'भीएआर' के हो र विश्वकपमा किन यति विवादित छ

गत ७ जुलाईको खेलमा आर्जेन्टिनाको तेस्रो गोलपछि मोहम्मद सलाह (१० नम्बर जर्सीमा) सहित इजिप्टका खेलाडीहरू र रेफरी फ्राँस्वा लुटेक्सिअर (पहेलो जर्सीमा)

तस्बिर स्रोत, Reuters

    • Author, फेर्नान्डो दुआर्ते
    • Role, बीबीसी विश्व सेवा
  • Published
  • पढ्ने समय: ५ मिनेट

यस पटकको फुटबल विश्वकपमा 'भिडिओ असिस्टन्ट रेफरी' (भीएआर) पहिलेदेखि नै चर्चामा थियो तर ७ जुलाईको अन्तिम सोह्रको खेलमा इजिप्टविरुद्ध आर्जेन्टिनाको रोमाञ्चक जितपछि यससम्बन्धी बहस नयाँ उचाइमा पुगेको छ।

खेल सकिन ११ मिनेट बाँकी हुँदासम्म इजिप्ट २–० ले अगाडि थियो। त्यसपछि लिओनेल मेस्सीको नेतृत्वमा आर्जेन्टिनाले लगातार तीन गोल गर्दै खेल आफ्नो पक्षमा पार्‍यो। आफ्नो एउटा गोल रद्द गरिएको तथा अन्तिम समयमा पेनल्टीको माग गर्दा भीएआर समीक्षा नगरिएको भन्दै इजिप्टको टोली निकै आक्रोशित बन्यो।

"सायद उनीहरू विश्वविजेता [आर्जेन्टिना] लाई प्रतियोगितामा टिकाइराख्न चाहन्थे। सायद उनीहरू मेस्सीलाई उपाधिको होडमा कायम राखिराख्न चाहन्थे," खेलपछि इजिप्टका व्यवस्थापक होस्सम हसनले भने।

विशेष गरी इजिप्ट १-० ले अगाडि रहेका बेला खेलको उत्तरार्धमा मोस्तफा जिकोले गरेको गोल रद्द गरिएकामा उनीहरू अत्यन्तै असन्तुष्ट थिए। उक्त गोल हुनुअघिको 'मूभ'मा मिड्फील्डर मारवान आतियाले लिसान्ड्रो मार्टिनेजको खुट्टामा टेकेको भन्दै 'फाउल' दिइएको थियो।

इजिप्टको दाबीचाहिँ आर्जेन्टिनाले निर्णायक गोल गर्नुअघि पेनल्टी क्षेत्रभित्र मोहम्मद सलाहमाथि पनि त्यस्तै प्रकारको 'फाउल' भएको थियो, तर त्यस बेला कुनै 'फाउल' दिइएन।

यी दुवै मामिलामा 'भीएआर'माथि प्रश्न उठ्यो।

'भीएआर' के हो र कसरी काम गर्छ?

मायामी रङ्गशालास्थित स्क्रीनमा समूह चरणको खेलमा पोर्चुगलविरुद्ध कोलम्बियाले गरेको गोल रद्द भएको देखाइँदै

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, निर्णयहरूमा 'भीएआर'को प्रभाव यसपालिको विश्वकपमा चर्चाको विषय बनेको छ

विश्व फुटबलको नियामक संस्था फिफाले औपचारिक रूपमा सन् २०१८ मा 'भिडिओ असिस्टन्ट रेफरी (भीएआर)' प्रणाली लागु गरेको थियो। त्यति बेला फिफाका अध्यक्ष जानी इन्फन्टीनोले यसलाई रेफरीहरूलाई "अझ राम्रो निर्णय लिन" सहयोग गर्ने साधनको रूपमा अर्थ्याएका थिए।

सजिलोसँग भन्नुपर्दा 'भीएआर' भनेको भिडिओ प्रविधिको उपयोगमार्फत् मैदानमा रहेका रेफरी टोलीलाई निर्णय लिन सघाउने प्रणाली हो। त्यो भनेको रेफरीले मैदानमा भएका कुनै महत्त्वपूर्ण घटना देखेनन् वा स्पष्ट हुन सकेनन् र त्यसका कारण कुनै महत्त्वपूर्ण निर्णयमा स्पष्ट त्रुटि भयो भने 'भीएआर' प्रयोग गरिन्छ।

यो प्रविधिले रेफरीलाई विभिन्न क्यामरा कोणबाट भिडिओ हेरेर आफ्नो वा आफ्नो टोलीको तात्कालिक निर्णय सही थियो वा थिएन भन्ने विषयलाई पुनः मूल्याङ्कन गर्ने अवसर दिन्छ।

फिफाका अनुसार हाल विश्वभर ३०० भन्दा बढी प्रतियोगितामा यो प्रविधि उपयोग भएको छ।

खेलमैदानबाट टाढा अवस्थित भिडिओ कक्षमा बसेका अधिकारीहरूले खेलको भिडिओको विश्लेषण गर्छन्। सन् २०२६ विश्वकपमा यस्तो केन्द्र अमेरिकाको ड्यालस सहरस्थित प्रसारण केन्द्रमा राखिएको छ।

यदि आवश्यक ठहरिएमा रेफरीलाई मैदानको छेउमा राखिएको मनिटरमा सम्बन्धित भिडिओ हेर्न भनिन्छ। अन्तिम निर्णय भने उक्त भिडिओ हेरेपछि त्यसको समीक्षाका आधारमा मैदानका रेफरीले नै लिन्छन्।

हरेक किसिमका घटनामा प्रयोग गर्न सकिन्छ?

समूह चरणअन्तर्गत सेनेगलविरुद्धको खेलमा इराकका रेबिन सुलाकालाई रातो कार्ड देखाउनुअघि 'भीएआर' जाँच गर्दै टोरन्टो रङ्गशालामा ब्रिटिस रेफरी एन्टनी टेलर

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, 'भीएआर'मार्फत् निर्णयहरूबारे समीक्षा गर्न रेफरीहरूका लागि मैदानको छेउमा मनिटर राखिएको हुन्छ

सन् २०२६ को विश्वकपअघिसम्म यो प्रविधि केवल चार अवस्थामा प्रयोग गर्न पाइन्थ्यो : गोल, पेनल्टीसम्बन्धी निर्णय, रातो कार्ड दिइएका घटना र खेलाडीको पहिचानबारे झुक्किँदा।

यसपटक फिफाले पाँचौँ अवस्था पनि थपेको छ, जसमा "स्पष्टसँग गलत रूपमा दिइएको कर्नर किक" पनि समावेश गरिएको छ। साथै, दोस्रो पहेँलो कार्डका कारण दिइएको रातो कार्ड स्पष्टसँग गलत भएको अवस्थामा पनि त्यसको समीक्षा गर्न 'भीएआर'को प्रयोग गर्न सकिन्छ।

तर बलले गोललाइन पार गर्‍यो कि गरेन भन्नेचाहिँ 'भीएआर'ले तय गर्दैन। त्यसका लागि छुट्टै गोललाइन प्रविधि प्रयोग गरिन्छ, जसमा बलभित्र रहेको चिपले रेफरीको स्मार्टवाचमा प्रत्यक्ष सूचना पठाउँछ।

विश्वकपमा 'भीएआर' प्रयोग हुन थालेको कति भयो?

'भीएआर' समीक्षापछि फ्रान्सलाई पेनाल्टी दिने क्रममा रेफरी नेस्तर पिटानाको हाउभाउ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, पहिलो पटक यो प्रविधि सन् २०१८ को विश्वकपमा प्रयोग गरिएको थियो

विश्वकपमा 'भीएआर'को प्रयोग पहिलो पटक सन् २०१८ मा रुसमा गरिएको थियो।

उक्त प्रतियोगिताका ६४ खेलमा २० पटक 'भीएआर'को प्रयोग भयो। रेफरीका १७ वटा निर्णय परिवर्तन गरिए, जसमा प्रतियोगिताको महत्त्वपूर्ण फाइनल खेलमा गरिएको निर्णय पनि समावेश थियो।

फ्रान्स र क्रोएशिया १-१ गोलको बराबरीमा रहेका बेला 'भीएआर'को समीक्षापछि रेफरीले आफ्नो प्रारम्भिक निर्णय परिवर्तन गर्दै फ्रान्सलाई पेनल्टी दिए। त्यसबाट गोल गर्दै फ्रान्सले २-१ को अग्रता लियो र अन्ततः ४-२ ले खेल जित्यो।

चार वर्षपछिको कतार विश्वकपमा 'भीएआर'ले २७ पटक निर्णय तय गर्‍यो। तीमध्ये दुइटाबाहेक सबैमा मनिटर हेरेपछि रेफरीले आफ्नो प्रारम्भिक निर्णय बदले।

अहिले के भइरहेको छ?

विश्वकप २०२६ अन्तर्गत अन्तिम सोह्रको चरणमा नर्वे र ब्रजिलको खेल

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, जारी विश्वकपमा 'भीएआर'का कारण धेरै निर्णयहरू उल्टिएका छन्, अन्तिम १६ को चरणमा नर्वेविरुद्धको खेलमा ब्रजिललाई पेनल्टी दिने निर्णय पनि 'भीएआर'को समीक्षापश्चात् गरिएको थियो

यसपटक प्रतियोगिता जारी रहेकाले पूर्ण तथ्याङ्कहरू उपलब्ध छैनन्।

तर बीबीसी स्पोर्टका फुटबल मामिला संवाददाता तथा 'भीएआर' विशेषज्ञ डेल जोन्सनका अनुसार हालसम्म खेलिएका ९६ खेलमध्ये रेफरीले २३ पटक मात्र मनिटर हेरेका छन् र प्रतिखेलका हिसाबले हेर्दा यो सङ्ख्या अघिल्लो विश्वकपको भन्दा कम हो।

तीमध्ये केवल एक पटक मात्र 'भीएआर'को समीक्षापछि सुरुको निर्णयमा परिवर्तन भएन।

"गत हप्तामात्र फिफा रेफरीहरूका प्रमुख पेअरलुइजी कोलिनाले रेफरीहरूलाई दिइएको एउटा मुख्य निर्देशनमा जोड दिएका छन्," जोन्सन भन्छन्, "रेफरीहरूलाई फुटबलमा हुने सामान्य सम्पर्कलाई स्वाभाविक रूपमा लिन र खेलको गति बढाउन भनिएको छ।"

यी विज्ञका अनुसार, परिणामत: सन् २०२६ विश्वकपमा प्रतिखेल औसत २२.६ वटा मात्र 'फाउल दिइएको छ, सन् २०२२ मा यो औसत २५ र सन् २०१८ मा २७ थियो। 'भीएआर' समीक्षापछि इजिप्टको गोल रद्द गर्ने जुन निर्णय भयो, त्यो यो प्रतियोगितामा अहिलेसम्म अपनाइएको 'रेफरिङ' शैलीसँग "मेल नखाने" जोन्सनको भनाइ छ।

"यदि मैदानमा यस्ता चुनौतीहरूलाई जारी रहन दिइन्छ भने 'भीएआर'का हकमा पनि त्यसै हुनुपर्छ।"

"मेरो विचारमा यो अहिले झन् असङ्गत भएको छ र 'भीएआर'ले के निर्णय तय गर्छ भन्ने अनुमान लगाउन कठिन भएको छ," निष्कर्षमा उनले भने।

तर मोहम्मद सलाहसँग सम्बन्धित मामिलालाई भने उनले धेरै विवादास्पद मानेनन्।

"सलाह पेनल्टी क्षेत्रभित्र भएकाले 'भीएआर'ले सम्भावित पेनल्टीको मूल्याङ्कन गरिरहेको थियो, जहाँ 'फाउल' भए नभएको तय गर्न अझ चर्को मापदण्ड हुन्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।