साफ महिला फुटबल: के नेपाली टोलीले घरेलु भूमिमा भारतलाई पराजित गरेर उपाधि जित्न सक्ला

साफ फुटबल कप्तानहरू
    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू
  • Published

मङ्गलवार काठमाण्डूको दशरथ रङ्गशालामा छैटौँ साफ च्याम्पियनशिप महिला फुटबल प्रतियोगिता सुरु हुँदा नेपाली टोली र समर्थकले एउटै प्रश्न सामना गर्नेछन्: के नेपालले भारतलाई हराएर उपाधि जित्ला?

उत्तर गाह्रो छ। किनकि भारत विगतमा जस्तै बलियो छ भने नेपालले 'विजय सूत्र' फेला पार्न सकेको देखिएको छैन।

यद्यपि लगातार दोस्रो पटक आयोजनाको अवसर पाएको नेपालले आफ्नै मैदानमा भारतलगायत दक्षिण एशियाका प्रतिद्वन्द्वीहरूलाई पराजित गर्ने सुनौलो अवसर भने पाएको छ।

नेपाल, भारत, बाङ्ग्लादेश, पाकिस्तान, माल्दिभ्स, भुटान र श्रीलङ्का सहभागी प्रतियोगिता मङ्गलवारबाट काठमाण्डूमा सुरु हुँदै छ।

डेढ हप्तापछि प्रतियोगिताको विजेताको छिनोफानो त्यही रङ्गशालामा हुनेछ।

भारत सधैँको तगारो

साफ च्याम्पियनशिपको विगत पाँच संस्करणमा नेपालले चार पटक फाइनल खेल्यो र चारै पटक भारतसँगै पराजित हुन पुग्यो।

सन् २०१६ को संस्करणमा नेपाल सेमिफाइनलमा रोकिएको थियो। त्यति बेला पनि सेमिफाइनलमा प्रतिद्वन्द्वी भारत नै थियो।

पाँच संस्करणको कथामा नेपालले पाँचै खेल भारतसँग मात्र हारेको छ। अरू कुनै टोलीले नेपाललाई अझैसम्म पराजित गर्न सकेको छैन, बरु नेपालसँग ठूलो गोल अन्तरमा पराजित भएका छन्।

यस अर्थमा नेपालले सन् २०१० देखि सुरु भएको प्रतियोगिताको पहिलो संस्करणदेखि नै उपाधिको दाबी गर्दै आएको छ। तर भारतको 'जिङ्क्स' भत्काउन सकेको छैन।

नेपाल र श्रीलङ्का

तस्बिर स्रोत, RSS

यो क्रममा नेपालले भारतविरुद्ध तीन गोल गर्दा १६ गोल खान पुगेको छ।

सन् २०१० को पहिलो संस्करणमा नेपाल १-० को झिनो गोलले मात्र पराजित हुन पुगेको थियो। पाकिस्तानमा भएको तेस्रो संस्करणको ६-० गोल अन्तर अहिलेसम्मकै फराकिलो हार हो।

नेपालले साफ मात्र होइन, दक्षिण एशियाली खेलकुद सागमा पनि भारतलाई हराउन सकेको छैन।

नेपालले एक पटक मात्र भारतलाई हराएको छ। तर 'हिरो विमिन्स गोल्डकप' प्रतियोगिता आधिकारिक खेल थिएन।

अभ्यास

नेपालले भारतलाई किन हराउन सकेको छैन?

भारतलाई हराउन नसक्नुको कारण स्पष्ट देखिन्छ। भारतले महिला फुटबलमाथि गरेको लगानी हरेक पक्षमा धेरै माथि देखिन्छ।

फिफा वरीयतामा भारत ५८ औँ स्थानमा छ भने नेपाल १०२ औँ स्थानमा छ।

तर यसको अर्थ भारतलाई हराउनै नसकिने भन्ने होइन।

यसपालिको नेपालको तयारीलाई नै हेरौँ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाको नयाँ कार्यसमिति आएलगत्तै गर्न लागेको यो प्रतियोगिताको लागि नेपालले खासै ठूलो तयारी गर्न सकेन।

गत चैत्रमा चितवनमा सम्पन्न राष्ट्रिय लीगको पहिलो चरण खेलेका खेलाडीहरूबाट टोली छानिए। त्यसपछि लिगको दोस्रो चरण हुन सकेको छैन।

चीनमा अर्को वर्ष हुने 'एशियन गेम्स'को तयारीस्वरूप राष्ट्रिय खेलकुद परिषद्ले ४० दिने प्रशिक्षण दिएका बेला प्रशिक्षक बालगोपाल महर्जनले टोलीलाई एउटा आकार दिए।

नेपाली महिला टोलीको फाइल तस्बिर

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, नेपाली महिला टोलीको फाइल तस्बिर

सोही टोलीका अधिकांश खेलाडी समेट्दै प्रशिक्षक कुमार थापाले झन्डै सात हप्ताको प्रशिक्षणपछि २३ सदस्यीय टोली निर्माण गरेका हुन्।

उनले खेलाडीहरूको परीक्षण गर्न एउटा मैत्रीपूर्ण फुटबल खेलाउन पनि पाएनन्। तयारीको यो दुःखद पक्ष हो।

यति समयको तयारी भारतलाई हराउन पर्याप्त नहुन सक्छ।

गत वर्ष ब्रजिलको टोलीसँग मैत्रीपूर्ण फुटबल खेलेको भारतीय टोली भने आफ्नै लयमा कायम छ। त्यसैअनुरूप उनीहरू विश्वस्त पनि देखिएका छन्।

भारतकी कप्तान आशालता देवी भन्छिन्, "यो प्रतियोगितालाई हामी पर्खेर बसिरहेका छौँ। फिफाको प्रतिबन्धले हाम्रो टीमको तयारीमा केही फरक परेको छैन। हाम्रो तयारी आफ्नो ढङ्गले नियमित भइरहेको छ। उपाधि रक्षा गर्न सक्षम छौँ।"

नेपाली प्रशिक्षक कुमार थापा भने आशाका थुप्रै कारणहरू देख्छन्।

थापा भन्छन्, "हामी सबै एक अर्काबारे जानकार छौँ। नेपाल पनि च्याम्पियन बन्न हकदार टोली हो। घरेलु भूमिमै खेल हुनु हाम्रो बलियो पक्ष हो। दर्शक र घरेलु मैदान नै हाम्रो मुख्य शक्ति हुनेछ। आशा गरौँ, नतिजा उलटफेर हुनेछ।"

नेपाली टोली कस्तो छ?

प्रशिक्षक र कप्तान

तस्बिर स्रोत, bbayk

नेपाली टोलीमा पुराना अनुभवी अनुहार अनि केही युवा खेलाडीहरूको सम्मिश्रण छ।

'गोल मशीन' सावित्रा भण्डारी टीममा फर्किनु टोलीको सुखद पक्ष हो। उनीसँगै रेखा पौडेल र पुनम जर्घामगर पनि टोलीमा फर्किएका छन्।

तर कप्तान रेणुका नगरकोटे र रक्षापङ्क्तिकी पूजा रानाजस्ता अनुभवी खेलाडीहरू चोटका कारण टीममा छैनन्।

दीपा शाही, अमिशा कार्की र समीक्षा घिमिरे गरी तीन नयाँ खेलाडीले राष्ट्रिय टोलीमा प्रवेश पाएका छन्।

नेपालले मङ्गलवार भुटानसँग खेलेर प्रतियोगिताको उद्घाटन गर्नेछ भने समूह चरणमा श्रीलङ्कासँग पनि खेल्नेछ।

इतिहास हेर्दा नेपाललाई समूह चरण पार गर्न कठिन चुनौतीको सामना गर्नुपर्ने देखिँदैन।

कप्तान

दक्षिण एशियामा भारत र नेपालपछि बङ्गलादेश बलियो देखिन्छ।

तर एक दशकको दक्षिण एशियाली महिला फुटबलमा आएको परिवर्तन हेर्ने हो भने क्रमशः विपक्षी टोलीहरूले प्रगति गर्दै आएको देखिएको छ भने नेपाल अडिएको जस्तो भान हुन थालेको छ।

प्रतियोगिताको पहिलो संस्करणमा नेपालले अफगानिस्तानलाई १३-० ले पराजित गरेको थियो। माल्दिभ्स र श्रीलङ्कासँग प्रत्येक भेटमा नेपाल हाबी हुँदै आएको छ।

अडिओ क्याप्शन सुरु हुँदैछ, महिला फुटबललाई एसियालीस्तरमा लैजान माग

नेपालले माल्दिभ्सलाई दोस्रो साफमा ५-०, तेस्रो र चौथो संस्करणमा ८-० र पाँचौँ संस्करणमा ३-० ले पराजित गरेको थियो।

त्यस्तै श्रीलङ्कालाई पहिलो र तेस्रो संस्करणमा ३-०, चौथो संस्करणमा १-० तथा पाँचौँ संस्करणको सेमिफाइनलमा ४-० ले हराएको छ।

विपक्षीहरूको तयारी क्रमशः सुधारिँदै आएको सन्दर्भमा यी दुई टोलीसँग रोकिएमा त्यो नेपाली महिला टोलीको लागि अप्रत्याशित परिणाम हुनेछ।

सावित्राको पुनरागमन

सावित्रा भण्डारी

दक्षिण एशियाकै उत्कृष्ट स्ट्राइकरको रूपमा देखिएकी सावित्रा भण्डारी चोटमुक्त हुँदै फर्किनु राष्ट्रिय टोलीको लागि सुखद पक्ष हो।

विराटनगरमा भएको गत साफ च्याम्पियनशिपको फाइनलमा भारतविरुद्ध गोल गरेकी उनी भारतको लागि टाउको दुखाइ हुने पक्का छ।

राष्ट्रिय लीगका बेला चोट लागेपछि मैदान बाहिर रहँदा उनले १३औँ साग, बाङ्ग्लादेशविरुद्ध दुई मैत्रीपूर्ण खेल र एशियन कप छनोट खेल्न पाइनन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘तलब बराबर भयो, अब अवसर पनि बराबर चाहिन्छ’

भारतविरुद्ध हिरो सुपर कपमा नेपालले पाएको एक मात्र जितमा भण्डारीले नै दुई गोल गरेकी थिइन्।

उनको पुनरागमनले नेपालको अग्रपङ्क्ति पक्कै बलियो हुनेछ।

साथै साफ च्याम्पियनशिपमा १७ गोल गरिसकेकी उनलाई नेपालको सर्वाधिक गोलकर्ता बन्ने अवसर पनि यो प्रतियोगिता हुनसक्छ। थप पाँच गोल गरे उनी नेपालबाट साफमा सर्वाधिक गोल गर्ने खेलाडी बन्नेछिन्।

यसअघि अनु लामाले साफमा नेपालबाट अहिलेसम्म सबैभन्दा बढी २१ गोल गरेकी छन्।

प्रशिक्षण

नेपाल र भारतबीच खेल

नेपाल र भारत समूह चरणमा सँगै नभएकोले यी दुई प्रतिद्वन्दीको भेट फाइनल वा सेमिफाइनलमा मात्र हुनेछ।

प्रारम्भिक चरणमा अनपेक्षित नतिजा नआए सम्भवतः दुई टोलीबीच उपाधि भिडन्त हुनेछ।

महिला टोली दोस्रो पटक सम्हाल्ने मौका पाएका प्रशिक्षक थापाको लागि आफूलाई प्रमाणित गर्ने दोस्रो अवसर हो। किनकि उनकै पालामा सन् २०१६ मा नेपाल फाइनल पुग्नबाट वञ्चित भएको थियो।

प्रशिक्षक थापाले भने जस्तै घरेलु दर्शक र घरेलु मैदानको साथ सँगै अलिकति भाग्यको सम्मिश्रण जोडिएमा नेपालले साफ च्याम्पियनको परिचय पाउन सक्नेछ।

अडिओ क्याप्शन सुरु हुँदैछ, ओलिम्पिक छनोट खेलमा कस्तो अनुभव रह्यो