जापान भूकम्प: कम्तीमा १३ जनाको मृत्यु, शपिङ सेन्टरमा फसेकाहरूको उद्धार जारी

तस्बिर स्रोत, AFP via Getty Images
दक्षिणपश्चिम जापानमा गएको शक्तिशाली भूकम्पका कारण १३ जनाको मृत्यु भएको जापानकी प्रधानमन्त्री सनाए ताकाइचीले बताएकी छन्।
कुमामोतोस्थित एउटा शपिङ सेन्टरभित्र फसेका मानिसहरूको उद्धारकार्य जारी छ। त्यहाँ धेरै मानिस फसेका बताइएको छ। एक प्रत्यक्षदर्शीका अनुसार उक्त शपिङ सेन्टरको दोस्रो तला भत्किएको छ।
जापानको राष्ट्रिय प्रसारण संस्था 'एनएचके'का अनुसार भत्किएको उक्त इओस शपिङ मलमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ।
अमेरिकी जियोलजिकल सर्भेका अनुसार अनुमानित ६.८ म्याग्निट्यूडको उक्त भूकम्प स्थानीय समयअनुसार मङ्गलवार दिउसो ४:२७ बजे जापानको क्यूशु टापुलाई केन्द्रबिन्दु बनाएर गएको थियो।
कुमामोतो जापानका चार प्रमुख टापुमध्येको क्युशुमा अवस्थित सहर हो। उक्त दक्षिणी टापु जापानको तेस्रो ठूलो र दोस्रो सबैभन्दा धेरै जनसङ्ख्या भएको टापु हो।
प्रधानमन्त्रीले थप के भनिन्
बिहान त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी दिने क्रममा प्रधानमन्त्री ताकाइचीले ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्दै खोज तथा उद्धारका निम्ति निरन्तर प्रयासरत आकस्मिक सेवाका कर्मचारीहरूलाई धन्यवाद दिइन्।
उनले अझै पनि धेरै मानिसहरू उद्धारको प्रतीक्षामा रहेको बताइन्।
"यो समयविरुद्धको दौड हो," ताकाइचीले भनिन्।
उनले उच्च तापक्रमको स्थिति पनि जारी रहेको उल्लेख गर्दै स्थानीय बासिन्दा र उद्धारकर्मीहरूलाई उष्णलहरबाट बच्न आवश्यक सावधानी अपनाउन पनि आग्रह गरिन्।
परकम्पको चेतावनी

तस्बिर स्रोत, Reuters
इओन शपिङ सेन्टरसहितका स्थानहरूमा खोज तथा उद्धारकार्य जारी रहेको बताइएको छ। कुमामोतोका स्थानीय अधिकारीहरूले ९,८७२ जनालाई सुरक्षित स्थानमा सारिएको बताएका छन्।
त्यस्तै करिब साढे ३ लाख घरधुरीमा विद्युत् सेवा अवरुद्ध भएको बताइएको छ। कतिपय ठाउँमा सडकहरू पनि भत्किएका विवरणहरू आएका छन्। 'एनएचके'ले प्रसारण गरेका भिडिओहरूमा सडक तथा पुलहरू चर्किएका र कैयौँ भवनहरूमा आगो लागेको देखिएको छ।
अहिलेको भूकम्प जमिनमुनि १० किलोमिटरको गहिराइबाट उत्पन्न भएको हुनाले सरकारी निकायले शक्तिशाली परकम्पहरू आउन सक्ने चेतावनी दिएको छ।
जापान विश्वमै भूकम्पको बढी जोखिममा रहेको देशहरूमध्ये एक हो। त्यहाँ एक वर्षमा करिब १,५०० वटाजति भूकम्प जाने गर्छन्।
गत डिसेम्बरमा पूर्वोत्तर जापानमा म्याग्निट्यूड ७.५ को भूकम्प जाँदा ३० जना घाइते भएका थिए।
त्यस्तै सन् २०१६ को एप्रिलमा दुई दिनको अन्तरमा ६.५ र ७.३ म्याग्निट्यूडका दुइटा भूकम्प गएका थिए, जसमा २७० भन्दा बढी मानिसको मृत्यु भएको थियो।
मार्च २०११ मा जापानको पूर्वी भागमा म्याग्निट्यूड ९.० को भूकम्प जाँदा ठूलो सुनामी आएको थियो। त्यसमा परी १८,००० जनाको मृत्यु भएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















