फिफा अध्यक्षले 'फुटबल बेच्ने' प्रस्ताव किन ल्याए, किन फिर्ता लिए

फिफा अध्यक्ष जानी इन्फन्टीनो

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, जानी इन्फन्टीनो सन् २०१६ यता फिफाका अध्यक्ष छन्
    • Author, प्याट्रिक ज्याक्सन
    • Role, बीबीसी स्पोर्ट
    • Author, सिमोन स्टोन
    • Role, प्रमुख फुटबल समाचार संवाददाता
  • Published
  • पढ्ने समय: ६ मिनेट

फिफा अध्यक्ष जानी इन्फन्टीनोले निजी लगानीकर्तालाई आफ्ना प्रतियोगिताहरूको हिस्सेदारी बिक्री गर्ने योजना खारेज गरिएको बताएका छन्।

इन्फन्टीनोले प्रस्तावित परियोजनाले विभाजन सिर्जना गरेको र यो विभाजन वास्तविक उद्देश्यको हितमा नदेखिएको बताएका छन्। "परिणामतः यो प्रस्ताव अब अघि बढ्दैन," उनले भनेका छन्।

यसअघि उक्त योजनाको व्यापक विरोध भएको थियो। विरोध पछि फिफाले "कसैले पनि फुटबल नबेचिरहेको" भन्दै स्पष्टीकरण दिएको थियो।

युरोपेली फुटबलको सर्वोच्च नियामक निकाय यूईएफएले बिहीवार उक्त योजना अघि बढाइएमा विश्वकपका प्रतियोगिताहरू बहिष्कार गर्ने निर्णय गरेको थियो।

यो वर्षको विश्वकप आयोजना गरेको उत्तर तथा मध्यअमेरिकाको फुटबल निकाय कोन्काकाफले आफ्ना ४१ सदस्य सङ्गठनहरूले पनि फिफाका अध्यक्ष इन्फन्टीनोले प्रस्तुत गरेको प्रस्ताव "अस्वीकार" गरेको जनाएको थियो।

फिफाले विश्व फुटबलको सञ्चालन तथा नियमन गर्छ।

अध्यक्ष इन्फन्टीनोको प्रस्ताव पारित हुन फिफाका २११ सदस्यमध्ये कम्तीमा १०६ सदस्य सङ्गठनहरूको समर्थन आवश्यक पर्थ्यो । यूईएफए र कोन्काकाफका सदस्य सङ्गठनहरूको संयुक्त मत सङ्ख्या ९६ रहेको छ।

शुक्रवार जारी गरिएको एउटा विज्ञप्तिमा फिफाले परामर्श प्रक्रिया "गलत सञ्चारमाध्यमका समाचारहरूका कारण अवरुद्ध भएको" जनाएको थियो।

विज्ञप्तिमा भनिएको थियो, "हामी सार्वजनिक रूपमा व्यक्त गरिएका सुझाव र चिन्ताहरूको सम्मान गर्छौँ र खुला तथा प्रजातान्त्रिक परामर्श प्रक्रियाप्रति आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्छौँ।"

"कसैले पनि फुटबल बेचिरहेको छैन। फिफाले यस्तो कुरा कहिल्यै स्वीकार गर्ने वा विचार गर्ने छैन।"

तर इन्फन्टीनोका एक वरिष्ठ सल्लाहकारले यस योजनाको विरोध गर्दै राजीनामा दिएका थिए। कार्लोस कोर्डेरूले यसलाई फुटबलका लागि खराब सम्झौता भएको बताएका छन्।

उनले फिफासँग अर्बौं डलर नगद मौज्दात हुँदाहुँदै यसको सबैभन्दा मूल्यवान् हिस्सा किन बेच्नुपरेको हो भन्ने प्रश्न उठाएका छन्।

इन्फन्टीनोका योजना

फिफाले विश्वकपसहित आफ्ना प्रमुख प्रतियोगिताहरू सञ्चालन गर्न एउटा व्यावसायिक सहायक कम्पनी स्थापना गर्न चाहेको थियो। जसमा बाह्य लगानीकर्ताहरूले पनि हिस्सेदारी खरिद गर्न सक्ने बताइएको थियो।

फिफाले नयाँ सहायक कम्पनी फिफा फर्वर्ड इन्टर्प्राइज (एफएफई) मा "तेस्रो पक्षलाई सानो हिस्सामा तथा नियन्त्रण अधिकार नहुने लगानी गर्न आमन्त्रित गरिने" जनाएको थियो।

शुक्रवार फिफाले एफएफईको प्रस्ताव "फिफाका सबै सदस्य सङ्गठनहरूले आफ्नाआफ्ना देशमा फुटबलसँग सम्बन्धित व्यावसायिक अवसरमा अर्थपूर्ण स्वामित्व हासिल गर्न सकून् भन्ने उद्देश्यले" ल्याइएको स्पष्ट पारेको थियो।

"यसले फिफा वा फुटबलको भावना तथा यसको सुशासनमा कुनै असर पार्ने छैन," फिफाको भनाइ थियो।

तर, यूईएफएले भने फिफामाथि फुटबललाई "आफू र आफ्ना निकटवर्तीहरूलाई धनी बनाउन प्रयोग गरेको" आरोप लगाएको थियो।

यसअघि फिफाका अध्यक्ष इन्फन्टीनोले सदस्य सङ्घहरूलाई पत्र लेख्दै आफ्नो विवादास्पद प्रस्तावलाई समर्थन गरे प्रत्येक सङ्गठनले ४ करोड अमेरिकी डलर प्राप्त गर्ने बताएका थिए। साथै, प्रारम्भिक चरणमा २ करोड अमेरिकी डलर प्राप्त गर्न चाहने महासङ्घहरूले सेप्टेम्बर १९ तारिखभित्र उनका योजनाहरू स्वीकार गर्नुपर्ने समयसीमा पनि तोकेका थिए।

यदि प्रस्ताव स्वीकृत भयो भने फिफाका अनुसार थ्राइभ इटर्नलले एफएफईका लागि प्रस्तावित लगानीकर्ता समूहको नेतृत्व गर्ने अपेक्षा गरिएको थियो।

थ्राइभ अमेरिकामा रहेको एउटा 'भेन्चर क्यापिटल' कम्पनी हो। यसको स्थापना जोशुआ कूश्नरले गरेका हुन्। उनी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका ज्वाइँ ज्यारेड कूश्नरका भाइ हुन्।

यूईएफए र कोन्काकाफले के भने?

यूईएफए र कोन्काकाफले इन्फन्टीनोको योजनाको सबैभन्दा कडा विरोध गरेका थिए।

"विश्वकपलाई लगानीको वस्तुका रूपमा व्यवहार गर्न सकिँदैन," यूईएफएले बिहीवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

"यो फुटबलको सबैभन्दा महान् खेल सम्पदामध्ये एक हो। यसलाई विश्वभरिका खेलाडी, राष्ट्रिय टोली र समर्थकहरूले पुस्तौँदेखि निर्माण गर्दै आएका छन्।

"यसको कुनै पनि अंशलाई निजी लगानीकर्तालाई समर्पण गरिदिन हुँदैन। विश्वकप बिक्रीका लागि होइन।

"यो केवल नेतृत्वको गम्भीर विफलता मात्रै होइन, विश्व फुटबलको संरक्षकका रूपमा फिफाले आफ्नो जिम्मेवारी त्यागेको उदाहरण पनि हो।"

कोन्काकाफले "प्रस्ताव अघि बढाउने प्रक्रियामा आवश्यक कानुनी तथा संस्थागत प्रक्रिया नअपनाइएको" र "अस्वाभाविक रूपमा निकै छोटो समयसीमा तोकिएको" विषयमा आफ्ना सदस्यहरूले गहिरो चिन्ता व्यक्त गरेको जनाएको थियो।

एशियाली फुटबल महासङ्घ (एएफसी) ले "फिफाका एकतर्फी कदमहरूले महादेशीय फुटबलको आधारभूत संरचनामा नै असर पुर्‍याउने देखिएको" भन्दै आफू गम्भीर रूपमा चिन्तित रहेको जनाएको थियो।

दक्षिण अमेरिकी फुटबल महासङ्घ कोन्मेबोलले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिनुघि नै फिफा आफ्नो योजनाबाट पछि हटेको हो।

अफ्रिकी फुटबल निकाय सीएएफ र ओशियाना क्षेत्रको फुटबल निकाय ओएफसीले फिफाको योजनाबारे अगस्टमा छलफल गर्ने बताएका थिए।

अब के हुन्छ?

पोल्यान्डमा सेप्टेम्बर ५ देखि सुरु हुने फिफा यू२० महिला विश्वकपमा युरोपका धेरै देशहरूको सहभागिता रहने छ। त्यसमा फिपाको प्रस्तावले पार्ने प्रभावबारेको प्रश्नमा युरोपेली फुटबलका एक उच्च स्रोतले भन्यो, "समग्र नीति तय गर्दा यसको विस्तृत पक्षबारे पर्याप्त विचार गरिएको जस्तो लाग्दैन।"

इन्फन्टीनोको लगानीसम्बन्धी प्रस्ताव अघि बढाएका भए यूईएफएले दिएको विश्वकप बहिष्कारको चेतावनी कार्यान्वयनमा आउने ठानिएको थियो।

इन्फन्टीनो सन् २०१६ मा एशियाली फुटबल महासङ्घका तत्कालीन अध्यक्ष शेख सलमान अल–खालिफालाई ११५–८८ मतले पराजित गर्दै फिफाको अध्यक्ष बनेका थिए। यी ५६ वर्षीय स्विस अधिकारी आगामी मार्चमा चौथो कार्यकालका लागि पुनः उम्मेदवारी दिने तयारीमा छन्।

यस साताभन्दा अगाडिसम्म उनी सन् २०२७ मा निर्विरोध पुनः निर्वाचित हुने अपेक्षा गरिएको थियो। युरोपका केही देशसहित विश्वभरका विभिन्न फुटबल सङ्गठनहरूले उनलाई समर्थन गर्ने आफ्नो अभिप्राय सार्वजनिक गरिसकेका छन्।

तर स्रोतहरूका अनुसार इन्फन्टीको प्रस्ताव अस्वीकार गर्नुका साथै कोन्काकाफका अधिकांश सदस्य सङ्घहरूले फिफा अध्यक्षका रूपमा खेल सञ्चालन गर्ने उनको क्षमतामाथिको विश्वास गुमाउँदै गएका छन् वा कतिपयले त्यो विश्वास पूर्ण रूपमा गुमाइसकेका छन्।

उनी सन् २०१९ र सन् २०२३ मा निर्विरोध पुनर्निर्वाचित भएका थिए।

'साना' देशहरूलाई थप सहायता चाहिन्छ?

यूईएफएका सदस्य राष्ट्रहरू विश्वका सबैभन्दा सम्पन्न भए पनि अन्य धेरै देशहरू भने आधारभूत फुटबल पूर्वाधार निर्माणका लागि फिफाको आर्थिक सहयोगमा निर्भर छन्।

इङ्ग्ल्यान्ड फुटबल सङ्गठनका भूतपूर्व प्रमुख कार्यकारी अधिकृत मार्क पालिओसले बीबीसी ब्रेक्फास्टसँग कुरा गर्दै भने, "साना राष्ट्रहरूको आवश्यकता र आकाङ्क्षा छन् तर प्रभावशाली ठूला राष्ट्रहरू पनि छन्।"

युगान्डा फुटबल महासङ्घका रोजर्स ब्यामुकामाले भने आफ्नाजस्ता राष्ट्रका लागि थप आर्थिक स्रोत जुटाउने कुनै पनि अवसरको खोजी गरिनुपर्ने धारणा राखेका छन्।

उनले बीबीसी वर्ल्ड सर्भिसको न्यूजडे कार्यक्रममा भने, "सबैभन्दा पहिले फुटबल सञ्चालन अत्यन्त महँगो काम हो भन्ने बुझ्नुपर्छ, विशेष गरी अफ्रिकी महादेशमा, जहाँ आवश्यक स्रोतसाधन सहज रूपमा उपलब्ध हुँदैन।"

उनले उदाहरण दिँदै भने, "युगान्डामा विश्वकपबाट प्राप्त आम्दानी फिफाले, विशेष गरी टिकट बिक्री र प्रायोजनबाट आएको रकममार्फत् धेरै पूर्वाधार परियोजनामा लगानी गरेको छ।"

"यसका अतिरिक्त विद्यालयस्तरीय फुटबल कार्यक्रमलगायत तल्लो तहका धेरै कार्यक्रमहरू पनि फिफाको सहयोगमा सञ्चालन भएका छन्।"

"मेरो दृष्टिकोणमा थप स्रोतसाधन ल्याउने कुनै पनि उपाय सकारात्मक हो किनभने ती स्रोतहरू सदस्य राष्ट्रहरूमा वितरण गरिन्छन्। विशेष गरी अफ्रिकी महादेशका देशहरूका लागि विकासलाई थप गति दिने छ।"

'फिफा फर्वर्ड' विकास परियोजनाअन्तर्गत प्रारम्भिक दुई चरणमा सन् २०२२ सम्ममा २११ सदस्य सङ्गठनहरूमा लगानी गर्न कुल २ अर्ब ८० करोड अमेरिकी डलर उपलब्ध गराइएको थियो।

सन् २०२३ देखि २०२६ सम्म सञ्चालन हुने फिफा फर्वर्ड ३.० अन्तर्गत विकास कार्यक्रमको बजेटमा ३० प्रतिशत वृद्धि गरिएको छ।

फिफाले प्रत्येक सदस्य सङ्गठनलाई थप ५० लाख अमेरिकी डलर उपलब्ध गराएको छ। साथै, प्रत्येक महादेशीय महासङ्घलाई आफ्ना परियोजनाका लागि थप ६ करोड अमेरिकी डलर प्रदान गरिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।