उत्तर कोरियाले देशनिकाला गरेका सैनिक अमेरिकी हिरासतमा

ट्राभिस किङ

तस्बिर स्रोत, Reuters

Published

दक्षिण कोरियाबाट भागेर उत्तर कोरिया पुगेपछि पक्राउ परेका अमेरिकी सैनिक ट्राभिस किङ देश निकाला पछि अमेरिकी हिरासतमा रहेको प्योङयाङका अधिकारीहरूले बताएका छन्।

एक अमेरिकी सैन्य अखडामा लैजानुअघि उनलाई चीनमा अमेरिकी हिरासतमा लिइएको थियो।

२३ वर्षका ती निगरानी सम्बन्धी विशेषज्ञ गएको जुलाईमा गैर कानुनी रूपमा उत्तर कोरियामा प्रवेश गरेका थिए।

एक जना वरिष्ठ अधिकारीले महिनौँको ‘गम्भीर कूटनीतिक’ प्रयासपछि उनी अमेरिका फर्किएको र उनले आफ्नो परिवारसँग कुराकानी गरेको बताए।

ती अधिकारीले भने, “किङ घर आउन लागेकोमा खुसी रहेको हामी पुष्टि गर्न सक्छौँ र उनी आफ्नो परिवारलाई भेट्न तत्पर छन्।”

उनले आफूहरूले ती सैनिकहरूलाई उपयुक्त पुनर्स्थापना प्रक्रिया अन्तर्गत कुनै स्वास्थ्य वा भावनात्मक समस्याहरूको सम्बोधन गर्न मद्दत गर्ने बताए।

किङ अमेरिकाले दक्षिण कोरियामा खटाएका २८,५०० सैनिकमध्ये एक थिए। अमेरिकी र दक्षिण कोरियाली अधिकारीहरूले उनले नियोजित रूपमै सीमा पार गरेको त्यस बेला बताएका थिए।

उत्तर कोरियातिर भागेका किङलाई दक्षिण कोरियाबाट अमेरिका फिर्ता पठाउन लागिएको थियो।

झगडा गरेका कारण यसअघि नै उनी अनुशासनको कारबाहीमा परेका थिए।

किन भागे ट्राभिस किङ?

उत्तर दक्षिण कोरिया सीमा

उत्तर कोरियाले २३ वर्षका यी अमेरिकी सैनिकलाई नियन्त्रणमा लिइएको स्वीकार गरेलगत्तै उनलाई रिहा गर्न लागिएको विवरण सार्वजनिक भएको हो।

उत्तर कोरियाली सरकारी समाचारसंस्था केएनसीएका अनुसार उनले “अमेरिकी सेनामा भएको अमानवीय व्यवहार, रङ्गभेदबारे समानुभूतिको अभाव र अमेरिकाको असमान समाजबारेको मोहभङ्गका कारण” आफू गैरकानुनी रूपमा उत्तर कोरिया प्रवेश गरेको स्वीकार गरेका थिए।

“जनगणतन्त्र कोरियाको सम्बन्धित निकायले देशको कानुनअनुसार गैरकानुनी रूपमा प्रवेश गरेका अमेरिकी सैनिक ट्राभिस किङलाई देशनिकाला गर्ने निर्णय गरेको छ,” केएनसीएले भनेको छ।

अमेरिकी फौजमा रहेका किङले उत्तर कोरियामा “शरण लिने इच्छा व्यक्त गरेको” त्यहाँको सरकार नियन्त्रित सञ्चारमाध्यमले यसअघि जनाएको थियो।

को हुन् ट्राभिस किङ?

इम्जिन नदीमाथि असैनिकीकृत क्षेत्रमा रहेको द "फ्रीडम ब्रिज" उत्तर र दक्षिण कोरिया जोड्ने एउटा मात्रै पुल हो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, इम्जिन नदीमाथि असैनिकीकृत क्षेत्रमा रहेको द "फ्रीडम ब्रिज" उत्तर र दक्षिण कोरिया जोड्ने एउटा मात्रै पुल हो

पेन्टागनले ती सैनिकलाई प्राइभेट सेकेन्ड क्लास सैनिकको रूपमा चिनाएको थियो र उनी सन् २०२१ को ज्यानुअरीदेखि सेनामा छन्।

यी घोडसवार सेना सुरुमा दक्षिण कोरियामा अमेरिकी सेनाको पहिलो बख्तरबन्द सम्बन्धी विभागको एक इकाईमा खटाइएका रणनीतिक विशेषता वा लक्ष्य पत्ता लगाउन सैन्य अवलोकन गर्ने विशेषज्ञ थिए।

दक्षिण कोरियामा हातपातको आरोप लागेपछि उनीमाथि कारबाही भइरहेको थियो। सीमा पार गर्नुअघिका दुई महिना उनले हिरासतमा बिताएका थिए र जुलाई १० मा रिहा भएका थिए।

उनी अनुशासनसम्बन्धी कारबाहीको सामना गर्न अमेरिका फर्कने तालिका थियो तर उनी विमानस्थलबाट फर्किएर उत्तर र दक्षिण कोरियालाई विभाजन गर्ने डिमिलिटाइज्ड जोन (डीएमजेड) को भ्रमणमा सामेल हुन सफल भए।

“उनले असमान अमेरिकी समाजबाट आफू निराश भएको जनाउँदै उत्तर कोरिया वा अन्य तेस्रो मुलुकमा शरणार्थीको रूपमा बस्ने इच्छा व्यक्त गरेका थिए," केएनसीएले यसअघि भनेको थियो।

उत्तर कोरिया कथित कम्युनिस्ट शासनमा रहेका थोरै देशहरूमध्ये एक हो र लामो समयदेखि अत्यन्त गोप्य र अलग्गिएको देशको रूपमा रहेको छ। किम जङ अनको नेतृत्वमा रहेको त्यहाँको सरकारमाथि पनि सुनियोजित मानव अधिकार उल्लङ्घनको आरोप लाग्दै आएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।