होर्मुज सङ्कटले पानमा नहरसम्बन्धी महाशक्तिहरूबीचको विवादलाई कसरी बढावा दिइरहेको छ?

तस्बिर स्रोत, Getty Images
- Author, लुइस बरुचो
- Role, बीबीसी न्यूज विश्व सेवा
- Published
- पढ्ने समय: ६ मिनेट
इरान युद्धका कारण स्ट्रेट अफ होर्मुजमा अवरोध जारी रहँदा विश्वकै महत्त्वपूर्णमध्येको तर हजारौँ माइल परको अर्को मार्ग नयाँ विकल्पका रूपमा देखा परेको छ। यो एट्लान्टिक र प्रशान्त महासागर जोड्ने महत्त्वपूर्ण पानमा नहर हो।
अमेरिकाले उक्त नहरमाथिको चीनको बढ्दो प्रभावले विश्वव्यापी व्यापार र सुरक्षालाई चुनौती दिन सक्ने भन्दै चेतावनी दिँदै आएको छ।
बेइजिङले उक्त दाबी अस्वीकार गरेको छ र वाशिङ्टनले उक्त जलमार्गमा आफ्नो प्रभुत्व विस्तार गर्ने बहानाका रूपमा यसको प्रयोग गरेको आरोप लगाएको छ।
दुई पक्षबीचको तनावमा परेको पानमाले भने नहरमाथिको आफ्नो सार्वभौमसत्ता पुनः पुष्टि गर्दै यो नहर स्थायी रूपमा तटस्थ रहने कुरामा जोड दिएको छ।
पानमा नहर के हो र यो कसरी सञ्चालन हुन्छ?

तस्बिर स्रोत, Getty Images
पानमा नहर ८० किलोमिटर लामो कृत्रिम जलमार्ग हो। यसले एट्लान्टिक र प्रशान्त महासागरलाई जोड्छ र पामाको साँघुरो भूभाग हुँदै पार हुन्छ।
केप हर्नवरिपरिको लामो समुद्री यात्रा गर्नुनपर्दा यसले पानीजहाजको यात्रा समय र यातायात खर्च उल्लेख्य रूपमा घटाउँछ।
आकार, पानीजहाजको किसिम र कार्गोजस्ता कुराका आधारमा पानीजहाजले यातायात शुल्क बुझाउनुपर्छ। इजिप्टको सूइज कनालले पनि त्यस्तै खालको शुल्क प्रणाली प्रयोग गर्छ।
नहरले पानीजहाजहरूलाई समुद्री सतहभन्दा माथि रहेको गातुन लेकसम्म पुर्याउनका लागि एउटा "लक प्रणाली" प्रयोग गर्छ। त्यसपछि जहाज अर्को तटमा पुगेपछि फेरि समुद्री सतहसम्म तल झर्छ। प्रत्येक पटक पानीजहाज नहरबाट पार गराउँदा गातुन ताल र नजिकका जलाशयबाट लाखौँ ग्यालन पानी प्रयोग हुन्छ।
त्यसरी पानीमा भर पर्नुपर्दा त्यसले नहरमा खडेरी हुने जोखिम हुन्छ। जब पानीको सतह घट्छ, अधिकारीहरूले जहाजको अधिकतम डुबाइको गहिराइमा प्रतिबन्ध लगाउन सक्छन्। त्यसले कम भार भएको र उक्त मार्गको समग्र क्षमता घटाउन दबाव पर्छ।
नहर हुँदै पार गर्ने पानीजहाज किन बढ्दै छन्?
विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय ढुवानी सङ्घ मानिने बाल्टिक एन्ड इन्टर्न्याश्नल मेरिटाइम काउन्सिल (बिम्को) का अनुसार पानमा नहर हुँदै हुने कुल जहाजको आवातजावत अघिल्लो वर्षको तुलनामा ८ प्रतिशत ले बढेर सन् २०२६ मा मे महिनाको अन्तिमसम्ममा दैनिक औसत ३८ वटा जहाज पुगेको थियो, जुन नहरको पूर्ण क्षमताको नजिक हो।
बिम्कोले इरान युद्ध तीव्र भएका पाँच सातामा आवतजावत १६ प्रतिशतले बढेको बताएको छ।
विश्वकै पाँच भागको एक भाग तेल व्यापार गर्ने स्ट्रेट अफ होर्मुज मार्गमा द्वन्द्वले ढुवानी थप कठिन बनाएपछि एशियाली विक्रेताले अमेरिकी गल्फ कोस्टका आपूर्तिकर्ताहरूबाट कच्चा तेल र प्रशोधित इन्धन खरिद गर्ने क्रम बढाउँदै लगेका छन्।
एट्लान्टिक र प्रशान्त महासागर हुँदै यात्रा गर्ने यी कार्गोमध्येका धेरैले पानमा नहरको प्रयोग गर्छन्।
यसरी सङ्ख्या बढेसँगै त्यसले लामो समय कुर्नुपर्ने, बुकिङ र प्राथमिकताका लागि कडा प्रतिस्पर्धा हुन थालेको छ। केही सञ्चालकहरूले त कम समयको ट्रान्जिटका लागि नै लाखौँ डलरको लिलामी रकम तिरेको बताइएको छ।
"पानमा होर्मुजजस्तो ठूलो मात्रामा व्यापारिक आवागमनलाई रोक्ने मुख्य साँघुरो मार्ग होइन," ड्यालसस्थित यूनिभर्सिटी अफ नर्थ टेक्ससका राजनीति विज्ञानका प्राध्यापक ओर्ल्यान्डो जे पेरेजले भने। "यसको व्यापारको किसिम फरक छ - यसबाट विश्वव्यापी समुद्री व्यापारको करिब पाँच प्रतिशत मात्र पार हुन्छ तर अमेरिकाको कन्टेनर ढुवानीको झन्डै ४० प्रतिशत हिस्सा यही मार्गबाट हुन्छ।"
"होर्मुज भनेको ऊर्जाको साँघुरो मार्ग हो। पानमा चाहिँ प्रभुत्व जमाउने अर्थतन्त्रका लागि आपूर्ति-सञ्जालको साँघुरो मार्ग हो। तर दुवैले अर्थ राख्छन्।"

तस्बिर स्रोत, Getty Images
उक्त नहरले वातावरणीय चुनौतीको पनि बढ्दो रूपमा सामना गरिरहेको छ।
गाटून लेकमा पानीको सतह ऐतिहासिक रूपमा घटेको छ र त्यसले पानमा कनाल अथोरिटीलाई प्रतिबन्ध लगाउन प्रेरित गरेको छ। यसले आउँदो सेप्टेम्बर १५ देखि दैनिक पार हुन पाउने पानीजहाजको सङ्ख्या ३६ बाट घटाएर ३२ मा झार्ने भएको छ।
अधिकारीहरूले यो अवस्थालाई एल निन्यो मौसमी अवस्थालगायत बृहत् जलवायु फेरबदलसँग जोडेर पानी कम परेको बताएका छन्।
विश्लेषकहरूले पानीको मात्रा थप घटेमा पानीजहाजको आवागमनमा पुनः प्रतिबन्ध लाग्न सक्ने र यसले विश्वव्यापी व्यापारमाथि थप दबाव सिर्जना गर्न सक्ने चेतावनी दिएका छन्।
नहरको इतिहास के हो?
बीसौँ शताब्दीको सुरुमा बनेको नहरमाथि सन् १९७७ सम्म अमेरिकाको नियन्त्रण थियो। अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको समयमा वार्तामार्फत् तोरिखोस-कार्टर सन्धि गरेपछि त्यसले पानमालाई नियन्त्रण दिने समयतालिका तय गरेको थियो।
यसको हस्तान्तरण सन् १९९९ को डिसेम्बर ३१ तारिखमा पूरा भएको थियो।
चीनलाई लिएर अमेरिकी चासोहरू के हुन्?
विवाद कसको स्वामित्वभन्दा पनि कसको प्रभाव बढी छ भन्नेमा हो।
दशकौँसम्म हङकङमा रहेको सीके हट्चिसनले आफ्नो सहायक कम्पनी पानमा पोर्ट्समार्फत् पानमासँगको सहुलियत सम्झौताअन्तर्गत नहरका प्रशान्त र एट्लान्टिक प्रवेशद्वारमा रहेका बाल्बोआ र क्रीस्टोबाल बन्दरगाहहरू सञ्चालन गर्दै आएको छ।

कनाल सञ्चालनमा चीन वा कम्पनी दुवैको कुनै भूमिका छैन तर अमेरिकी अधिकारीहरूले चिनियाँसँग जोडिएको जलमार्गको उपस्थितिबारे आफ्नो चासो बढाएका छन्। उसले त्यस्तो चासो खास गरी बन्दरगाह, बन्दोबस्त र यातायात पूर्वाधारमा व्यक्त गरेको हो।
पानमाको सर्वोच्च अदालतले यो वर्षको सुरुमा सीके हट्चिसनको बन्दरगाह सञ्चालनसम्बन्धी सहुलियतलाई आधार दिने कानुनी व्यवस्था असंवैधानिक ठहर गरेपछि तनाव चर्केको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनले पानमामा अत्यधिक प्रभाव हासिल गरेको दोहोर्याउँदै आएका छन् र अमेरिकाले उक्त नहरलाई पुनः नियन्त्रणमा लिन सक्ने बताएका छन्। तर पानमाले भने त्यस्तो प्रस्तावलाई कडा रूपमा अस्वीकार गर्दै आएको छ।
चीनले कसरी प्रतिक्रिया जनाएको छ?
एप्रिलमा चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नहरमा चिनियाँ प्रभावसम्बन्धी आरोपहरूलाई "पूर्ण रूपमा आधारहीन" भनेका छन् र वाशिङ्टनले राजनीतिक कारणले मुद्दालाई तोडमोड गरेको बताएका छन्।
बेइजिङले पानमाको सार्वभौमिकता र नहरको तटस्थ हैसियतको सम्मान गर्ने जनाएको छ।
संयुक्त राष्ट्रसङ्घमा सन् २०२५ को अगस्टमा भएको बहसमा चिनियाँ राजदूत फू सोङले भने : "चीनविरुद्ध अमेरिकाले फैलाएका झुट र आधारहीन आरोपहरू नरहमाथि नियन्त्रण कायम गर्ने बहाना मात्रै हुन्।"
यसैबीच पानमाका राष्ट्रपति होसे राउल मुलिनोले नहरमाथिको पानमाको सार्वभौमिकतामा जोड दिएका छन् र उसको तटस्थतालाई खास एवं विश्वव्यापी खतराका विरुद्ध "एक मात्रै र उत्तम प्रतिरक्षा" भनी व्याख्या गरेका छन्।
यो विवाद कसले निम्त्याएको हो?
नहरलाई लिएर अमेरिका र चीनबीचको मतभेद मध्यपूर्वको हालैको सङ्कटभन्दा पहिलेको हो।
चीनको लगानी, रणनीतिक पूर्वाधार र क्षेत्रीय प्रभावलाई लिएर पानमामा मात्रै नभई ल्याटिन अमेरिकाभरि नै कायम चिन्ता वर्षौँदेखि विकसित हुँदै आएको छ।
विश्लेषकहरूले अहिलेको विवादलाई एउटा क्षेत्रको द्वन्द्वले अन्यत्रको प्रतिस्पर्धालाई बढाएको भूराजनीतिक अवस्थाका रूपमा लिएका छन्।
"मध्यपूर्वको युद्ध र स्ट्रेट अफ होर्मुजको अवरोधका कारण पानमामा दबाव बढेको छ अनि अमेरिका र चीनबीच तनाव यो विषयलाई लिएर चुलिएको छ," चिलीको इन्स्टिट्यूट अफ इन्टर्न्याश्नल स्टडिजका मानार्थ प्राध्यापक होहे हाइनाले भने।
पेरेज यसमा सहमत छन्। "हामी उस्तै खालको पटकथा दोहोर्याएर मञ्चन भएको देख्छौँ, चाहे त्यो होर्मुजमा होस् वा रेड सीमा," उनले भने।
"रणनीतिक जलमार्गहरूमाथिको विवाद बृहत् भूराजनीतिक प्रतिस्पर्धीहरूका लागि मञ्चजस्ता भएका छन्।"
पानमा, यमन अनि खाडी राष्ट्रहरूजस्ता यी रणनीतिक रूपमा महत्त्वपूर्ण साँघुरा समुद्री मार्गहरू नियन्त्रण गर्ने साना तथा मध्यम आकारका राष्ट्रहरूले प्राय: ठूला शक्तिहरूबीचका विवादबाट उत्पन्न हुने "लागत बेहोर्नुपर्छ जब कि त्यसबाट अलग रहने उनीहरूको क्षमता निकै सीमित हुन्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















