अहिले किन खाना पकाउने ग्यासको अभाव देखियो, कहिलेबाट हुन्छ सहज

तस्बिर स्रोत, Nepal Photo Library
बजारमा अचानक खाना पकाउने ग्यासको अभाव देखिएपछि नेपाल आयल निगम आफैँले शनिवारदेखि टेकुमा खुद्रा ग्यास वितरण सुरू गर्यो।
तर भारतबाट 'नियमित आपूर्ति भइरहेको' अवस्थामा कसरी ग्यास अभाव देखियो?
नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार आधा सिलिन्डरबाट भरि सिलिन्डर अर्थात् १४.२ किलोग्राम ग्यासको वितरण सुरू भए लगत्तै बजारमा ग्यासको अभाव देखिएको छ।
"यसअघि ७.१ किलोग्राम ग्यास वितरण गरेपछि बजारमा ग्यासको आपूर्ति सहज भएको थियो," ठाकुर भन्छन्।
"तर भरि सिलिन्डरमा गएपछि बजारमा एक खालको झट्का देखिन्छ," उनले भने।
भारतीय आयल निगमले आवश्यक ग्यास आपूर्ति दिन सक्ने सुनिश्चितता गरे पछिमात्रै भरि सिलिन्डर ग्यास दिने निर्णयमा आफूहरू पुगेको निगमका प्रवक्ताले बताएका छन्। त्यसकाण अहिलेको अभाव लामो समय नजाने निगमको दाबी छ।
ग्यास उद्योग सङ्घले पनि यसअघि आधा सिलिन्डर ग्यास बजारमा जाँदा पर्खेर बसिरहेका उपभोक्ताहरू भरि सिलिन्डर पाइन थालेपछि एकै पटक ग्यास भर्न आउँदा ग्यासको माग धान्न नसकिएको बताएको छ।
अभावको कारण के हो

तस्बिर स्रोत, EPA/Shutterstock
आयल निगमले पूरा सिलिन्डर ग्यास लिन पर्खिरहेका उपभोक्ताहरू एकै पटक ग्यास किन्न आउँदा बजारमा अभाव देखिएको बताएको छ।
"बजारमा एक्कासि माग बढ्दाको झट्का हो यो। एउटा चक्र पूरा भएपछि हप्ता १० दिनभित्र सहज भएर जान्छ," निगमका प्रवक्ता ठाकुर भन्छन्।
नेपाल ग्यास उद्योग सङ्घका उपाध्यक्ष धर्मराज बर्तौलाले पनि एकै पटक उपभोक्ताहरूको चाप एउटा कारण भएको बताए। तर अहिलेको अभावमा आयल निगमको पनि कमजोरी रहेको उद्योगीहरूको बुझाई छ।
"निगमले ७.१ किलोग्राम ग्यास दिएर १४.२ दिनका लागि तीन महिना समय लगाइदियो। त्यसो गर्दा यो बीचमा भारतीय आयल नियमबाट हामीले जति ग्यास उठाउन पाउँथ्यौँ त्यो उठाउन पाइएन," उनले भने।
"हाम्रा सिलिन्डर ७.१ भर्दा खेरि बजारमा गएर बसे। त्यसले भरि सिलिन्डरले पुग्ने भन्दा आधा अवधि मात्रै पुग्ने भयो। जनताका घरमा पनि भण्डारण रहेन हामीकहाँ पनि रहेन। हाम्रोमा माग कम रहेको भनेर आईओसीले हामीलाई ग्यास पनि कम दिन थाल्यो।"
नेपालमा आधा सिलिन्डर ग्यास वितरण सुरु भएपछि ग्यासको आयात एक्कासि घटेको देखिएको छ।
आयल निगमका अनुसार ७.१ किलोग्राम अर्थात् आधा सिलिन्डर ग्यासको वितरण सुरु भएपछि उपभोक्ताहरू पहिले जस्तो बजारमा ग्यास भर्न नगएका कारण माग नै कम भएको थियो।
निगमका प्रवक्ताका अनुसार आधा सिलिन्डर ग्यास वितरण भएको समयमा भारतबाट ३२ देखि ३८ मेट्रिक टन मात्रै ग्यास नेपाल आएको छ।
ग्यास उद्योगीहरूले चाहिँ भारतले नै नेपाललाई दिने कोटा घटाएका कारण यो अवधिमा कम ग्यास आपूर्ति भएको दाबी गरेका छन्।
कहिलेबाट सहज होला

तस्बिर स्रोत, Nepal Photo Library
नेपालमा दैनिक ९० देखि ९५ बुलेटसम्म ग्यासको माग रहेको आयल निगमका अधिकारी बताउँछन्। अहिले बजारमा देखिएको अभाव हटाउन दैनिक १०० वटा भन्दा धेरै बुलेट ग्यास भारतका इन्धन केन्द्रहरूमा लोड भइरहेको ठाकुरले बताए।
ती बुलेटहरू नेपाल आएर उद्योगहरू मार्फत् सिलिन्डरमा ग्यास भर्न सुरु गर्न अबको एक सातासम्म लाग्ने ठानिएको छ।
त्यसपछि बजारमा ग्यासको अभाव कम हुँदै जाने ठाकुरले बताए।
"विभिन्न नाकाबाट दैनिक रूपमा १०० बुलेट भित्रिरहेको अवस्था छ," उनले भने।
निगमले नियमित भन्दा थप १० देखि २० प्रतिशतसम्म थप ग्यास आपूर्ति गर्न लागिएको र त्यो ग्यास आइपुगेपछि बजारमा देखिएको माग पूरा हुने दाबी गरेको छ।
उद्योग सङ्घका उपाध्यक्ष बर्तौला एउटै परिवारले धेरै सिलिन्डर ग्यास भरेर राखेका कारण देखिएको समस्या भारतबाट थप ग्यास आएपछि सहज हुने बताउँछन्।
"अहिले लोड बढाउन आयल निगमले पनि पहल गरेको छ। हामी पनि त्यो प्रयत्नमा लागिरहेका छौँ," बर्तौला भन्छन्।
"यसले गर्दा १० देखि १२ दिनमा अलिकति सहज हुन्छ भन्ने मैले बुझेको छु।"
'आत्तिनु पर्ने अभाव छैन'

तस्बिर स्रोत, Nepal Photo Library
नेपाल आयल निगमले आत्तिनु पर्ने तहको अभाव नरहेको भन्दै घरमा अनावश्यक भण्डारण नगर्न अपिल गरेको छ।
"हामी आत्तिनु पर्ने आवश्यकता छैन। बजारमा आवश्यक छ भने मात्रै ग्यास खरिद गरौँ किनभने हामीले धेरै भण्डार गर्दा एउटा मात्रै सिलिन्डर भएका विद्यार्थीहरू र निम्न वर्गलाई समस्या देखिएको छ," उनले भने।
"एउटा सिलिन्डरले पुग्छ भने अहिले त्यति मात्रै राखौँ।"
खास गरी इरान युद्धका कारण पनि उपभोक्ताहरूले घरमा भण्डारण बढाएको हुनसक्ने उद्योगीहरूले बताएका छन्। यसअघि अमेरिका र इरानबीच शान्ति सम्झौता भएपछि ग्यासको आपूर्ति सहज हुने ठानिए पनि पुन युद्ध सुरू भएसँगै मानिसहरूमा चिन्ता पैदा भएको हुनसक्ने उद्योग सङ्घका अधिकारी बताउँछन्।
"कसैले एउटै घरमा ४-५ वटा सिलिन्डर राखेर पनि बसेको छन् कसैले एउटा पनि पाएको छैन। अरूलाई पनि ग्यास चाहिन्छ भनेर उपभोक्ताले बुझ्दिने भएको भए त्यति अभाव चाहिँ भएको होइन। तर उपभोक्तालाई कसले रोक्न सक्छ," बर्तौला भन्छन्।
उद्योगी र विक्रेतालाई पनि व्यावसायिक भन्दा घरायसी प्रयोजनका ग्यासलाई प्राथमिकता दिन आयल नियमले आग्रह गरेको छ।
ठाकुरका अनुसार बिक्रेताहरूलाई ग्यास खरिद गर्ने व्यक्तिको अभिलेख राखेर एक परिवारलाई तत्कालका लागि एउटा भन्दा धेरै सिलिन्डर ग्यास नदिन भनिएको छ।
"एउटा सिलिन्डरले चार जनाको परिवारलाई एक महिना पुग्छ। बिक्रेताले त्यो कुरा पहिचान गरिदिनुभयो भने वितरण थप सहज हुने थियो," ठाकुर भन्छन्।
बजारमा सहजै नपाउने गुनासो आएका ग्यासहरूको काउन्टर टेकुस्थित निगमको कार्यालय परिसरमा राखिएको निगमका प्रवक्ताले बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















