धादिङमा ६.१ म्याग्निट्यूडको भुइँचालो, 'गोरखा भूकम्पकै परकम्प'

भूकम्पपछि आत्तिएकी महिला

तस्बिर स्रोत, Krishna Kapri

Published

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निट्यूडको भूकम्प गएको जनाएको छ।

आइतवार बिहान ७ बजेर ३९ मिनेटमा गएको भूकम्पको केन्द्रबिन्दु धादिङको खारी रहेको खानी तथा भूगर्भ विभागकी प्रवक्ता प्रवक्ता मोनिका झाले जानकारी दिइन्।

आठ वर्ष अघि गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएको विनाशकारी भूकम्पले ती परकम्प निम्त्याएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

"यसको ढाँचा हेर्दाखेरि गोरखा भूकम्पकै परकम्प हो" प्रवक्ता झाले बीबीसी न्यूज नेपालीसँग भनिन्।

आइतवारको परकम्पबाट घरहरू चर्किएको र पहिरो गएको स्थानीय अधिकारी र जनप्रतिनिधिहरूले जानकारी दिएका छन्।

स्थानीयवासी घर बाहिर

भूकम्प

तस्बिर स्रोत, Krishna Kapri

धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले भूकम्पबाट माटोका घरहरू चर्किएको, रुखहरू ढलेको र केही स्थानमा पहिरो गएको बताए।

"मानवीय क्षति भएको कुरा आएको छैन। हामीले केन्द्रबिन्दु रहेको इलाकामा थप जानकारी लिन प्रहरी पठाइसकेका छौँ," उनले भने।

भूकम्पको केन्द्रबिन्दु रहेको खारा क्षेत्र बुढिगण्डकी नदी छेउमा गोरखासँगको सिमानामा पर्छ।

बुढिगण्डकी जलविद्युत् आयोजनाको जलाशय निर्माणका लागि अधिग्रहण गरिएको क्षेत्रमा कैयौँ पुराना घरहरू रहेको र त्यस्ता घरहरू भत्किएको ज्वालामुखी गाउँपालिका ५ का वडाध्यक्ष टंक काप्रीले जानकारी दिए।

"खारीको तल्लो भाग जलाशयको डुबान क्षेत्रमा पर्ने भएकाले यहाँ पक्की घरहरू थिइनन्। कच्ची घरहरूमा क्षति पुगेको छ। दशैँ मनाउने तयारीमा रहेका मानिसहरू त्रासले घर बाहिरै छन्," उनले भने।

त्यहि वडाका पूर्व वडाध्यक्ष कृष्ण काप्रीले बारम्बार परकम्प गइरहेका कारण यहाँका मानिसहरू घर बाहिरै रहेको बताए।

ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष धर्म बहादुर अर्यालले हालसम्म मानवीय क्षति भएको जानकारी नआएको बताए।

कति घर भत्किए?

सरकारी समाचार संस्था राष्ट्रिय समाचार समिति राससले ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएको जनाएको छ।

राससका अनुसार उक्त क्षेत्रमा ७५ वटा घर चर्किएका छन्। भूकम्पबाट भएको क्षतिको विवरण आउने क्रम जारी रहेको अधिकारीहरूको भनाइ छ।

त्यस क्षेत्रमा ६.१ म्याग्निट्यूडको पहिलो भूकम्पपछि पनि ४ म्याग्निट्यूड माथिका परकम्पहरू गएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरुको विस्तृत विवरण सङ्कलन जारी रहेको बताए।

गोरखा आसपास किन भूकम्प गइराख्छ?

भूकम्प

तस्बिर स्रोत, Krishna Kapri

करिब ४ करोड वर्षअघि इन्डियन र युरेसियन प्लेटहरू ठोक्किएर बनेको हिमालय पर्वतमालाहरू अवस्थित नेपालका लागि भूकम्प नौलौ होइन।

सन् २०१५ मा गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर सात दशमलब ६ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको थियो।

त्यसपछि उक्त क्षेत्रमा हालसम्म करिब ५० हजार भूकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् लोकविजय अधिकारी बताउँछन्।

ती मध्ये अधिकांश परकम्प रहेको उल्लेख गर्दै उनले यसअघि बीबीसीसँग भनेका थिए, “गोरखा भूकम्पको शुरूदेखि नै र त्यो भन्दा अघि पनि यो क्षेत्रमा बढी भूकम्प जाने गर्छ। त्यहाँको भौगर्भिक अवस्था र त्यहाँ जमिन मुनी पूर्वदेखि पश्चिमसम्म इण्डियन प्लेटहरू उत्तरतर्फ सरिरहेको अवस्था छ। गोरखा भूकम्प पश्चिममा शुरू भएर त्यसको ‘रप्चर’ पूर्वतर्फ गयो त्यही भएर बढी गतिविधि पश्चिममा भन्दा पूर्वतर्फ नै भयो र भइरहेको छ।”

भूकम्पका कारण जमिन मुनी चिरा परेका चट्टानहरू सर्दै सर्दै तरङ्गका रूपमा फैलिएर जान्छन्। त्यसबाट सिर्जना भएको शक्ति परकम्पका माध्यमबाट बाहिरिने गरेको भूर्गविद्हरू बताउँछन्।

गोरखाबाट पूर्वतर्फ सरेको उक्त भूकम्पीय गतिविधिका कारण हाल सिन्धुपाल्चोक, दोलखा लगायत अति प्रभावित कतिपय जिल्लामा निरन्तर परकम्पहरू गइरहेको भूकम्पविद् अधिकारीले बताए।

उनले भने, “गोरखा भूकम्पपछि लगभग ५० हजार भूकम्पहरू अभिलेखिकरण भए त्यसमध्ये अधिकांश परकम्प हुन्। गोरखाबाट लगभग एक सय ५० किलोमिटर पूर्व पश्चिम र लगभग ६० किलोमिटर उत्तर दक्षिणतर्फ आएका भूकम्पलाई हामीले परकम्प भन्ने गरेका छौँ।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।