तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
आत्महत्याका घटनाको रिपोर्टिङमा कस्ता सावधानी आवश्यक?
- Author, सञ्जय ढकाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
एक महिनाको अन्तरालमा नेपालमा करिब आधादर्जन आत्मदाहका घटना भए।
राजधानीमा भएको पहिलो घटनाको व्यापक चर्चा सेलाउन नपाउँदै एकपछि अर्को उस्तै घटना भएपछि जानकारहरूले यस्ता विषयको रिपोर्टिङ गर्दा वा सामाजिक सञ्जालमा प्रेषित गर्दा एकदम सावधानी अपनाउन सजग गराएका छन्।
आत्महत्याका घटनाबारे चर्चा गर्दा पर्याप्त सजगता अपनाइएन भने त्यसले अन्य "समान प्रकृतिको सोच" बाट गुज्रिएकाहरूलाई दुरुत्साहन गर्न सक्ने विश्वभरि उदाहरण देखिएको उनीहरूले बताएका छन्।
घटनाको 'नक्कल'
नेपालमा आत्महत्याको दर निकै उच्च रहेको आँकडाहरूले देखाएका छन्।
नेपाल प्रहरीको पछिल्लो आँकडाअनुसार २०८२/८३ को जेठसम्म ६,२८२ आत्महत्याका घटना भएका छन्।
अघिल्लो वर्षको 'प्रहरी दर्पण' प्रतिवेदनमा २०८१/८२ मा दर्ता भएका विभिन्न अपराधका घटनामध्ये तेस्रो ठूलो सङ्ख्या आत्महत्याको रहेको देखिन्छ।
सबभन्दा धेरै उजुरी ब्याङ्किङ् कसुरको १३ हजारभन्दा धेरै अनि त्यसपछि विविध सार्वजनिक कसुरको ८ हजारभन्दा धेरै घटना दर्ता भएकोमा तेस्रो स्थानमा ६,८५२ आत्महत्याको घटना रहेको छ।
औसतमा दैनिक करिब १९ आत्महत्याको घटना भएको देखिन्छ। लागुऔषध र चोरीका घटनाभन्दा त्यो धेरै देखिन्छ।
अघिल्लो महिना राजधानीमा भएको घटनापश्चात् उस्तै प्रकृतिका आधा दर्जन घटना प्रकाशमा आउनुले पनि यस्ता घटनाको 'नक्कल' गर्ने प्रवृत्तिबारे चिन्ता बढेको छ।
मानसिक चुनौती बेहोरिरहेका मानिसहरूलाई आत्महत्याका घटनाको विवरणले पनि दुरुत्साहन हुन सक्ने मनोचिकित्सकहरू बताउँछन्।
"आत्महत्या गर्ने व्यक्तिहरू कुनै किसिमले जीवनबाट निराश भएर उक्त निर्णयमा पुगेका हुन्छन्। त्यस्ता घटनाको एकदम संवेदनशील भएर सम्प्रेषण गर्नु पर्छ ताकि अरूलाई त्यसले थप आघात नपुगोस्," त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ मनोचिकित्सक प्राध्यापक डा सरोज ओझाले भने।
लगनखेलस्थित मानसिक अस्पतालका वरिष्ठ मनोचिकित्सक डा इश्वरी खनाल आत्महत्याका समाचारले आम मानिसमा प्रभाव पार्ने बताउँछन्।
"समान किसिमका सोचबाट गुज्रिरहेका मानिसहरू हुन सक्छन् जसलाई पारिवारिक वा आर्थिक वा अन्य समस्याले पिरोलिरहेको हुन सक्छ। तिनमा जीवनप्रति दिक्दारी भइरहेको बेला यस्ता समाचार आयो भने त्यसले 'ट्रिगर' वा एक्कासि कुनै कदम चाल्न दुरुत्साहन गर्न सक्छ," डा खनालले बताए।
"विभिन्न कुराहरूले यसअघि उसलाई त्यस्तो कदम चाल्न रोकिरहेको थियो भने पनि झ्वाट्ट यस्ता समाचारले आवेशमा निर्णय लिन दुरुत्साहित पार्न सक्छ।"
विश्वमा कुनै सेलिब्रिटीको वा चर्चित आत्महत्याको घटनाले अन्य थुप्रैलाई उसै गर्न उक्साएका घटना थुप्रै रहेको उनले बताए। "पछिल्लोपटक हामीले नेपालमा पनि आत्मदाहका घटना धेरै देखेका छौँ।"
के गर्ने, के नगर्ने?
मनोचिकित्सकहरूले आत्महत्याका समाचारलाई खासगरी सनसनीपूर्ण वा प्रमुखताका साथ प्रकाशन, प्रसारण गर्न वा सामाजिक सञ्जालमा पोस्ट गर्न नहुने बताएका छन्।
"विश्व स्वास्थ्य सङ्गठन अनि हाम्रो स्वास्थ्य मन्त्रालयले पनि यसबारे भनेका छन्। सकेसम्म आत्महत्याको घटना रिपोर्टिङ गर्नु हुँदैन। गर्नै परेको खण्डमा धेरै कुराहरूको ख्याल गर्नु पर्छ," डा खनालले बताए।
"सनसनीपूर्ण रूपमा घटना प्रस्तुत भइरहेका हुन्छन्। त्यो खतरनाक हुन्छ। दृश्य त झन् देखाउन हुँदैन।"
डा सरोज ओझा सञ्चारमाध्यमहरूले आत्महत्याका घटनालाई प्रमुखताका साथ वा मुख्य पृष्ठमा राख्न नहुने सल्लाह दिन्छन्। "त्यसले अरूलाई उकास्नुका साथै धेरैलाई भयभीत बनाइरहेको हुन्छ। बरु यस्ता घटनाको रोकथाम कसरी हुन सक्छ भन्ने कोणबाट प्रस्तुत गर्नुपर्छ," डा ओझाले भने।
एकपछि अर्को उस्तै प्रकृतिका घटना भएपछि सेतोपाटी अनलाइनले एक सम्पादकीय प्रकाशित गर्दै आइन्दा उसले "अपवाद बाहेकका आत्महत्याका घटनाबारे हामी रिपोर्टिङ गर्ने छैनौँ" भन्यो।
"शृङ्खलाबद्ध रूपले भएका यस्ता घटना, हाम्रो विगतको सम्पादकीय नीति, यस्ता घटना समाचार बनेर आउँदा तिनले आममानिसमा पार्ने प्रभाव र सञ्चार गृहका रूपमा हाम्रो जिम्मेवारी लगायत सबै कुरा मनन गरेर हामीले सम्पादकीय नीति तय गरेका छौँ," उसले भनेको छ।
आत्महत्याका मामिलाको रिपोर्टिङबारे विश्वका प्रतिष्ठित सञ्चारमाध्यमहरूले पनि एक किसिमको सावधानी अपनाउने गरेको पाइन्छ।
"हामीकहाँ पनि अब त्यस्तो गाइडलाइनको टड्कारो आवश्यकता देखिएको छ," प्रेस काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठले बताए।
"बालबालिका तथा अपाङ्गता भएकाहरूको हकमा रिपोर्टिङ गर्दा आवश्यक कार्यविधि बनाइएको रहेछ। अब यो मामिलामा पनि हामी के गर्न सकिन्छ भनेर सञ्चारमाध्यमहरूसँग छलफल गर्दै छौँ," श्रेष्ठले भने।
प्रेस काउन्सिललाई सञ्चार माध्यमको अनुगमन, मूल्याङ्कन गरी मर्यादित तथा जिम्मेवार बनाउने महत्त्वपूर्ण भूमिका प्राप्त छ।
आत्महत्याका घटनालाई प्रकाशन, प्रसारण गर्दा अपनाउन पर्ने सावधानीबारे विश्व स्वास्थ्य सङ्गठनले पनि केही निर्देशनहरू दिएको छ। त्यसका प्रमुख विषय निम्न छन्:
गर्न नहुने –
- सनसनीपूर्ण हेडलाइन बनाउन नहुने,
- आत्महत्याको तरिका उल्लेख गर्न नहुने,
- घटनास्थलको वर्णन गर्न नहुने,
- 'सुसाइड नोट'को विवरण खुलाउन नहुने,
- आत्महत्याको कारणलाई कुनै एउटै मात्रै वा सरलीकृत गर्न नहुने,
- फोटो, भिडिओ, अडिओको प्रयोग तथा सामाजिक सञ्जालका लिङ्क राख्न नहुने,
- आत्महत्याको समाचारलाई प्रमुखताका साथ प्रस्तुत गर्न तथा अनावश्यक दोहोर्याउन नहुने,
गर्न हुने –
- आत्महत्याको सोचबाट जोगिन तथा रोकथामको उपायबारे उपलब्ध सहयोगबारे जानकारी दिने,
- सेलिब्रिटी आत्महत्याबारे थप संवेदनशील हुने,
- आत्महत्या रोकथामबारे जनचेतना जगाउने,
- जीवनका तनावसँग झेल्ने उपायबारे सामग्री दिने,
- पीडित परिवारसँग कुरा गर्दा संवेदनशील हुने,
- सञ्चारकर्मी स्वयं पनि प्रभावित हुन सक्ने बारे जानकार रहने,
आम सञ्चारमाध्यमका अतिरिक्त सामाजिक सञ्जालमा पनि माथिकै नियमहरू लागु हुने मनोचिकित्सकहरू बताउँछन्।
"यस्ता घटनाको दृश्य राख्ने वा लाइक, शेअर, कमेन्ट गर्न हुँदैन। कतिले जानाजान कतिले अन्जानमा त्यस्तो गरिरहेको हुन सक्छ। आफूले गरेको सानो कामले अरूलाई असर पर्न सक्छ है भनेर ध्यान पुर्याउनु पर्छ। आत्महत्यासँग जुझ्ने हो भने समाजका सबै मानिसको सहयोग आवश्यक पर्छ। सबै जिम्मेवार हुनु पर्छ," डा खनालले भने।
"भ्युज आउँछ भनेर जथाभाबी पोस्ट गर्नु हुँदैन।"
सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुधवार आफ्ना सदस्यहरूलाई आत्महत्या र आत्मदाहका घटना, समाचार वा जानकारी शेअर नगर्न अनुरोध गरेको विवरण आएका छन्।
सहयोग उपलब्ध छ
नेपालमा आत्महत्या गर्नबाट रोक्न र मनोपरामर्श दिन पैसा नपर्ने हेल्पलाइन सञ्चालनमा छ।
आत्महत्या रोकथाम हटलाइन सेवाका निम्ति ११६६ मा फोन गरेर मनोपरामर्श लिन सकिन्छ।
"आत्महत्याको सोच कसैको मनमा आउँछ भने सबभन्दा पहिला मनोचिकित्सकलाई भेट्नु पर्छ। यदि त्यो सम्भव नभए हेल्पलाइनमा फोन गरेर पनि मनोपरामर्श लिन सकिन्छ," डा खनालले बताए।
उक्त हेल्पलाइन २४ घण्टा नै खुला रहने उनले बताए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।