माघ १ गतेभित्र काठमाण्डूका घरघरमा आइपुग्ला मेलम्चीको पानी?

तस्बिर स्रोत, RSS
खानेपानी मन्त्रालयले अहिलेसम्म मेलम्चीको खानेपानी काठमाण्डू ल्याउन भइरहेको कामको प्रगति हेर्दा अबको एक साताभित्र मेलम्चीको पानी घरघरमा पुग्ने गरी काम भइरहेको जनाएको छ।
मेलम्ची खानेपानी विकास समितिले बुधवार गरेको 'ब्रिफिङ' अनुसार यसअघि भनिएजस्तै माघ महिनाको पहिलो साताबाट काठमाण्डूमा पानी आइपुग्ने खानेपानी मन्त्रालयले बताएको हो।
मन्त्रालयकी प्रवक्ता मीना श्रेष्ठले बीबीसीसँग भनिन्, “हामीले जानकारी पाएसम्म अहिलेसम्म ८०/८५ प्रतिशत काम सकिइसकेको छ र अबको एक सातामा पानी आउँछ भन्ने छ।”
ठेकेदार कम्पनी सिनो हाइड्रोले बुधवार जानकारी दिए अनुसार यसअघि तय गरिएको २८ दिनको कार्य तालिका अनुसार नै काम भइरहेको समितिको भनाइ छ।
समितिले पुस ३ गते जारी गरेको विज्ञप्तिमा निर्माण व्यवसायीसँग एउटा समझदारी भएको र त्यस अनुसार उनीहरूलाई निर्माण स्थलमा परिचालन गर्ने र आकस्मिक परिस्थितिबाहेक बढीमा २८ दिनको कार्य तालिका अनुसार पानी पथान्तरण गर्ने सहमति भएको उल्लेख थियो।
दुई वर्षअघिको असार र साउन महिनामा आएका बाढीले हेडवर्क्स भनिने मुहानमा क्षति पुर्याएको थियो।
वर्षौँ अघिदेखि थालिएको उक्त आयोजना त्यही वर्षबाट सञ्चालनमा आएको थियो।
बालुवा भरिएको पाइप
पुसको पहिलो साता तय गरिएको कार्य तालिका अनुसार नै अहिलेसम्म सुधारका कामहरू गर्ने र हेडवर्क्स सफा गर्ने कामहरू भइसकेको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए।
"अहिलेसम्म ८०/८५ प्रतिशत काम भइसकेको छ। हाम्रो लक्ष्य माघ १ गतेबाट पानी दिने नै हो। अब केही दिन भित्रै पानी सुरुङमा हाल्छौँ। त्यसपछि प्रशोधन गरेर घरघरमा उपलब्ध गराउने हो," समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले भने।
"काठमाण्डू आउने सुरुङलाई सानो सुरुङले जोडेका छौँ। यो बीचमा पाइप छ र त्यो बालुवाले भरिएको छ। त्यो सफा गर्ने काम भइरहेको छ।"

तस्बिर स्रोत, BIJAY GAJMER/BBC
प्रवक्ता पन्तका अनुसार उक्त पाइप सफा गर्नु सबैभन्दा अप्ठ्यारो काम हो।
त्यसमा आउन सक्ने जटिलताबारे पनि ठेकेदार कम्पनीले आफूहरूलाई जानकारी गराएको उनले बताए।
"त्यहाँ धेरै मानिस जान मिल्दैन। एक जना गएर सफा गर्ने हो र त्यहाँ हावा हुँदैन। अन्य कुनै विकल्पबाट हुन्छ कि भनेर प्रयास भइरहेको छ," पन्तले भने, "निर्माण व्यवसायीले त्यसले गर्दा केही तलमाथि हुनसक्ने रिपोर्ट गरेका छन्।"
दैनिक १७ करोड लिटर पानी
'तलमाथि' भन्नाले जोखिम रहेको वा पानी आउन समय लाग्छ भन्ने हो?
जवाफमा पन्त भन्छन्, "सफा गर्न एक दिन लम्बिन सक्छ। तर ढिलो हुन नदिन आवश्यक जनशक्ति व्यवस्थापन गर्न भनेका छौँ। पाइप सफा भएपछि सुरुङ भर्न एक दिन जतिको समय लाग्छ, प्रशोधन गर्न केही समय लाग्छ अनि घरघर पुग्न ६/७ घण्टा लाग्छ।"
वर्षा यामको जोखिमलाई मध्यनजर गरेर गत असार ८ गते सुरुङमार्फत् मेलम्ची नदीको पानी सञ्चालन गर्ने काम बन्द गरिएको थियो।
त्यसपछि साउन २८ र २९ गते नदीमा आएको ठूलो बाढीका कारण हेडवर्क्स पुनः पुरिएको थियो र त्यहाँसम्म पुग्ने सडक पनि क्षतिग्रस्त भएको थियो। त्यसले पानी काठमाण्डू पठाउने काम हुन सकेको थिएन।
केही समयका लागि पानी पाएका राजधानीवासीले धारामा पानी आउन छोडेपछि दबावमूलक प्रदर्शनहरू पनि गरेका थिए।
मेलम्चीको पानीलाई लिएर संसद्मा पनि कुरा उठाइएको थियो।
काठमाण्डू उपत्यका खानेपानी लिमिटेड केयूकेएलले पथान्तरण पश्चात् मेलम्ची नदीको पानी दैनिक १७ करोड लिटरका दरले काठमाण्डू उपत्यकामा उपलब्ध गराउने बताइएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















