'गाजामा एउटै इजरेली हमलामा ९० जनाभन्दा बढी मारिएका वा हराइरहेका छन्'

उत्तरी गाजामा हमला

तस्बिर स्रोत, Reuters

Published
पढ्ने समय: ३ मिनेट

गाजाको उत्तरी शहर बेइत लाहिआमा इजरेलले गरेको एउटा हवाई आक्रमणमा २० जना बालबालिकासहित कम्तीमा ९३ प्यालेस्टिनी मारिएका वा हराइरहेका हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

छिमेकीहरूले भग्नावशेषबाट शव र अङ्गहरू निकाल्ने प्रयास गरिरहेका प्रत्यक्षदर्शीहरूले बताएका छन्।

ज्यान गुमाउनेहरूमा अधिकांश इजरेली आक्रमणका कारण उत्तरी गाजाबाट विस्थापित भएका मानिसहरू रहेका बताइएको छ।

पाँचतले आवासीय भवनलाई निशाना बनाइएको उद्धारकर्मीले बताएका छन्।

कम्बलले बेरिएका शव

सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडिओमा कम्बलले बेरिएका शवहरू भुइँमा देखिन्छ।

हमासका लडाकुहरू फेरि सङ्गठित हुन थालेका भन्दै यसै महिनाको शुरूतिर नयाँ हमला थालेको इजरेली सेनाले ताजा आक्रमणबारे केही प्रतिक्रिया जनाइसकेको छैन।

इजरेल डिफेन्स फोर्सेस (आईडीएफ) विगत दुई सातादेखि उत्तरी गाजाका खासगरी जबालिआ, बेइत लाहिआ र बेइत हनउनमा परिचालित छ।

नजिकै पर्ने जबालिआस्थित कमाल अदवान अस्पातलका निर्देशक हुसैन अबु साफिआले समाचारसंस्था एएफपीलाई बताएअनुसार कर्मचारी तथा औषधिको अभावबीच बिरामी हेरिरहेको अस्पातलमा बालबालिकाको उपचार भइरहेको छ।

“हाम्रा चिकित्सक टोली र कर्मचारीलाई सेनाले गिरफ्तार गरेर लगेयता कमाल अदवान अस्पतालमा प्राथमिक उपचारका सामग्रीबाहेक केही पनि छैन,” अबु साफिआले भने।

हमास लडाकुहरूले अस्पतालको प्रयोग गरिरहेका भन्दै आईडीएफले गत साता छापा मारेको थियो।

उत्तरी गाजामा हमला गर्नुको उद्देश्य हमास लडाकुहरूलाई पुनः सङ्गठित हुन नदिनु रहेको इजरेलले दाबी गर्दै आएको छ।

गैरसैनिकबीच लडाकुहरू मिसिने गरेको इजरेली दाबी हमासले चाहिँ खण्डन गर्दै आएको छ।

मङ्गलवार एउटा वक्तव्य जारी गर्दै इजरेलले जबालिआमा ४० जना “आतङ्कवादी” मारिएको जनाएको छ।

त्यसै गरी गत २४ घण्टाभित्र मध्य गाजामा “थुपै आतङ्कवादीहरू निर्मूल” पारेको उसले उल्लेख गरेको छ।

नयाँ कानुन

दशौँ हजार मानिस दयनीय अवस्थामा बाँचिरहेका उत्तरी गाजा स्ट्रिपमा मानवीय सङ्कट गहिरिँदै गएको छ।

इजरेलले “सिङ्गो जनसङ्ख्यालाई बमबारी, घेराबन्दी र भोकमरीको जोखिममा पारिरहेको” संयुक्त राष्ट्रसङ्घको मानव अधिकार प्रमुख फोल्कर ट्युर्कले शुक्रवार बताएका थिए।

प्यालेस्टिनी सशस्त्र समूहहरूले गैरसैनिकहरूबीच रहेर गरिरहेका भनिएको कारबाही स्वीकार्य नहुने पनि उनले बताए।

सोमवार इजरेली संसद्‌ले एउटा कानुन पारित गर्दै प्यालेस्टिनी शरणार्थीसम्बन्धी मामिला हेर्ने संयुक्त राष्ट्रसङ्घीय निकाय यूएनआरडब्ल्यूएलाई इजरेलभित्र र इजरेल अधीनस्थ पूर्वी जेरुसलेममा तीन महिनाभित्र काम गर्न बन्द गर्न भनेको छ।

उक्त कानुनले यूएनआरडब्ल्यूएका कर्मचारी र इजरेली अधिकारीबीच हुने सम्पर्कमा पनि रोक लगाउने छ।

त्यसबाट सो निकायको गाजा र इजरेलको अधीनमा रहेको वेस्ट ब्याङ्कमा काम गर्न सक्ने क्षमता निकै खुम्चिने छ।

गाजा प्रवेश गर्ने सबै नाकाहरू इजरेली सेनाको नियन्त्रणमा छन्। यूएनआरडब्ल्यूएका लागि इजरेलसँगको सहकार्य उक्त युद्धग्रस्त भूभागमा सहायता सामग्री पठाउन अनिवार्य छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।