यो वर्ष पनि लम्बियो मनसुन, दशैँसम्मै पानी पर्ने सम्भावना कस्तो

मनसुन

तस्बिर स्रोत, Reuters

Published

नेपालमा यो वर्ष मनसुन सुरु हुँदा मौसमविद्हरूले अक्टोबर २ मा मनसुन बाहिरिन सक्ने अनुमान गरेका थिए। तर अहिले जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले यसपालिको मनसुन केही दिनले लम्बिएको बताएका छन्।

जल तथा मौसम विज्ञान विभागले सोमवार जारी गरेको तीन दिनको बुलेटिनमा नेपालभरि हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ।

विभागका वरिष्ठ मौसमविद् वरुण पौडेल भन्छन्: "थप केही दिन मनसुन लम्बिने देखिन्छ। झरी लगातार त पर्दैन तर मनसुन पनि सकिँदैन।"

"मनसुन सकिने बेलामा बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय क्षेत्र उत्तर पश्चिमतिर सर्ने क्रममा भारतको बिहारनजिकै आइपुग्दा त्यस्तो असर देखा परेको हो।"

त्यसको असर खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षाका रूपमा देखा परेको छ।

मौसमविद्हरूले यस मौसमी प्रणालीको अन्त्यसँगै यस वर्षको मनसुन समेत सकिने आफूहरूले अनुमान गरेको बताउँछन्।

पछिल्ला केही वर्षमा नेपालमा मनसुन सुरु र अन्त्य दुवै ढिलो हुने प्रवृत्ति देखा परेको बताइन्छ।

पछिल्लो एक दशककै विवरण केलाउने हो भने पनि मनसुन अक्टोबर २ पछि मात्र बाहिरिएको छ।

नेपालको मनसुनी प्रवृति

यस वर्ष भने नेपालमा १४ जुनमा मनसुन भित्रिएको थियो।

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, यस वर्ष भने नेपालमा १४ जुनमा मनसुन भित्रिएको थियो

सन् २०१३ मा नेपालबाट अक्टोबर १९ मा मनसुन बाहिरिएको थियो। गत वर्ष अक्टोवर १५ मा मनसुन बाहिरिएको थियो।

यो वर्ष नेपालमा जुन १४ मा मनसुन भित्रिएको थियो।

सामान्यतया जुन १३ मा भित्रिएर अक्टोबर २ मा बाहिरिने आधारमा नेपालमा ११२ दिनको मनसुन अवधि रहने बताइन्छ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागकी उपप्राध्यापक एरिना स्थापितका अनुसार समयमै सुरु भएको मनसुन 'एक-डेढ साता' बढी रहनु अस्वाभाविक हैन।

"तर जलवायु परिवर्तनका विभिन्न असरले गर्दा कुनै वर्ष नसोचेको प्रवृत्ति समेत देखिने गर्छ," उनी भन्छिन्।

"सन् २०२१ मा मनसुन सकिएपछि आएको ठूलो वर्षाले ठूलो जनधनको क्षति पुर्‍याएको थियो।"

नेपालमा सन् १९७९ मा सबैभन्दा कम ७३ दिन र सन् २००८ मा सबैभन्दा लामो १३० दिनको मनसुनको अभिलेख रहेको जल तथा मौसम विज्ञान विभागको विवरण छ।

सन् १९९५ मा औसत अवधिअगावै सेप्टेम्बर २ मा मनसुन बाहिरिएको थियो।

के दशैँसम्मै पानी पर्न सक्छ?

मनसुन लम्बिएकाले कतै यसपालि 'हिले दशैँ' हुन्छ कि भन्ने जिज्ञासा सर्वसाधारणमा देखिन्छ।

तर यस वर्ष अक्टोबर २४ मा विजया दशमी अर्थात् दशैँको टीका परेको छ। अधिकमासका कारण यसपालि दशैँ पोहोरभन्दा तीन साता ढिलो सरेको हो।

पानी परेको बेला छाता ओढेकी एक र नओढेकी अर्की महिला

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, यसपालि अधिकमासका कारण दशैँ कार्तिक महिनामा परेको छ

दशैँसम्म मनसुनी वर्षा कायम रहने सम्भावना चाहिँ 'सामान्यतः नहुने' मौसमविद्हरू बताउँछन्। दशैँ छिटो परेको वर्षचाहिँ दशैँमा पानी पर्न सक्छ।

मौसमविद्हरूका अनुसार वायुमण्डलमा मनसुन बाहिरिइनसकेको अनि अर्कोतर्फबाट पश्चिमी न्यूनचापीय प्रणाली सुरु हुने बेलाको 'सङ्क्रमण'ले गर्दा कहिलेकाहीँ ठूलो वर्षा हुने गरेको पाइन्छ।

प्रारम्भिक अवस्थामा मनसुन कमजोर हुँदा कहिलेकाहीँ मनसुनको अन्त्यतिर धेरै पानी पर्ने सम्भावना समेत हुने बताइन्छ।

यस पटकको वर्षाको प्रवृत्ति र मात्राको पूर्ण मूल्याङ्कन मनसुन बाहिरिएपछि हुने भए तापनि यस वर्ष मनसुनमा 'औसतभन्दा कम नै वर्षा भएको' विभागका वरिष्ठ मौसमविद् पौडेल बताउँछन्।

यद्यपि त्यसो भन्दैमा दशैँ आसपासमा ठूलो पानी पर्न सक्ने सबै सम्भावनालाई नकार्न नसकिने मौसमविद्हरू बताउँछन्।

मनसुनपछि पनि ठूलो पानी पर्ला?

अक्टोबर-नोभेम्बर महिनामा हुने पोस्ट-मनसुन सामान्यतः धेरै वर्षा हुने प्रणाली नभए पनि दशैँका बेला विगतमा ठूलो वर्षा भएको अभिलेख छ
तस्बिरको क्याप्शन, अक्टोबर-नोभेम्बर महिनामा हुने पोस्ट-मनसुन सामान्यतः धेरै वर्षा हुने प्रणाली नभए पनि दशैँका बेला विगतमा ठूलो वर्षा भएको अभिलेख छ

अक्टोबर-नोभेम्बर महिनामा हुने पोस्ट-मनसुन सामान्यतः धेरै वर्षा हुने प्रणाली होइन।

जाडो सुरु हुन थाल्ने यस समयमा हाम्रो क्षेत्रमा उच्चचापीय प्रणालीको विकास हुने र पश्चिमी न्यूनचापीय प्रणाली समेत धेरै सक्रिय नहुने भएकाले मौसम सामान्यतः सफा हुन्छ।

त्यस बेलाको वर्षा खासगरी नेपालनजिकै रहेका समुद्रमा विकसित हुने चक्रवातहरूबाट प्रभावित हुने गर्छ।

"कुनै चक्रवात वा समुद्री मौसमी प्रणालीहरू विकसित भए र त्यो सर्ने क्रममा नेपालतिर आए भने त्यसका बाहिरी बादलहरूले नेपालमा वर्षा गराउन सक्छन्," पौडेल भन्छन्।

पोस्ट-मनसुन प्रणाली नियमित स्वरूपको नभईकन अकस्मात् विकसित हुने मौसमी घटनामा निर्भर रहने मौसमविद्हरू बताउँछन्।

मौसमविद् पौडेल थप्छन्: "अकस्मात् विकसित हुने सामुद्रिक आँधी वा त्यस प्रकारणका प्रणाली भए पनि नियमन गर्दै केही दिन अघिदेखि नै त्यसको असर क्षेत्र र तहको मूल्याङ्कन गर्दै तयारी र सतर्कता अपनाउन सकिन्छ।"

मनसुन

नेपालमा मनसुनमा झन्डै ८० प्रतिशत वर्षा हुन्छ भने पोस्ट-मनसुनमा पाँच प्रतिशतजति हुने गरेको पाइन्छ।

"त्यसमाथि कहिलेकाहीँ स्थानीय मौसमी प्रणाली पनि विकास हुन नसक्ने होइन," त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक स्थापित भन्छिन्।

"थोरै पानी पर्ने र धेरैजसो समय सामान्य रहने भए पनि पोस्ट-मनसुन कस्तो हुन्छ भन्ने धेरैजसो अनुमान गर्न सकिँदैन।"

वर्षभरि हुने वर्षाको औसत १२ प्रतिशत प्री-मनसुनमा र हिउँदमा ४ प्रतिशत जति पानी पर्ने गरेको छ।

दुई वर्षअघिको मनसुनपछिको वर्षाले गर्दा नेपाल र भारतमा १५० जनाभन्दा भन्दा धेरै मानिसहरूको मृत्यु भएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।