भारतसँग पराजित भएसँगै नेपाल एसीसी यू-१९ एशिया कपबाट बाहिरियो

तस्बिर स्रोत, ACC
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
- Published
उन्नाइस वर्षमुनिको क्रिकेटमा मङ्गलवार नेपाल भारतसँग १० विकेटले पराजित भएको छ।
एसीसी यू-१९ एशिया कपको लिग चरणको अन्तिम खेलमा नेपाल ५२ रनको न्यून स्कोरमा सीमित भएसँगै हार बेहोरेको हो।
नेपालका कुनै पनि खेलाडीले दोहोरो अङ्कको रन बनाउन समेत सकेनन्।
हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।
टोलीले लिग चरणमै पाकिस्तान, अफगानिस्तान र भारतसँग गरी तीनवटै खेलमा पराजय बेहोर्यो।
मङ्गलवार टस हारेर पहिलो ब्याटिङ पाएको नेपाली युवा टोली २२.१ ओभरमा ५२ रनमा समेटियो।
नेपालको इनिङ्स निकै कमजोर बनाउनका लागि भारतका तीव्र गतिका बलर राज लिम्बानीले सर्वाधिक ७ विकेट लिएका थिए।
जवाफमा भारतले ७.१ ओभरमा बिना विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।
दुई देशबीचका पछिल्ला खेलहरूमा देखिएका रोमाञ्चक परिणामका माझ दुबईमा दुई देशबीचको युवा टोली मङ्गलवार भेटेको थियो।
विगत
पछिल्लो चार महिनाको अवधिमा नेपाल र भारतबीच भएका क्रिकेट प्रतिस्पर्धाले निकै चर्चा र तरङ्ग निम्तिएको थियो।
तरङ्गको प्रमुख कारण थियो- नेपाल र भारतको सिनियर टोली इतिहासमा पहिलो पटक आमने सामने हुनु।
गत असोज १७ गते श्रीलङ्कामा सम्पन्न ५० ओभरको एशिया कप एकदिवसीय प्रतिस्पर्धाले थुप्रै कथा बुनेको छ।
त्यसको ठ्याक्कै एक महिनापछि कार्तिक १७ गते फेरि नेपाल र भारतको भेट एशियाली खेलकुदको क्वार्टर फाइनलमा भयो जुन खेल २० ओभरको थियो।
मङ्गलवारको खेल तिनै रोचक पृष्ठभूमिका बीच भएको थियो।
अन्तर्राष्ट्रिय चर्चा

तस्बिर स्रोत, ACC
नेपाल र भारतको सिनियर टोलीबीचको पहिलो भेट अत्यन्त स्मरणीय रह्यो।
श्रीलङ्काको कोलोम्बोस्थित पालिकेले रङ्गशालामा भएको एशिया कपमा पहिले ब्याटिङ गर्दै २३० रन बनाएपछि नेपालको प्रदर्शनले अन्तर्राष्ट्रिय चर्चा पाएको थियो।
ओपनर आशिफ शेखको अर्धशतकीय ५८ रन सहित सोमपाल कामीले आक्रामक ४८ रन बनाएपछि त्यसको चौतर्फी प्रशंसा भयो।
कप्तान रोहित शर्माले ७४ रनको शानदार खेल प्रस्तुत गर्दै वर्षाले प्रभावित उक्त खेलमा भारतलाई १० विकेटले जिताए।
उक्त चर्चा सेलाउन नपाउँदै चीनको हान्झाउमा भएको एशियाली खेलमा नेपाल र भारतको क्वार्टर फाइनलमा भेट भयो।
नेपाली कप्तान रोहित पौडेलले क्वार्टर फाइनल खेलका लागि गरेको टाइसिट 'ड्र' मा भारतको नाम तान्न पुगे।
बीस ओभरको उक्त प्रतिस्पर्धामा भारतका ए टोलीका चर्चित खेलाडीहरू नभए पनि आईपीएल खेल्ने स्टारहरू थिए।
उक्त क्वार्टर फाइनलमा भारतले बनाएको २०२ रनको लक्ष्य नेपालले पछ्याइसकेको थियो। एक समय नेपाल जिततिर अग्रसर भइसकेको अवस्था थियो।
नेपाल उक्त खेलमा पराजित भए पनि एशियाली खेलकुदमा नेपालको खेलको प्रशंसा एशिया कपमा चुलिएको चर्चाभन्दा कम थिएन।
यू-१९ भेट
संयोग के रह्यो भने सिनियर एशिया कपमा जस्तै यू-१९ एशिया कपमा पनि लिग चरणमा नेपालले भारत र पाकिस्तान नै प्रतिद्वन्द्वीका रूपमा पायो।
पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो।
दोस्रो खेलमा अफगानिस्तानसँग पनि हारेपछि जारी एशिया कपमा अगाडि बढ्ने नेपालको सम्भावना असम्भव जस्तै बनिसकेको थियो।
यद्यपि लिगको अन्तिम खेलमा भारतको सामना गर्दा छुट्टै प्रतिस्पर्धाको माहोल बन्ने आशा क्रिकेट प्रेमीहरूले राखेका थिए।
सन् २००० मा नेपाल र भारतबीच यू-१९ विश्वकपमा पहिलो पटक भेट भएको थियो जहाँ भारतले खेल ८ विकेटले जितेको थियो।
उक्त टोलीमा भारतको कप्तानी मोहम्मद कैफले गरेका थिए भने युवराज सिंहले ४ विकेट लिएका थिए। पछि ती दुवै राष्ट्रिय टोलीका मुख्य खेलाडी बने।
त्यसपछिको भेटमा भारतले नेपाललाई सहजै पराजित गर्दै आएको छ।
सन् २०१३ को यू-१९ एशिया कपमा भारतले नेपाललाई ९ विकेटले हरायो।
सन् २०१६ मा यी दुई देशको युवा टोलीबीच दुई पटक भेट भयो जसमा आईसीसी यू-१९ विश्वकपमा नेपाल ७ विकेटले पराजित भयो भने यू-१९ एसीसी कपमा ६ विकेटले हार्यो।
उक्त खेलमा भारतका लागि शुभमन गिलले ५७ रनको अर्धशतक प्रहार गरेका थिए।
नेपालको एक मात्र जित

तस्बिर स्रोत, ACC
नेपालले भारतलाई हराएको पहिलो पटक सन् २०१७ मा मलेशियामा भएको यू-१९ एशिया कपमा हो।
कप्तान दीपेन्द्र सिंह ऐरीको ८८ रनको मद्दतमा नेपालले उक्त खेलमा १८५ रन बनायो जसलाई पछ्याउन आएको भारत १६६ रनमा समेटियो र नेपाल १९ रनले विजयी भयो।
नेपालले कुनै पनि उमेर समूहको प्रतिस्पर्धामा भारतलाई हराएको हालसम्म यो पहिलो र एक मात्र अवसर बनेको छ जसले गर्दा भारतसंगको प्रतिस्पर्धा अगाडि यो खेलको नतिजालाई जहिले सम्झिने गरिन्छ।
त्यसपछि सन् २०१८ मा नेपाल र भारत यू-१९ एशिया कपमा भेट भएको थियो जहाँ भारतले १७१ रनको विशाल जित हात पारेको थियो।
उक्त खेलमा भारतका यशस्वी जयसवालले १०४ रन बनाएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















