निर्वाचनका बाँकी अन्योलः उजुरीको सुनुवाइदेखि फेरि मतदानसम्म

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको परिणाम आउने क्रम अन्तिमतिर पुग्दैगर्दा समेत केही ठाउँमा कहिले निर्वाचन गराउने सहित चुनावसँग सम्बन्धित केही अन्योल सल्टिन बाँकी नै छन्।
निर्वाचन आयोगका अनुसार देशभरिका ७७ जिल्लामा निर्वाचन सम्पन्न भएर मतगणना जारी भए पनि बाजुराको बुढीनन्दा नगरपालिकामा पुन: चुनाव गराउन बाँकी छ।
दुई ठूला पार्टी कांग्रेस र एमालेबीचको झडपका कारण प्रभावित बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर पाँचमा मतदान स्थगित भएको थियो।
त्यहाँँ कांग्रेसले 'दुई बुथ कब्जा गरेको' एमालेले आरोप लगाएको छ भने एमालेले 'चार बुथ कब्जा गरेको' कांग्रेस नेताहरूको आरोप छ।
त्यहाँ मङ्सिर १० गते पुनः मतदान गराउन निर्वाचन कर्मचारीहरूको टोली बिहीवार नै पुगेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बीबीसीलाई बताए।
बुढीनन्दाको एउटा केन्द्रमा शनिवार मतदान गराइएको निर्वाचन आयोगले जनाएको छ।

तस्बिर स्रोत, RSS
बाजुराका करिब १६ मतदानस्थलमा नेकपा एमालेले र ८ स्थानमा नेपाली कांग्रेसले पुनः मतदान गराउन माग गर्दै निवेदन दिएको बताइएको छ।
बाजुराकै त्रिवेणी नगरपालिका ७ स्थित मतदान केन्द्रमा निर्वाचनको दिन झडप भएको घटनामा राजनीतिक दलसँग आवद्ध दुई जनाको मृत्यु भएको थियो।
बाजुरामा निर्वाचन र मतगणनाको अवस्थाबारे बुझ्न निर्वाचन आयोगले सहसचिव संयोजकत्वको टोली त्यसतर्फ पठाएको आयोगका सहप्रवक्ता कमल भट्टराईले बताए।
मतगणना प्रभावित ठाउँमा के हुन्छ?
१६५ वटै निर्वाचन क्षेत्रको मतपेटिका मतगणना स्थलमा पुर्याइएको आयोगले बताइरहँदा दोलखा, स्याङ्जा, रुपन्देहीलगायत जिल्लामा मतगणना कार्य बिथोलिएको छ।
स्याङ्जामा पनि बुथ कब्जा भएको भन्दै मतगणना प्रभावित भएपछि निर्वाचन आयोगको टोली पुगेको सहप्रवक्ता भट्टराईले बताएका छन्।
निर्वाचन र मतगणनाबाहेक डोल्पा जिल्लामा निर्वाचन गराउन पुगेका करिब एक सय जना कर्मचारी खराब मौसमका कारण अड्किएको बताइएको छ।
त्यहाँ खटिएका धेरै जसो कर्मचारीहरूले चिसोका कारण आफूहरू बिरामी परेको भन्दै उद्धारको माग गर्दै आएका छन्।

तस्बिर स्रोत, Kamal Bohora
डोल्पामा अलपत्र परेका कर्मचारीहरूको उद्धारकार्य शुक्रवार बिहानबाट सुरु भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले बताए।
कर्मचारीहरूलाई बिहीवार नै ल्याइने भनिए पनि डोल्पामा धेरै हावा चलेका कारण हेलिकोप्टर जान सम्भव भएको थिएन।
यस्तै शे फोक्सुन्डो गाउँपालिकाको सालदाङमा पनि ३६ जना उद्धारको पर्खाइमा रहेको अर्का कर्मचारी कमल बोहराले जानकारी दिए।
“अधिकांश बिरामी परेकाले कसरी बाँच्ने भन्ने भएको छ,“ उनले बीबीसीसँग भने।
जिल्ला प्रशासन कार्यालय डोल्पाले दिएको जानकारीअनुसार माथिल्लो डोल्पाको शे फोक्सुन्डो गाउँपालिकाका वडा नं ४, ५ र ७, ६ र छार्काभोट भन्ने ठाउँमा कर्मचारीहरू रोकिएका छन्।
रवि लामिछानेविरुद्ध परेको उजुरीको सुनुवाइ अब के हुन्छ?

तस्बिर स्रोत, Deepak Bohora
चितवन क्षेत्र नम्बर २ मा विजयी बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध उनको नागरिकताको विषय उठाएर परेको उजुरी सल्टिन बाँकी छ।
तर निर्वाचित भनेर प्रमाणपत्र पाइसकेको अवस्थामा त्यो अब निर्वाचन आयोगको क्षेत्राधिकारभित्र नपर्ने आयोगले जनाएको छ।
“अब कसैले सर्वोच्च अदालतमा उक्त विषय लैजानु भयो भने त्यहाँको संवैधानिक इजलासले सुनुवाई गर्नेछ,” आयोगका सहप्रवक्ता मैनालीले भने।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेकी तोसिमा कार्कीले पनि निर्वाचन आयोगलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेकी थिइन्।
लाभको पद भन्दै निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको सन्दर्भमा अदालतमा पुगेको मुद्दाको अन्तिम किनारा लाग्न बाँकी छ।
त्यसबारे आफ्नो निर्णयको बचाउ गर्दै आयोगले सर्वोच्च अदालतमा लिखित जवाफ पठाएको थियो।




















