भारतका हात्ती किन नेपालमा चुनावी मुद्दा बनिरहेको छ

विश्वप्रकाश शर्मा र अग्नि खरेल
    • Author, अशोक दाहाल र उमाकान्त खनाल
    • Role, बीबीसी न्यूज नेपाली, झापा
  • Published

अधिकांश ठाउँका मतदाताले भोट माग्दै आउने उम्मेदवारसँग राख्ने साझा समस्या हुन् सडक, पानी, बिजुली, शिक्षा, स्वास्थ्य, ढल र यस्तै अन्य सुविधा।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र पूर्व कानुन मन्त्री समेत रहेका एमालेका अग्नि खरेलबीच प्रतिस्पर्धा देखिएको झापा क्षेत्र नम्बर १ का धेरै मतदाताले भोट माग्न आउनेसँग फरक योजना खोजिरहेका छन्।

झापाको सुदूर पूर्वमा पर्ने यो क्षेत्रको पूर्वी र दक्षिणी भूभागका अधिकांश मानिसहरू हात्तीको त्रासले राती राम्रोसँग सुत्न पाउँदैनन्। परिश्रमले उब्जाएको बाली समेत कहिलेकाहीँ भित्र्याउन पाउँदैनन्।

त्यसैले यहाँका मतदाताले उम्मेदवारसँग हात्ती नियन्त्रणको योजना खोजिरहेका छन्।

मेचीनगर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन कार्की हात्ती आउने समयमा मेची खोला छेउमै पर्ने बाहुनडाँगीका स्थानीयहरू रातभरी सुत्न नपाउने बताउँछन्।

“बेलुका पाँच बजेदेखि नै ५०, ६० वटा हात्तीहरू आएपछि ढोल ढ्याङ्ग्रो ठटाएर, साइरन बजाएर गाउँ कोलाहल भएपछि बच्चाहरूको पठनपाठनमा यसले सबैभन्दा धेरै असर गरिरहेको छ,” उनले भने।

“यहाँ चाडपर्व र बिहे बटुलोमा पनि हात्तीले मार्छ भनेर पाहुना आउन डराउँछन्।”

मेचीनगर नगरपालिका, बुद्ध शान्ति गाउँपालिकाका केही क्षेत्र र भद्रपुर नगरपालिकाका केही वडा समेटेको यो निर्वाचन क्षेत्रमा एक लाख २० हजार मतदाता छन्।

यो निर्वाचन क्षेत्रको पनि पूर्वी र दक्षिणपूर्वी क्षेत्र भारतबाट आउने जङ्गली हात्तीका कारण आक्रान्त छ।

५५ जना मान्छे र १५ हात्ती मारिए

जिल्ला बन कार्यालयका निमित्त प्रमुख जीवनप्रसाद पाठकका अनुसार झापामा विगत एक दशकमा मात्रै ३,७०० भन्दा बढी मानिसहरू जङ्गली हात्तीका कारण पीडित भएको तथ्याङ्क छ। 

उनका अनुसार एक दशकमा जङ्गली हात्तीका कारण पाँच जना गैर नेपाली सहित ५५ जना मारिएका छन्। हात्तीको आक्रमणमा परेर ७८ जना घाइते भएको तथ्याङ्क छ।

स्थानीयसँगको द्वन्द्वका कारण १५ वटा हात्ती पनि यस अवधिमा मारिएका छन्। 

जिल्ला बन कार्यालयले हात्ती आक्रमणमा मारिनेका परिवारलाई हालसम्म २ करोड १४ लाख रुपैयाँ राहत र घाइतेलाई ४२ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएको उनले जानकारी दिए। यो आर्थिक वर्षमा मात्रै २१४ जना पीडितलाई राहत र क्षतिपूर्तिका लागि कार्यालयले सिफारिस गरेको बताइएको छ। 

झापासँग सीमावर्ती भारतीय राज्य पश्चिम बङ्गाल जङ्गली हात्तीको ठूलो वासस्थान भएको क्षेत्र हो।

जंगली हात्ति

तस्बिर स्रोत, Umakanta Khanal/BBC

पश्चिम बङ्गाल फरेस्ट डिपार्टमेन्टले आफ्नो एक प्रतिवेदनमा यो प्रदेशमा करिब ६५० जङ्गली हात्ती बस्ने र त्यसमध्ये ५०० भन्दा बढी जङ्गली हात्तीहरू दार्जिलिङ र जलपाइगुडी क्षेत्रमा बस्ने उल्लेख गरेको छ। 

नेपाल भारत सीमाबाट करिब ३० किलोमिटर दूरीमा रहेको महानन्दा वाइल्डलाइफ सस्याङ्चुअरीबाट नेपालमा सबैभन्दा धेरै हात्ती आउने वडाध्यक्ष कार्की बताउँछन्।

नेपालको सीमाबाट करिब ७० किलोमिटर दूरीमा टिस्टा नदी वारी पट्टि रहेको जलपाइगुडी जङ्गली हात्तीको अर्को ठूलो बासस्थान क्षेत्र हो। 

भारतबाट हरेक वर्ष २०० भन्दा धेरै हात्ती नेपाल आउने गरेको र सोमवार मात्रै ६० वटा हात्ती नेपाल प्रवेश गरेको मेचीनगर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन कार्की बताउँछन्।

बन कार्यालयका निमित्त प्रमुख पाठकले पछिल्ला दिनमा ७५ वटा हात्ती मेची खोला हुँदै नेपाल प्रवेश गरेको जानकारी दिए। 

बन कार्यालयका अनुसार झापामै बसोबास गर्ने जङ्गली हात्तीहरूको सङ्ख्या जम्मा आठ वटा मात्रै छ। यो ठाउँमा आउने बाँकी हात्तीहरू भारतबाटै आउने हुन्। 

भारतीय हात्तीहरू जेठ पछि मकै पाक्ने मौसम र कात्तिक पछि धान पाक्ने मौसममा आउने र बाली खाने गरेको संरक्षणको क्षेत्रमा समेत काम गरिरहेका बाहुनडाँगीका स्थानीय शंकर लुइँटेल बताउँछन्। 

“रैथाने हात्तीबाट मानवीय क्षति बढी र मौसम अनुसार बसाइँ सरेर आउने हात्तीबाट बालीनालीमा बढी क्षति देखिन्छ,” उनले भने।

हात्ती रोक्न सीमामा तटबन्ध

नेपालमा भारतीय हात्ती प्रवेश रोक्न विसं २०७० सालमा विश्व ब्याङ्कको समेत लगानीमा डेढ करोड लागतमा १८ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार लगाइयो।

उक्त तारबारले सुरुमा हात्तीलाई रोके पनि केही समयपछि यस्तो तारबार छलेर भारतीय हात्ती आउन थालेका छन्।

कांग्रेसका उम्मेदवार शर्मा र एमालेका खरेलले पनि तारबार प्रभावकारी नभएको स्वीकार गरे।  

दुवै उम्मेदवारहरूले त्यसको पनि विकल्पको रूपमा हात्ती समस्याको दीर्घकालीन समाधानका लागि मेची नदीको नेपाल तर्फको भूभागमा तटबन्ध बनाएर हात्तीको बाटो रोक्ने योजना अघि सारेका छन्।

“हात्तीको समस्याबाट हामी प्रताडित छौँ। भारतबाट हुलका हुल हात्ती आउने गर्छन् र कैयौँको जीवन यस अवधिमा बितेको छ। अब हात्तीको समस्या समाधानका लागि केही नयाँ दृष्टिकोण बनाएर काम गर्नु छ,” सुनमाई क्षेत्रमा घरदैलो गरिरहेका कांग्रेस उम्मेदवार शर्माले बीबीसीसँग भने।  

“सोलार फेन्सिङलाई बलियो गरी बनाउने र मेची नदीको किनारमा तटबन्ध बनाउने। घेरा बारा गरिराखेर रैथाने हात्तीलाई सुरक्षित ठाउँमा राख्ने वा स्थानान्तरण गरेर चितवन जस्ता ठाउँमा लगेर राख्ने केही न केही परियोजना स्थानीय, प्रदेश सरकार र हामी मिलेर गर्नु छ।”

मेची नदी

धाइजन क्षेत्रमा घरदैलो गरिरहेका एमालेका खरेलले पनि हात्ती समस्या समाधानका लागि आवश्यक परे भारतसँग समेत वार्ता गर्ने योजना अघि सारेका छन्।

“फेन्सिङ वायर ल्याइएको भए पनि पर्याप्त र प्रभावकारी छैन। त्यसलाई व्यापक गर्ने र मेची नदीमा जनताको तटबन्ध लागु गर्ने,” एमाले उम्मेदवार खरेलले हात्ती नियन्त्रणबारे आफ्नो योजना सुनाए।

“यसका लागि भारतसँग पनि कुरा गर्नुपर्ने हुनसक्छ।”

दशकौँको मुद्दा

सोलार फेन्सिङ

यहाँका उम्मेदवारहरूले तीन दशक देखि हात्ती नियन्त्रणका प्रतिबद्धता दोहोर्‍याए पनि नियन्त्रणको कदम प्रभावकारी हुन नसकेको स्थानीयबासीको आरोप छ।

“चुनावमा चाहिँ हात्ती कहिले कांग्रेस हुन्छ, कहिले एमाले हुन्छ, कहिले माओवादी हुन्छ कहिले राप्रपा भइबस्छ तर जनताको अवस्था चाहिँ जस्ताको त्यस्तै छ,” मेचीनगरका वडाध्यक्ष कार्कीले भने।

स्थानीय सरकारले पनि अहिले हात्ती नियन्त्रणका योजना अघि बढाएको उनले जानकारी दिए

तर बाहुनडाँगीकै स्थानीय शंकर लुइँटेल तटबन्धले मात्रै हात्ती नियन्त्रण नहुने दाबी गर्छन्।

“तटबन्ध पनि स्थायी समाधान होइन। उनीहरूको खाने स्रोत कम गर्दै सोलार फेन्सिङलाई नै प्रभावकारी बनाउनुपर्छ,” लुइँटेल भन्छन्।

जङ्गली हात्तीको समस्या बाहेक शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकास, भूमिहीनका समस्या पनि यो क्षेत्रका मतदाताहरूले उठाउने गरेका छन्।

मेचीनगर १४ की दिपा कडरिया भन्छिन्, “बाटाघाटा, बिजुली सँगै ऐलानी जग्गाको समस्या छ। उम्मेदवारबाट हामीलाई चाहिएको देशको विकास हो। दुख बुझ्ने चाहिएको हो।”

धुलाबारीकी व्यवसायी झुनादेवी बानियाँ पनि बाटो र बजार व्यवस्थापन सम्बोधन गर्ने उम्मेदवार चाहिएको बताउँछिन्।

“बाटो बने हुन्थ्यो र बजार व्यवस्थित गरे त्यस्तोलाई भोट हाल्ने थियौँ भन्ने आवाज उठेको छ। पहिले धेरै बाहिरकाले जितेर गए यसपालि चाहिँ हाम्रै ठाउँको हाम्रै क्षेत्रको उम्मेदवारलाई जिताऊँ भन्ने धेरै मतदाताको छ,” उनले भनिन्।