हमासले तीन बन्धक र इजरेलले १८३ बन्दी मुक्त गरे

हमासले मुक्त गरेका बन्धकहरू

तस्बिर स्रोत, Reuters

    • Author, रफी बर्ग
    • Role, बीबीसी न्यूज
  • Published
  • पढ्ने समय: ४ मिनेट

इजरेल र प्यालेस्टिनी समूह हमासबीच जारी युद्धविराम अन्तर्गत शनिवार हमासले तीन जना इजरेली बन्धक र इजरेलले १८३ जना प्यालेस्टिनी बन्दीहरू रिहा गरेका छन्।

इजरेल कारागार सेवाले हमाससँगको युद्धविराम सम्झौता अनुसार शनिवार रिहा हुने सूचीमा रहेका सबै १८३ जना कैदीहरू मुक्त गरिएको उल्लेख गरेको छ।

ज्यानुअरी १९ मा इजरेल र हमासबीच युद्धविराम सम्झौता भएयता यसअघि १८ जना हमासले बन्धक बनाएकाहरू र ३८३ जना प्यालेस्टिनी बन्दीहरू रिहा भएका थिए।

शनिवार रिहा भएका कैदीहरूमध्ये १११ जनालाई सन् २०२३ को अक्टोबर ७ मा इजरेलमा हमासद्वारा भएको हमलापछि गाजामा पक्राउ गरिएको थियो।

उनीहरूलाई बसमा राखेर शनिवार वेस्ट ब्याङ्कको रूमाला पुर्‍याइएर रिहा गरियो।

इजरेलले रिहा गरेका प्यालेस्टिनी कैदी रिहा भएपछि

तस्बिर स्रोत, Reuters

यसअघि हमासले शनिवार गाजा स्ट्रीपबाट थप तीन जना इजरेली बन्धक मुक्त गरेको थियो। युद्धविराम लागु भएपछिको पाँचौँ पटकमा छाडिएका उनीहरू सबै सर्वसाधारण मानिसहरू हुन्।

मुक्त भएका एली शराबी, ओहाद बेन अमी र अर लेभी सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको हमलाका बेला बन्धक बनाएर गाजा पुर्‍याइएका थिए।

बन्धक मुक्त गर्नुअघि डेर अल-बलाहमा हमास लडाकुहरू जम्मा भएका थिए। त्यहाँ ती तीनजना बन्धकहरू रेड क्रसलाई बुझाएको थियो।

गाजामा बन्धकहरू मुक्त गरिँदैगर्दा इजरेलको तेल अभिभस्थित होस्टेज स्क्वायरमा मानिसहरू जम्मा भएर उक्त प्रक्रिया हेरेका थिए।

अबको तीन सातामा सकिने युद्धविरामको पहिलो चरणको अन्त्यसम्ममा झण्डै ३३ जना बन्धक र १,९०० प्यालेस्टिनीहरू छाडिनेछन्।

इजरेलले ३३ मध्ये आठजनाको मृत्यु भएको जनाएको छ।

छाडिने बन्धक को हुन्?

बायाँबाट क्रमश: ओर लेभी, ओहान बेन अमी र एली शराबी

तस्बिर स्रोत, The Hostages and Missing Families Forum

तस्बिरको क्याप्शन, बायाँबाट क्रमश: ओर लेभी, ओहान बेन अमी र एली शराबी

एली शराबी ५२ वर्षका छन्। उनी आफ्ना भाइसँगै बन्धक बनाइए तापनि भाइको भने यसबीचमा मृत्यु भएको पुष्टि गरिएको छ।

उक्त हमलामा उनकी श्रीमती र दुई जना छोरीहरू मारिएका थिए।

ओहान बेन अमी ५६ वर्षका छन्। उनीसँगै बन्धक बनाइएकी उनकी श्रीमतीलाई पछि हमासले मुक्त गरेको थियो।

ओर लेभी ३४ वर्षका छन्। हमलाका बेला उनी नोभा फेस्टिभलबाट आफ्नी श्रीमतीसहित भागेका थिए। उनकी श्रीमतीको बम हमलाबाट बच्न बनाइएको आश्रय स्थलमा शव फेला पारिएको थियो। उनीहरू दुवै जना त्यहाँ लुक्न पुगेका थिए।

इजरेली बन्धक

सम्झौता अनुसार शनिवार नै इजरेलले छाड्नेको सूचीमा ७० जनाभन्दा धेरै आजीवन वा लामो समयको कैद अवधि झेल्नेहरू छन्। अन्य युद्धका बेला पक्राउ गरिएका गाजाबासीहरू छन्।

अधिकांश विस्थापित गाजामा तीन चरणको युद्धविराम

युद्धविराम तथा बन्धक रिहाई सम्झौता अनुसार पहिलो चरणको युद्धविराम झण्डै छ साता लामो हुनेछ।

दोस्रो चरणको लागि वार्ताको सुरुवात पहिलो चरण सुरु भएको १६ दिनपछि हुने भनिएको थियो। जसअनुसार वार्ताहरू गत सोमवार नै भई सक्नुपर्नेमा त्यसबारे कुनै जानकारी दिइएको छैन।

यसक्रममा बाँकी बन्धकहरू रिहा हुनुका साथै त्यहाँबाट पूर्ण रूपमा इजरेली फौज फिर्ता हुनेछन्।

गाजामा बन्धकहरू रिहा हुने स्थान

तस्बिर स्रोत, Reuters

इजरेल अध्ययनका लागि पुगेका कञ्चनपुरका विपिन जोशी पनि हमासको नियन्त्रणमा छन्। हमासले पहिलो चरणको युद्धविरामका क्रममा रिहाइ गर्नेहरूको सूचीमा विपिन जोशीको नाम समावेश नभएको यसअघि अधिकारीले बताएका थिए।

हमासले गाजामा मानवीय सहायता पठाउने काममा आफ्ना प्रतिबद्धता पूरा गर्न इजरेल चुकिरहेको आरोप लगाएको छ।

खबरहरूमा जनाइए अनुसार हमासको प्रेस कार्यालयले युद्धविरामयता गाजामा १२,००० सहायतासहितका लरी पुग्नुपर्नेमा ८,५०० वटा मात्र पुगेको जनाएको छ।

तर बिहीवार संयुक्त राष्ट्रसङ्घले भने युद्धविरामयता त्यहाँ १०,००० सहायता सहितका लरी पुगेको जनाएको छ।

बन्धक मुक्त गर्नुअघि डेर अल-बलाहमा हमास लडाकुहरू जम्मा भएका थिए

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, बन्धक मुक्त गर्नुअघि डेर अल-बलाहमा हमास लडाकुहरू जम्मा भएका थिए

तेस्रो र अन्तिम चरणमा गाजाको पुनर्निर्माण अघि बढाइने र त्यसका लागि वर्षौँ लाग्न सक्ने जनाइएको छ। यो चरणमा बाँकी बन्धकका शवहरू फिर्ता गरिने बताइन्छ।

हमासले झन्डै १२ सय जनाको ज्यान लिने र २५१ जनालाई बन्धक बनाउने गरी इजरेल भित्र प्रवेश गरेर अक्टोबर ७ मा हमला गरेपछि इजरेलले उनीहरूलाई नष्ट पार्ने भन्दै गाजामा सैन्य कारबाही थालेको थियो।

हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता कम्तीमा ४७ हजार ५०० जनाको ज्यान गइसकेको छ।

त्यहाँको २३ लाख जनसङ्ख्यामध्ये अधिकांश विस्थापित भएका छन् भने उक्त क्षेत्रमा युद्धका बेला दुई तिहाइभन्दा धेरै घर तथा भवनहरू ध्वस्त भएको संयुक्त राष्ट्रसङ्घको विवरण छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।