'पीडाका बावजुद' गाजामा प्यालेस्टिनीहरू ईद मनाउँदै

पीडामाझ ईद

तस्बिर स्रोत, Reuters

Published

रमजानको अन्तिम दिन गाजामा प्यालेस्टिनीहरू ईद उल-फित्र मनाउँदै छन्। हमासविरुद्ध इजरेलको आक्रामक कारबाही जारी रहँदा क्षति र भोकमरीको चिन्तामाझ यो वर्ष प्यालेस्टिनीहरूले इद मनाइरहेका हुन्।

रफाहमा रहेका प्यालेस्टिनीहरूले बीबीसी अरेबिकको गाजा लाइफलाइन कार्यक्रममा विगतका वर्षमा मनाइएको ईद र यो वर्षको ईदमा के फरक रह्यो भनेर बताएका छन्।

गाजामा रहेका बीबीसी संवाददाताले "यो वर्ष हर्ष उल्लास वा मिठो खानेकुरा नभएको, केवल पीडा भएको" बताएका छन्।

रफाहस्थित एक परिवारले "जीवनका आधारभूत आवश्यकता बिना नै" ईद मनाइरहेको जनाएको छ।

हारोन अल-मेदल्लालले "पीडा, क्षति, विस्थापन र इजरेली सेनाको निरन्तर बमबारीका बाबजुद हामीहरू जीवनलाई माया गर्ने मानिस हौँ" भनेका छन्।

रफाहस्थित आफू बसिरहेको ठाउँबाट बोल्दै उनले केही प्यालेस्टिनी महिलाहरूले आमाबुवा र घर गुमाएका बालबालिकाको अनुहारमा हाँसो ल्याउने प्रयासमा कुकिजहरू बनाइरहेको बताए।

'युद्धमा करिब साढे ३३ हजार मानिसको मृत्यु'

'गाजाको हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ मा युद्ध सुरु भएयता अहिलेसम्म ३३,४८२ जना प्यालेस्टिनीको ज्यान गएको र ७६,०४९ जना घाइते भएको जनाएको छ।

हमासका लडाकुहरूले अक्टोबर ७ मा दक्षिणी इजरेलमा हमला गरेर १२०० मानिसको मृत्यु र २४० भन्दा बढी मानिसलाई बन्धक बनाएपछि युद्ध सुरु भएको थियो।

यसैबीच गएको राति इजरेलले गरेको भनिएको हवाई हमलामा १४ जना सर्वसाधारणको ज्यान गएपछि उनीहरूको मृत्युमा शोक व्यक्त गर्न प्यालेस्टिनीहरू भेला भएका छन्।

एएफपी समाचार संस्थाका अनुसार उक्त परिवारको घर हमलामा परेको थियो।

प्यालेस्टिनीको आधिकारिक समाचार निकाय वाफाले हताहत हुनेमा धेरैजसो महिला र बालबालिका भएको जनाएको छ।

बीबीसीले भने इजरेलले गरेको भनिएको उक्त हमलाको स्वतन्त्र रूपमा पुष्टि गरेको छैन।

युद्धविरामका लागि अन्तर्राष्ट्रिय दबाब

इजरेली सेना

तस्बिर स्रोत, EPA

अमेरिकी राष्ट्रपति जो बाइडनले इजरेली प्रधानमन्त्री बेन्जमिन नेतान्याहूले गाजामा युद्धको व्यवस्थापन जसरी गरिरहेका छन् त्यसमा उनले "गल्ती" गरिरहेको बताएका छन्।

एउटा अन्तर्वार्तामा बाइडनले इजरेललाई हमासविरुद्धको युद्धमा ६ हप्ता लामो युद्धविराममा सहमति जनाउन आह्वान गरेका छन्।

युद्धविराम भए उक्त क्षेत्रमा खाना र औषधिका लागि पूर्ण रूपमा पहुँच हुनेछ।

कायरोमा वार्ता जारी रहँदा युद्धविराममा सहमति जनाउन अन्तर्राष्ट्रिय दबाब बढिरहेको छ। पछिल्लो वार्तामा बाइडन प्रशासनले सीआइएका प्रमुखलाई पनि सहभागी हुन पठाएको छ।

नेतान्याहूले भने दक्षिणी सहर रफाहमा सैन्य कारबाहीका लागि मिति तय गरिएको बताएका छन्। उक्त सहरमा करिब १५ लाख प्यालेस्टिनीहरूको बसोबास रहेको छ।

लडाइ जारी रहँदा ६ साताका लागि हालै गरिएको युद्ध विरामको प्रस्तावबारे विश्लेषण गरिरहेको इजरेलले जनाएको छ। उक्त प्रस्तावमा हमासले बन्धक बनाएका मानिसहरूको रिहा पनि समेटिएको छ।

गाजामा एकदमै कम सहायता सामाग्री मात्रै पुगेको भन्दै प्यालेस्टिनी शरणार्थीका लागि काम गर्ने राष्ट्रसङ्घीय निकाय यूएनआरडब्लूएका प्रमुखले त्यहाँ भोकभरिको सम्भावना रहेको भन्दै पुनः चेतावनी दोहोर्‍याएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।