नेपाललाई पाकिस्तानले दियो ३४३ रनको लक्ष्य

क्रिकेट

तस्बिर स्रोत, ACC

    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू
  • Published

अन्ततः आज बुधवार एउटा लामो पर्खाईको अन्त्य भएको छ। एशिया कपको उद्घाटन खेलसँगै 'पाकिस्तानसँग खेल्ने' नेपाली क्रिकेट टोलीको र त्यस्तो खेल हेर्ने समर्थकहरूको लामो समयदेखिको चाहना पूरा भएको छ।

टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले नेपाललाई ३४३ रनको लक्ष्य दिएको छ।

पाकिस्तानका दुई जना खेलाडीले शतक प्रहार गर्दै टोलीका लागि ३४२ रन बनाउन उल्लेख्य योगदान गरे।

अन्तिम ओभरमा सोमपाल कामीको बलमा १५१ रन बनाएका बाबर आजम र उनको ठाउँमा आएका सादब खान आउट भए।

पाकिस्तानका लागि उल्लेख्य रन जोडेका बाबर सोमपालको बलमा नेपालका बैकल्पिक खेलाडी सन्दिप जोराबाट क्याच आउट भए।

इफ्तिखार अहमदले पनि पाकिस्तानका लागि बविजित १०९ रन जोडे।

नेपालका लागि सोमपालले २ विकेट लिए भने करण केसी र सन्दिप लामिछानेले एक-एक विकेट लिए।

पाकिस्तानका ओपनिङ ब्याटरहरू फखर जमान १४ रनमा र इमाम-उल-हक पाँच रनमा आउट भए।

करण केसीको बलमा जमामलाई आशिख सेफले क्याच गरे भने रोहित पौडेलको बलमा रन लिने क्रममा इमाम रन आउट भए।

एशिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान रङ्गशालामा सुरू भएको हो।

नेपाली समय अनुसार ३:१५ बजे सुरु भएको खेल टेलिभिजनमा पनि नेपाली दर्शकहरूले प्रत्यक्ष हेर्न पाउँछन्।

पाकिस्तानसँगको खेलमा नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी र सन्दिप लामिछाने छन्।

चार महिनाअगाडि एसीसी प्रिमिअर कपको उपाधि जितेर एशिया कपमा छनोट हुनु अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको महत्त्वपूर्ण छलाङ थियो।

उत्साहको त्यो वातावरण त्यतिबेला झन् तात्यो जब खेल तालिका प्रकाशित हुँदा नेपालको समूहमा पाकिस्तान र भारत परे।

त्यसपछि यस समयलाई खेलाडी र समर्थकहरू व्यग्रताका साथ पर्खिरहेका थिए।

फेरी यसैबेला एशिया कपलाई लिएर धेरै नाटकीय मोडहरू आए।

भारतविरुद्धको दोस्रो खेल श्रीलङ्काको क्यान्डीमा भदौ १८ गते हुनेछ। 

नेपाली भावना

क्रिकेट

तस्बिर स्रोत, CAN

तस्बिरको क्याप्शन, रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीले बुधवार पाकिस्तानको सामना गर्दैछ

पाकिस्तान र भारतसँग नेपालको प्रदर्शन कस्तो होला भन्ने विषयमा अनेक टिप्पणी भइरहेका छन्।

समर्थकहरू त यति उत्साहित छन् की बाबर आजम वा मोहम्मद रिजवानको विकेट कुन नेपाली बलरले लिने हो जस्ता अनेक कल्पना गरिरहेका छन्।

छिमेकी देशले विश्व क्रिकेटमा लामो समयदेखि जमाएको धाकलाई समर्थन वा विरोध गरिरहेका नेपाली समर्थकहरूका लागि नेपालकै समर्थन गर्न पाउनु भनेको आखिर एउटा दुर्लभ उत्सव नै हो।

तर नेपाली खेलाडीहरू यस प्रतियोगिताको लागि कति गम्भीर छन् भन्ने धारणा पाकिस्तानसँगको खेल अगाडि नेपाली कप्तान रोहित पौडेलले सामाजिक सञ्जालमा पोखेको स्टाटसले दर्साउँछ।

उनले लेखेका छन्, "चुनौती अँगाल्न, सपना पछ्याउन र सुरुचिका साथ खेल्न...ब्याटको हरेक स्ट्रोक, हरेक क्याच र मैदानका हरेक क्षणले हामीलाई लक्ष्यतर्फ नजिक्याएको छ। समर्पण, सामूहिक भावना र अटल समर्थनले हामी एकाग्र भएर टीम, राष्ट्र र विरासतको आशा लिएर अघि बढेका छौँ।"

कतिपय समर्थकहरू बुधवार मुल्तान रङ्गशालामा उत्रिँदाको नेपाली टोली भाव यस्तै हुने आनुमान गरिरहेका थिए।

स्मरणीय बनाउने चुनौती

नेपाल क्रिकेट

तस्बिर स्रोत, CAN

तस्बिरको क्याप्शन, नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देशाई छन्

त्यसैले यस प्रतिस्पर्धालाई जित, हार वा प्रतिद्वन्द्वी भावनाभन्दा पर राखेर कप्तान रोहित पौडेलले हेरिरहेका छन्।

उनले नेपाली क्रिकेट टोलीले लिइरहेको उचाइ र त्यसले भविष्यमा नेपाली क्रिकेटलाई अझ राम्रो भविष्यतिर डोहोर्‍याउन यो प्रतियोगिताको महत्वलाई बुझेको कतिपयले अर्थ लगाएका छन्।

पाकिस्तान-नेपालको भिडन्त क्रिकेट प्रेमीले यसरी नै बुझ्नेछन्।

नेपाल क्रिकेट सङ्घका कार्यवाहक सचिव दुर्गाराज पाठक भन्छन्: "एशिया कपमा नेपालले हार्ने केही छैन। पाउने मात्र हो। त्यसलाई कसरी स्मरणीय बनाउने भन्ने चाहिँ मुख्य हो। "   

यसै हप्ता एक दिवसीय विश्व वरीयताको शीर्ष स्थानमा उक्लेको पाकिस्तानसँग नेपालको भिडन्त तुलना गर्ने बेला भएको छैन। उनीहरु एशिया कप उचाल्ने धुनमा हुनेछन्।

जबकि यो बेला नेपाली टोलीमा जित हार भन्दा पनि आत्मविश्वास, धैर्यता, टिम एकता, संयमजस्ता शब्दहरूको महत्त्व बढी छ।

पाकिस्तानी टोलीका स्टार ब्याटरहरु कप्तान बाबर आजम, मोहम्मद रिजवान र फखार जमान अनि बलिङमा बायाँ हाते तीव्र गतिका शाहिन अफ्रिदी, हरिस रौफ, नसिम शाहसँगको खेल नेपालको लागि जुन कुनै हिसाबले उपलब्धि मूलक हुने देखिन्छ।

समर्थकको चाहना छ नेपालले सम्मानजनक प्रदर्शन गरोस्। त्यसमा केही रमाइलो क्रिकेट घटना घटे त्यो नेपालको लागि बोनस हुनेछ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।