तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अश्लील सामग्री हेर्ने कुलतको उपचार गराएका ओलिम्पिक खेलाडी
- Author, माया डेभिस, स्मिता मुन्डासद र अन्ना क्रस्ले
- Published
- पढ्ने समय: ५ मिनेट
भूतपूर्व ब्रिटिश ओलिम्पिक डाइभर फ्रेडी वुडवर्डले किशोरावस्थामै आफू 'पोर्न' अर्थात् अश्लील सामग्री हेर्ने कुलतमा फसेको महसुस गरे।
"केही कुरा अध्ययन गरौँ भनेर बस्नेबित्तिकै मलाई ती वेबसाइटहरू खोल्ने चाहना भइहाल्थ्यो," उनले सुनाए।
उनका अनुसार १२ वर्षको उमेरमै उनले नियमित रूपमा अश्लील सामग्री पाइने वेबसाइटहरू हेर्न थाले।
उनले व्यावसायिक जीवन सुरु गरेर ओलिम्पिकमा आफ्नो देशको प्रतिनिधित्व गर्दासम्म पनि दिनमा कैयौँ पटक वयस्क सामग्री हेर्ने गर्थे।
अहिले ३० वर्ष पुगेका यी ओलिम्पिक खेलाडीले आफ्नो मन परिवर्तन गरेर अन्ततः यो बानीबाट छुटकारा पाएको बीबीसीसँग बताएका छन्।
"तपाईँले यो कुरा छोड्न खोज्ने प्रयास गर्नुभयो भने त्यो काम गर्न तपाईँ सक्नुहुन्छ। तपाईँले आफूलाई पोर्न हेर्दै नहेर्ने व्यक्तिका रूपमा लिन थाल्नुपर्छ। त्यसका लागि धेरै नै बल गर्नुपर्छ," उनले भने।
एकमतको अभाव
त्यसो भए वयस्क सामग्री हेर्ने बानी नियन्त्रणभन्दा बाहिर गएको कुरा कसरी थाहा हुन्छ अनि यसको सामना कसरी गर्ने?
"धेरै मानिसहरूलाई पोर्नसम्बन्धी समस्या छ भनेर हामीलाई थाहा छ," यौनक्रिया र सम्बन्धबारे विशेषज्ञ मनोचिकित्सक सिल्भा नेभेस भन्छन्। आफ्नो निजी क्लिनिकमा पनि यस्तो समस्या भएका मानिसहरू आउने क्रम बढेको उनको अनुभव छ।
विज्ञहरू चाहिँ यसलाई लागुऔषधजस्तो "लत" कै रूपमा लिने वा नलिनेमा एकमत छैनन्। यसको समाधानको तरिकाबारे पनि उनीहरूबीच मतैक्य छैन।
अस्ट्रेलियाको मोनाश विश्वविद्यालयका अनुसन्धानकर्ता क्याम्प्बेल इन्सका अनुसार धेरैजसो डाक्टरहरू 'समस्या हुने हदसम्म' मानिसहरूले पोर्न हेर्ने गरेको कुरामा चाहिँ सहमत छन्।
तर यसको स्पष्ट लक्षण के हो र उपचार के हुन्छ भन्ने कुनै परिभाषा छैन।
केही विज्ञहरू यसलाई विश्व स्वास्थ्य सङ्गठनले परिभाषित गरेको 'कम्पल्सिभ सेक्सुअल बिहेभ्यर डिसअर्डर' का रूपमा हेर्ने गर्छन्।
यौन र पोर्नको लत छुटाउने एक केन्द्रमा काम गर्ने साइकोथेरपिस्ट डा. पाउला हल व्यक्तिको यौन व्यवहार उसको नियन्त्रणमा नरहेको महसुस हुने र उसले त्यसलाई नियन्त्रण गर्न बारम्बार प्रयास गर्दा पनि नसकेका कारण तनाव हुन सक्ने बताउँछिन्।
'छुटकारा पाउने उपाय मलाई थाहा छैन'
त्यसो भए हानिकारक बानी कसरी पहिचान गर्ने?
नेभेसका अनुसार तपाईँले 'कति पटक वा कति लामो समय हेर्नुहुन्छ' भन्ने कुराले भन्दा 'यसले तपाईँको जीवनलाई गरिरहेको हानि' ले यो कति हानिकारक छ भन्ने बताउँछ।
उनका अनुसार रातभरि पोर्न हेरेर कार्यालयमा ढिला पुग्ने, आफ्ना प्रियजनहरूप्रतिका वाचा वा जिम्मेवारीभन्दा यसलाई बढी प्राथमिकता दिने र कार्यालयमा पनि हेर्नेजस्ता बानीले तपाईँको जीवनमा हानि पुर्याउँछन्।
पोर्नको समस्याबारे अनुसन्धानकर्ता इन्स यो बानी कम गर्न र त्याग्न सकिने वा नसकिनेबारे आफैँलाई प्रश्न गर्न सुझाउँछन्।
क्रेग आफैँ पनि यस्तो कुलतबाट मुक्त भएको व्यक्ति भएको बताउँछन्। उनको यो लत कोभिड महामारीको समयमा नियन्त्रणबाहिर पुगेको थियो। त्यतिबेला उनको उमेर ३० भन्दा केही बढी थियो।
"लकडाउनअघि यो कुरा मेरा लागि ठूलो समस्या थिएन। तर लकडाउनमा बढेको दबाव र एक्लोपनले समस्यालाई झनै बढायो," उनी सुनाउँछन्। "यो बानीबाट कसरी छुटकारा पाउने भन्ने पनि मलाई थाहा थिएन।"
धेरै मानिसहरूले पोर्न हेर्ने बानी हुँदा यसकै कारण भन्दा पनि सामाजिक, नैतिक वा धार्मिक मान्यताका कारण असहजता महसुस गर्न सक्ने इन्स बताउँछन्।
"हप्तामा तीन वा पाँच मिनेट हेर्ने मान्छेले लाज मानेर आफूलाई लत बसेको ठान्न पनि सक्छ," नेभेस भन्छन्। "हरेक दिन हेर्ने मानिसले यसमा कुनै समस्या छैन भन्ने ठान्न पनि सक्छ।"
आफूसँग परामर्श लिन आउनेहरूलाई हलले त्यसको तलमा परेको भन्ने मानसिकताबाट बाहिर निस्कन सुझाव दिने गरेकी छिन्। यसको सट्टा अध्ययन, काम, सम्बन्ध र जीवनका अन्य पक्षमा परेको असरबारे हेर्न उनको सुझाव छ।
टीभी प्रस्तोता ओर ओडूबाले आफ्नो ३० वर्ष लामो पोर्नको लतबारे गत वर्ष सार्वजनिक रूपमा बोलेका थिए। उनका अनुसार नौ वर्षको उमेरदेखि सुरु भएको लतले उनको "जिन्दगीलाई भित्रैबाट बर्बाद पारिरहेको थियो।"
"सानै उमेरदेखि धेरै तनाव वा आघातका कारण म यसतर्फ आकर्षित भइरहेको थिएँ," उनले यो बानी हटाउनुअघि गत वर्ष 'वी निड टू टक' पड्कास्टमा भनेका थिए।
के कारणले यस्तो लत बस्छ भन्ने स्पष्ट भइनसकेको विशेषज्ञहरू बताउँछन्। यसबारे धेरै अनुसन्धानको आवश्यकता रहेको उनीहरू ठान्छन्।
"वैज्ञानिक परीक्षण तीव्र भइरहेको छ, तर अझै धेरै लामो यात्रा तय गर्न बाँकी छ," इन्स भन्छन्।
तपाईँको जीवनका अन्य समस्याहरू, जस्तै तनावपूर्ण व्यावसायिक जीवन वा वैवाहिक सम्बन्धमा आएको समस्याबाट केही समयको लागि राहत दिने माध्यमका रूपमा पनि यो सुरु हुन सक्ने हल बताउँछिन्।
त्यहाँ केही "पूर्वनिर्धारित कारकहरू" पनि हुन सक्छन्, जस्तै विगतका आघात, बाल्यकालका समस्याहरू, वा नकारात्मक आत्मविश्वास, जसले तपाईँलाई यसको प्रयोग रोक्न अझ गाह्रो बनाउन सक्छ, उनी भन्छिन्।
अहिले ४० वर्षका पुगेका क्रेगका अनुसार पोर्न उनको जीवनका "हरेक उतारचढावमा प्रयोग गरिने एउटा साधन" बनेको थियो।
उपचारको प्रक्रियाले उनलाई फरक तरिकाले सोच्न मद्दत गर्नुअघि उनले "यसबाट बाहिर निस्कने कुनै बाटो नभएको" महसुस गरेको सम्झन्छन्।
डिजिटल वातावरणको प्रभाव र एल्गरिदमहरूका कारण मानिसहरू "डिजाइनकै कारण यसको लतमा पर्दै गएको" हल औँल्याउँछिन्।
हल र नेभेस दुवै जना एआईद्वारा निर्मित पोर्नले मानिसहरूलाई "ठ्याक्कै उनीहरूको चाहना र आवश्यकताअनुसार" सामग्री बनाएर स्थिति अझै खराब बनाएको महसुस गर्छन्।
कारणहरू बुझ्नु महत्त्वपूर्ण
यदि तपाईँ पोर्न हेर्ने आफ्नो बानीलाई लिएर चिन्तित हुनुहुन्छ भने योग्य र अनुभवी विशेषज्ञबाट सहयोग लिन इन्स सुझाव दिन्छन्।
दर्ता भएका मनोचिकित्सकहरूको सुझाव लिन उपयुक्त हुने उनको सिफारिस छ। उनीहरूले तपाईँको मानसिक स्वास्थ्यलाई अझ व्यापक रूपमा विचार गर्न सक्ने इन्स ठान्छन्। यससँगै आउने अन्य मानसिक स्वास्थ्य समस्याहरू अपवादको रूपमा नभई सामान्य नियमजस्तै हुने उनले बताए।
क्रेगले पनि आफ्नो मानसिक स्वास्थ्यका लागि थेरपी सुरु नगरेसम्म पोर्न हेर्ने आफ्नो लत हानिकारक हुन सक्छ भन्ने महसुस गरेका थिएनन्।
"पोर्नको लतले पनि त्यसमा सहयोग पुर्याएको थियो," उनले पछि थाहा पाए।
उनका थेरापिस्टले उनलाई १२ चरणको कार्यक्रममा सहभागी हुन सुझाव दिए। त्यसबाट आफ्नो स्वास्थ्य सुधार भएको क्रेग ठान्छन्।
"यो लतबाट टाढिन मलाई सजिलो भयो नै त म भन्दिनँ। तर म अहिले राम्रो अवस्थामा छु भन्ने महसुस गर्छु र मलाई महसुस भएको छ कि यो क्रमशः भएको सुधार हो।"
केही चिकित्सकहरूले मानिसहरूलाई पोर्न पूर्ण रूपमा छाड्न सुझाव दिने गरेका छन् भने अरू कतिपयले यसलाई "व्यावहारिक हुने गरी जीवनमा समायोजन गर्न" सहयोग गर्ने गरेका छन् नेभेस भन्छन्।
यसको उपचारका लागि लतपछाडिका आधारभूत कारकहरूलाई बुझ्न खोज्नु महत्त्वपूर्ण हुने साइकोथेरपिस्ट हल बताउँछिन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।