाली कम्पनी श्री एअरलाइन्सले पनि अन्तर्राष्ट्रिय उडानको अनुमति लिएको र उसले पनि पोखराबाट उडान भर्ने इच्छा व्यक्त गरेको बताइएको छ।

‘’यी कम्पनीहरू आधिकारिक रूपमा आएका छैनन्। तर अनौपचारिक छलफलका क्रममा आफूहरू सेवा सुरु गर्न इच्छुक रहेको बताउने गरेका छन्,’’ निरौलाले भने।

अन्तर्राष्ट्रिय उडानका लागि समस्या के छ?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

सुरुवाती चरणमा पोखरा विमानस्थलबाट भीएफआर (भिजुअल फ्लाइट रुल्स) उडान मात्रै गर्न मिल्ने क्यानले जनाएको छ।

उसका अनुसार पोखरा विमानस्थलको क्यालिब्रेशन डेटा ज्यानुअरी ४ मा प्रकाशन गर्ने तयारी गरिएको छ। 

र त्यसको ५६ दिन पछि मात्रै उक्त डेटा ‘म्याचुअर’ हुने र इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आईएफआर) विधिबाट सेवा सञ्चालन गर्न सकिने बताइएको छ।

अधिकारीहरूका अनुसार अन्तर्राष्ट्रिय उडान भीएफआर विधि प्रयोग गरेर गर्न नसकिने भने होइन।

तर नयाँ विमानस्थल रहेकाले सेवा प्रदायकहरूले आईएफआरनै कुर्ने परिपाटी रहेकाले समय लाग्न सक्ने आशय निरौलाले व्यक्त गरे।

अन्य समस्या छन् कि छैनन्?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि ल्याण्डफिल साइट पुर्ने र रिठ्ठेपानी डाँडा कटान गर्ने कार्य निकै महत्त्वपूर्ण रहेको बताइएको थियो।

निरौलाका अनुसार हाल ल्याण्डफिल साइट पुर्ने काम लगभग सम्पन्न भएको छ भने ४० मिटर काट्नुपर्ने डाँडा १८ – १९ मिटर काटिसकिएको छ।

‘’यी विषयले विमानस्थल सञ्चालनका लागि वाधा पुग्दैन,’’ निरौलाले भने।

२५०० मिटर लामो धावनमार्ग रहेको अन्तर्राष्ट्रिय विमानस्थल भए पनि पोखरामा ‘न्यारो बडी’ विमान मात्रै अवतरण गर्न मिल्छ। क्यानका अनुसार त्यहाँ अवतरण हुनसक्ने सबैभन्दा ठूलो एअरबस ए३२० हो।

यसबाहेक बोइङ ७३७-७०० सिरिज वा बोइङ ७५७-२०० जस्ता न्यारोबडी विमानका पोखरामा उडानका लागि अनुकूल मानिएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग प्रतिघण्टा झन्डै ६०० यात्रुहरू व्यवस्थापनको क्षमता रहेको अधिकारीहरू बताउँछन्।

विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीले हालसालै बीबीसीसँग त्यहाँ एकपटकमा ३ वटा अन्तर्राष्ट्रिय विमान एवं ठूलासाना ४-४ वटा गरेर आठ वटा आन्तरिक सेवाका विमान रहन सक्ने बताएका थिए।  

"तर सबै विमानहरू लामो समय र एकै समय विमानस्थलमा नरहने भएकाले वास्तविक दैनिक क्षमता त्यसको तीन-चार गुणासम्म हुन्छ," उनले भने।

विमानस्थल

तस्बिर स्रोत, Getty Images

संशय

झन्डै सात महिनाअघि सञ्चालनमा आएको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हालसम्म क्षमता अनुरूप सञ्चालनमा आउन सकेको छैन।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही चार्टर उडानबाहेक साताको तीन दिन जजिरा एअरले उडान गरिरहेको छ।

यस्तो अवस्थामा पोखरामा सञ्चालनमा आउन लागेको विमानस्थलको भविष्यलाई लिएर पनि कतिपयले चिन्ता व्यक्त गर्ने गरेका छन्।

तर क्यानका प्रवक्ता निरौला भन्छन्,’’अन्य मुलुकमा पनि नयाँ विमानस्थल पूर्ण क्षमतामा चल्न समय लाग्ने गरेको पाइन्छ।”

उनका अनुसार कोभिड महामारीका कारण अन्य मुलुकबाट नेपालमा हुने उडान सङ्ख्या केही घटेको छ।

‘’कोभिड अघि नेपालमा चीनका ४ वटा वायुसेवा प्रदायकले ८ वटा उडान गर्ने गर्थे जुन हाल एक वा दुईमा सीमित छ,” उनले भने।

नेपाल आउने ५० प्रतिशत पर्यटक पोखरा जाने हुँदा नवनिर्मित विमानस्थलमा छिट्टै चाप बढ्ने अपेक्षा अधिकारीहरूको छ।

‘’५-६ महिना देखि एक वर्ष समय लाग्न सक्छ,” निरौलाले भने।