तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
तपाईँको दैनन्दिन तनाव कुन अवस्थामा मानसिक समस्यामा बदलिन्छ? त्यसबाट कसरी बच्ने?
- Author, प्रियङ्का धीमान
- Role, बीबीसी पत्रकार
- Published
- पढ्ने समय: ७ मिनेट
यदि तपाईँलाई अरू काम गर्न मन नलाग्ने, हरेक कुराले झिँझो लाग्ने अनि ओछ्यानबाट उठ्न जाँगर नचल्नेजस्तो नियमितजसो भइरहेको छ भने तपाईँलाई मानसिक स्वास्थ्य समस्या भएको हुन सक्छ।
तर एउटा व्यक्तिले आफ्नो मानसिक स्वास्थ्यबारे कसरी थाहा पाउन सक्छ र ऊ तनावग्रस्त भइरहनु कति बेला एउटा गम्भीर रोगमा परिणत हुन सक्छ? डिप्रेशन, एङ्जाइटी र तनावको समस्यासँग जुझिरहेका व्यक्तिलाई कति बेला चिकित्सकीय सहायता चाहिन्छ र हामी सबै हाम्रो मानसिक स्वास्थ्य ठिक राख्न के गर्न सक्छौँ?
यी र यस्ता केही प्रश्नका जवाफ हामीले मनोवैज्ञानिक डा. कोमलप्रीत कौरबाट खोज्ने प्रयास गरेका छौँ।
मनोवैज्ञानिक र मनोविद्बीच के फरक छ?
मनोवैज्ञानिकहरू मानसिक स्वास्थ्यसम्बन्धी पेसाकर्मी हुन्, जसले हामीलाई हाम्रा विचार, हाम्रा भावना र हाम्रो व्यवहार बुझ्न मद्दत गर्छन्।
मनोवैज्ञानिकले परामर्श र मनोचिकित्सामार्फत् भावनात्मक कठिनाइहरू पार गर्न मद्दत गर्छन्।
अर्कोतर्फ मनोचिकित्सक चिकित्सा डाक्टर हुन्, जसले बिरामीलाई औषधिद्वारा उपचार गर्छन्। मनोवैज्ञानिकहरूले बिरामीलाई औषधि चाहिँ लेख्दैनन्।
जब कुनै व्यक्तिको मानसिक रोग धेरै गम्भीर हुन्छ, तब उसलाई औषधि आवश्यक पर्छ। त्यो मनोचिकित्सकले मात्र लेख्न सक्छ।
कतिपय अवस्थामा मनोवैज्ञानिक र मनोचिकित्सक दुवैले एउटै टोलीको रूपमा पनि काम गरिरहेका हुन्छन्।
कुनै व्यक्तिलाई मनोवैज्ञानिक सहयोग चाहिने कुराका प्रारम्भिक सङ्केत केके हुन्?
- यदि कोही व्यक्ति दुई हप्ताभन्दा बढी समयदेखि चिन्तित छ, केही पनि नभएकोमा चिन्तित छ, धेरै वा धेरै कम सुत्ने गरेको छ अथवा अत्यधिक वा कम भोक लाग्ने गर्छ भने
- उसले अत्यधिक तनाव वा चिन्ताको अनुभव गरिरहेको छ अथवा उसले आफूलाई मानिसहरूदेखि टाढा राखेको छ र समाजमा घुलमिल हुँदैन भने
- उसलाई पहिला जे कामले आनन्द दिन्थ्यो, त्यस्तो काम गरिरहेको छैन भने।
जब यस्ता लक्षणहरू देखा पर्छन्, यो केही नमिलेको सङ्केत हो। तपाईँलाई मानसिक स्वास्थ्यसम्बन्धी पेसाकर्मीको परामर्श चाहिन्छ।
मानसिक रोग वा डिप्रेशनको कारण के हो?
कतिपय कुराहरू हाम्रो जीनमा निर्भर गर्छन् भने कतिपय कुरा हाम्रो वरपरको वातावरणमा।
उदाहरणका लागि, यदि तपाईँको परिवारमा कसैलाई डिप्रेशन जस्तो समस्या छ भने तपाईँ पनि त्यसबाट प्रभावित हुन सक्ने सम्भावना हुन्छ। तर यो सधैँ हुँदैन। यो धेरै परिस्थितिहरूको मिश्रण हुन सक्छ।
यदि परिवारमा तनावपूर्ण वातावरण छ भने अरू सदस्यहरूले पनि नकारात्मक सोच्न थाल्न सक्छन्।
तिनीहरू संसार र भविष्यका बारेमा पनि नकारात्मक सोच्छन्। तिनीहरू भविष्यप्रति कुनै आशा देख्दैनन्। यी कुराहरू तुरुन्तै पहिचान गर्नु महत्त्वपूर्ण छ।
'डिप्रेशन', 'तनाव' र 'एङ्जाइटी'बीच के फरक छ?
तनाव परिस्थितिले निर्धारण गर्छ। जब परिस्थितिमा सुधार हुन्छ, तब तनाव पनि हराएर जान्छ।
डिप्रेशन भनेको विगतको पीडादायी सम्झनालाई पुन: ताजा गर्नु हो भने एङ्जाइटी भनेको भविष्यबारे चिन्ता गर्नु हो।
अकारण अथवा कुनै कारणले चिन्ता भइरहेको हुन्छ र त्यसले तपाईँको दिनचर्यालाई प्रभावित गरिरहेको हुन्छ।
मानसिक स्वास्थ्यका लागि के गर्ने
प्रत्येक दिन कम्तीमा आधा घण्टा आफ्ना लागि निकाल्नुहोस्। व्यायाम गर्नुहोस्, हिँड्नुहोस्, राम्रोसँग खानुहोस्, र जङ्क फूडबाट बच्नुहोस्।
ध्यान गर्नुहोस्, गहिरो सास फेर्नुहोस्।
यी सबै कुराले तपाईँलाई हरेक दिन सक्रिय र सकारात्मक रहन मद्दत गर्छन्।
यी गतिविधिहरूले हामीलाई खुसी बनाउने होर्मोन निष्कासन गराउन सघाउँछन्।
सामाजिक सञ्जालले मानसिक स्वास्थ्यमा कति असर गर्छ?
जब तपाईँ इन्स्टाग्राम र अरू सामाजिक सञ्जालहरूमा लगातार 'रील'हरू हेर्नुहुन्छ, एउटा रीलमा एक थरीको भावना हुन्छ, अर्को रीलमा अर्कोमा अर्कै थरी भावना हुन्छ।
त्यो समयमा हाम्रा भावनाहरू धेरै छिटो परिवर्तन भइरहेका हुन्छन् र हाम्रो मस्तिष्क तथा हृदयले तिनीहरूलाई राम्ररी प्रशोधन गर्न असमर्थ हुन्छन्।
हामीलाई हाम्रा भावनाहरू कसरी प्रशोधन गर्ने भनेर थाहा छैन।
हामीले जति कुरा हाम्रो स्क्रीनमा खोलिरहेका हुन्छौँ, हाम्रो मस्तिष्कमा त्यति नै 'ट्याब' खुलिरहेका हुन्छन्।
त्यस्तो बेला 'ब्रेन फग' अथवा रनभुल्ल भएको जस्तो अवस्था हुन्छ र के निर्णय लिने भनेर छुट्टयाउन मस्तिष्कलाई गाह्रो हुन्छ।
कार्यस्थलसँग के सम्बन्ध छ?
कार्यस्थलले हाम्रो मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्छ। काम र व्यक्तिगत जीवनबीच सन्तुलन राख्न सिक्नु महत्त्वपूर्ण छ।
काम सकेर घर फर्कँदा कार्यालयका कुरा कार्यालयमै सीमित राख्नुपर्छ भने कार्यालयका लागि निस्कँदा घरका कुरा घरमै रहन दिनुपर्छ। यो सन्तुलन महत्त्वपूर्ण हुन्छ।
कार्यालयको चिन्ता घरमा नल्याउनुहोस् र घरको चिन्ता कार्यालयसम्म नपुर्याउनुहोस्। त्यसमा सीमा निर्धारण गर्न सिक्नुपर्छ।
श्वासप्रश्वासको अभ्यासलाई आफ्नो जीवनको एउटा हिस्सा बनाउनुहोस्। जब तपाईँसँग एक वा दुई घण्टा समय हुन्छ, श्वासप्रश्वासका अभ्यासहरू गर्नुहोस्।
त्यसले तपाईँको प्यारासिम्पेथेटिक स्नायु प्रणालीलाई सक्रिय गर्छ अनि तपाईँलाई शान्त रहन सघाउँछ।
जब हामी शान्त रहन्छौँ, तब सही निर्णय पनि गर्छौँ, हाम्रो कार्यसम्पादनमा सुधार हुन्छ र हाम्रा सम्बन्धहरू, चाहे काममा होओस् अथवा घरमा, सबै स्वस्थ रहन्छन्।
महिलाको मानसिक स्वास्थ्यलाई केले असर गर्छ?
वास्तवमा परम्परागत ढाँचामा महिलाहरूले एकैसाथ धेरै कुरा मिलाउनुपर्छ। उनीहरूले घर, बालबच्चा, करिअर, आर्थिक पक्षलगायत सबै कुरा सन्तुलनमा राख्छन्।
यस्तो अवस्थामा एउटी महिला काममा गएको बेला 'बच्चाहरू के गर्दै होलान्, श्रीमान् के गर्दै होलान्, घर पुगेपछि मैले यीयी काम गर्नुपर्छ' जस्ता कुराहरू उनको दिमागमा खेलिरहेका हुन्छन्।
यसले उनीहरूको मानसिक स्वास्थ्यमा असर गर्छ। बाहिर काम नगर्ने र घर, परिवार अनि बच्चा हुर्काउन आफ्नो समय समर्पित गर्ने महिलाहरूका लागि पनि घरमा सहयोग हुनुपर्छ।
खास गरी बच्चाहरू हुर्किएर आफ्नै जीवनमा व्यस्त हुन थालेपछि महिलाहरू एक्लोपन महसुस गर्न थाल्छन् र डिप्रेशनमा पर्छन्।
कतिपय नकारात्मक सोचले डिप्रेशनमा उल्लेखनीय वृद्धि निम्त्याउन सक्छन्। यस्तो अवस्थामा मनोपरामर्श आवश्यक हुन्छ।
यसको उपचार कसरी हुन्छ?
'सीबीटी' (कग्निटिभ बिहेभ्यरल थेरपी) जस्ता उपचार प्रणालीले व्यक्तिको सोचलाई पुनः ठिक अवस्थामा पुर्याउन मद्दत गर्छन्।
'डीबीटी' (डायलेक्टिकल बिहेभ्यरल थेरपी) गरिन्छ, जसले व्यक्तिको भावनामाथि सीधै काम गर्छ।
त्यसै गरी 'हिप्नोथेरपी' तथा 'एनएलपी' (न्यूरो-लिङ्ग्विस्टिक प्रोग्र्यामिङ) जस्ता थेरपीका उपाय पनि हुन्छन्, जसले नयाँ सोच र नयाँ व्यावहारिक ढाँचा विकसित गर्न सघाउ पुर्याउँछ।
त्यस बाहेक 'गेस्टाल्ट थेरपी'ले शरीर, मन र भावनासहित समग्र सन्तुलनमा सघाउ पुर्याउँछ।
नाइँ भन्न सिकाउनुहोस्
बालबालिकाले एकअर्कासँग आफूलाई धेरै तुलना गर्छन्। उनीहरू अभिभावकको दबाव, सामाजिक दबाव र आफ्नै अपेक्षाले थिचिएका हुन्छन्।
जब उनीहरू ती अपेक्षाहरू पूरा गर्न विफल हुन्छन्, तब उनीहरू नकारात्मक सोच्न थाल्छन्।
उनीहरू आफ्ना बारेमा नकारात्मक कुराहरू सोच्न र भन्न थाल्छन्, जसले बिस्तारै डिप्रेशन निम्त्याउन सक्छ।
यसमा आमाबुवाको पनि भूमिका हुने गर्छ।
कामकाजी आमाबुवाले प्रायः आफ्ना बच्चाहरूसँग पर्याप्त समय बिताउँदैनन्।
त्यसको बदलामा उनीहरूले छोराछोरीका हरेकजसो माग पूरा गरिदिने प्रयास गर्छन्। परिणामस्वरूप बच्चाहरूलाई 'नाइँ' सुन्ने बानी कहिल्यै पर्दैन।
त्यसैले जब उनीहरूलाई 'नाइँ' भनिन्छ अथवा बाहिरी संसारबाट अस्वीकृतिको सामना गर्नुपर्छ, उनीहरूलाई यो स्वीकार गर्न गाह्रो हुन्छ र मानसिक रूपमा प्रभावित हुन सक्छन्।
आमाबुवाले आफ्ना छोराछोरीको उचित माग स्वीकार गर्नुपर्छ, तर आवश्यक भएमा तर्क र बुझाइका साथ 'नाइँ' भन्न पनि सिक्नुपर्छ ताकि छोराछोरीले जीवनको वास्तविकताहरूको सामना गर्न सिक्न सकून्।
आमाबुवाले छोराछोरीको मानसिक र भावनात्मक विकासमा के भूमिका खेल्नुपर्छ?
जब बालबालिका साना हुन्छन्, तिनीहरू काँचो माटो जस्तै हुन्छन्। जसरी कुमालेले माटोलाई आकार दिन्छ, त्यसरी नै आमाबुवाले आफ्ना छोराछोरीको व्यक्तित्व र सोचलाई आकार दिन्छन्।
प्रशंसा गर्नुहोस्
छोराछोरीले गरेको राम्रो कामको आमाबुवाले सम्मान गर्नुपर्छ। यसले उनीहरूलाई उनीहरूको कडा परिश्रम र प्रयासले सकारात्मक परिणाम दिएको महसुस गर्न मद्दत गर्छ।
यद्यपि बच्चाको प्रयासको प्रशंसा गर्नुको साटो उनीहरूको प्रयासको सम्मान गर्नु बढी महत्त्वपूर्ण हुन्छ। यसले उनीहरूमा अहंकारको विकास हुने सम्भावना कम गर्छ।
बच्चालाई "तिमी धेरै अल्छी छौ" अथवा "तिमी विफल हुन्छौ" जस्ता टिप्पणी गर्नु हुँदैन। त्यसले बच्चाहरूको मनोबल गिराउँछ र उनीहरूले आफूलाई अक्षम ठान्न थाल्छन्।
बच्चालाई "तिमी खराब छौ" भनेर कहिल्यै नभन्नुहोस्। बरु "तिम्रो यो व्यवहार अथवा काम गलत छ" भनेर भन्नुहोस्।
व्यक्ति र उनीहरूको व्यवहारबीचको भिन्नता छुट्ट्याउनु महत्त्वपूर्ण हुन्छ।
यसका साथै बालबालिकासँग गुणस्तरीय समय बिताउन आवश्यक हुन्छ। अवरोध वा हस्तक्षेपबिना उनीहरूसँग समय बिताउनुहोस्।
उनीहरूलाई निरन्तर सल्लाह दिनुको साटो उनीहरूसँग खेल्नुहोस्, अन्तरक्रिया गर्नुहोस् र उनीहरूको संसार बुझ्ने प्रयास गर्नुहोस्।
हिजोआज बालबालिका र आमाबुवाबीचको भावनात्मक लगाव घट्दै गइरहेको छ। यो सम्बन्ध र बन्धनलाई पुन: बलियो बनाउनु महत्त्वपूर्ण छ।
सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको बालबालिकाका कुरा ध्यानपूर्वक सुन्नु हो। धेरै बालबालिकालाई लाग्छ कि उनीहरूका आमाबुवाले उनीहरूलाई बुझ्दैनन्।
छोराछोरीले आफ्नो गल्ती बताउने हिम्मत जुटाएका बेला आमाबुवाले उनीहरूलाई गाली गर्न थाल्छन्। यस्तो अवस्थामा छोराछोरीले आफ्ना भावना साट्न हच्किन्छन्।
त्यसैले आमाबुवाहरू छोराछोरीसँग बस्नुपर्छ। उनीहरूका कुरा धैर्यपूर्वक सुन्नुपर्छ अनि छोराछोरीले कुनै डरबिना आफ्ना समस्या एवं भावनाहरू व्यक्त गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।