डलर अर्बपतिलाई उखु किसानको भर

तस्बिर स्रोत, BBC,BinodChaudhary/Facebook
- Author, माधव नेपाल
- Role, बीबीसी न्यूज नेपाली, पश्चिम परासी
- Published
नेपालका डलर अर्बपति विनोद चौधरी र राजनीतिका पुराना खेलाडी हृदयेश त्रिपाठीबिचको प्रतिस्पर्धाले पश्चिम नवलपरासीको १ नम्बर क्षेत्रको चुनावी माहौल तात्दै गएको छ।
चौधरी पहिलो पटक जनताबाट अनुमोदित हुने चाहनाका साथ चुनावी दौडाहामा व्यस्त छन् भने त्रिपाठीले सो क्षेत्रबाट छैटौँ पटक जित्ने प्रयास गरिरहेका छन्।
"मलाई दाम र नाम चाहिएको छैन, तर मैले जानेको र गर्न सक्ने काम भनेको देशको चौतर्फी आर्थिक विकास नै हो," बर्दघाट त्रिवेणी सडक खण्डको नारायण चोक नजिकै नेपाली कांग्रेसको प्रचार कार्यालयमा भेटिएका चौधरीले बीबीसीलाई भने।
"विकासका योजना कार्यान्वयन गर्न जनताबाट अनुमोदित हुनै पर्छ भन्ने लागेर चुनावमा होमिएको हुँ।"
चौधरी समानुपातिक सांसदको रूपमा पहिले नेकपा एमाले र पछि नेपाली कांग्रेसबाट दुई कार्यकाल संसद् भइसकेका छन्।
चुनावी प्रचारको क्रममा प्रायः मोटर साइकलको पछाडिको सिटमा देखिने चौधरीको यो शैलीले पनि धेरैलाई आश्चर्यमा पारेको देखिन्छ।
तर आफ्ना प्रतिद्वन्द्वी त्रिपाठी प्रति कटाक्ष गर्दै उनी भन्छन्, "यो क्षेत्रमा यो २५ वर्षमा के भयो, न राम्रा सडक छन्, न सिँचाइ छ ,न अस्पताल छ, न राम्रो स्कुल छ, यो सबैको जिम्मेवारी त यहाँबाट निर्वाचित सांसदले लिनु पर्ने होइन र?"

तस्बिर स्रोत, BinodChaudhary/Facebook
"मेरो उम्मेदवारी बाध्यता हो"
यो क्षेत्रबाट पाँच पटक निर्वाचित भएका हृदयेश त्रिपाठीले यस पटकको उम्मेदवारी आफ्नो रहर नभएर बाध्यता भएको बताए।
"म चुनावी राजनीतिबाट अलग हुन खोजेको थिएँ तर मलाई धर्म सङ्कट आइलाग्यो," त्रिपाठी भन्छन्।
"म नउठेको भए मलाई चौधरीसँग बिकेको वा डराएको भन्ने भ्रम फैलिन सक्ने अवस्था थियो।"
"यो चुनाव भनेको राजनीतिक कार्यकर्ता र धनाढ्यबिचको लडाइँ हो भन्ने ठानेर अन्तिम पटक चुनाव लड्ने निर्णय गरेको हुँ," त्रिपाठीले बीबीसीलाई भने।
अहिले प्रगतिशील जनता पार्टीबाट चुनाव लडेका त्रिपाठीलाई नेकपा एमालेले समर्थन गरेको छ।

तस्बिर स्रोत, RSS
उखु किसान निर्णायक?
उखु किसानको बाहुल्यता रहको यस क्षेत्रमा उखु किसानहरूले भुक्तानी नपाएको विषय आम समस्या जस्तै भएको देखिन्छ।
लुम्बिनी चिनी कारखानाको लागि उखु उत्पादन गर्न सरकारले प्रोत्साहन गरेपछि बर्दघाट, सुस्ता, सरावल र प्रतापपुरका किसानहरू अन्य बाली छाडेर उखु खेती तर्फ लागेका थिए।
तर सो कारखाना बन्द भएसँगै उखु किसानको समस्या यहाँ बल्झिँदै गएको देखिन्छ।
उखु किसानका समस्या देखि उखु मिलको सञ्चालन जस्ता योजना अहिले विनोद चौधरीले सुनाउँदै आएको प्रतापपुरका किसान प्रेमचन्द गुप्ताले बताए।
गुप्ता भन्छन्, "चौधरी नयाँ अनुहार भएकोले उखु किसानको विश्वास लिन सक्ने अवस्थामा पनि देखिन्छन् तर हृदयेश राजनीतिका चतुर खेलाडी भएकोले उनलाई कम आँक्न मिल्ने अवस्था पनि छैन।"




















