'म सकुशल घर आउँछु' : अमेरिकी हमलामा मारिनुअघि भारतीय नाविकले पत्नीलाई भनेका अन्तिम शब्द

तस्बिर स्रोत, Patnala Bhargavi
"उनले मलाई आफू चाँडै घर आउने बताएका थिए। उनी यसरी फर्किएलान् भनेर मैले कहिल्यै सोचेकी थिइनँ," भार्गवी पटनालाले भनिन्, उनका पति भारतीय पानीजहाजको चालक दलका एक सदस्य सुरेश पटनाला यसै साता ओमानको खाडी नजिकै अमेरिकी आक्रमणमा मारिएका थिए।
उक्त जोडी यही महिना आफ्नो विवाहको १५ औँ वर्षगाँठ मनाउने प्रतीक्षामा थियो। बदलामा भार्गवी सुरेशबिनाको भविष्यबारे सोच्ने प्रयास गरिरहेकी छन्।
अमेरिकी सेनाले ओमानको खाडीमा तेल ट्याङ्करमाथि बुधवार आक्रमण गर्दा मारिएका तीन भारतीयमध्ये सुरेश एक थिए।
अमेरिकी सेनाका अनुसार उक्त आक्रमण इरानसँग सम्बन्धित पानीजहाजमाथिको नाकाबन्दी लागू गर्ने वाशिङ्टनको प्रयासको एक हिस्सा थियो। उक्त ट्याङ्करले इरानी तेल बोकेको र बारम्बार दिइएको चेतावनी बेवास्ता गरेको अमेरिकी सेनाको भनाइ छ।
जहाजका प्रबन्धकहरूले उक्त भनाइको खण्डन गरेका छन्। जहाजको इरानसँग कुनै सम्बन्ध नरहेको र आक्रमण हुनुअघि कुनै चेतावनी नपाएको उनीहरूको भनाइ छ।
चालक दलका अन्य २१ जना सदस्यलाई उद्धार गरिएको छ।
'विवाहोत्सव मनाउने योजना'

तस्बिर स्रोत, PTI
मृत्युको शोक भारत भरी प्रतिध्वनित भएको छ, आन्ध्र प्रदेशको तटीय सहर विशाखापट्टनमस्थित भार्गवीको घरदेखि सयौँ किलोमिटर टाढाको सहर र गाउँहरूसम्म। जहाँ अन्य परिवारजन जीविकोपार्जनका लागि घर छोडेर समुद्रमा गएका प्रियजनहरूको शोकमा छन्।
उनीहरू शोकमा डुबेका छन्, धेरैले आक्रमणको परिस्थितिबारेमा जवाफ खोजिरहेका छन् र चालक दलका सदस्यहरूको शव घर फर्कने प्रतीक्षामा छन्।
एक्समा एउटा पोस्ट गर्दै पत्तन, पोत परिवहन र जलमार्ग मन्त्री सर्बानन्द सोणोवालले मृतकको शव फिर्ता ल्याउने प्रयास भइरहेको जनाउँदै उनीहरूको मृत्यु भारतको समुद्री समुदायका लागि "गहिरो क्षति" भएको टिप्पणी गरेका छन्।
भारतले वाशिङ्टनसँग आक्रमणको कडा विरोध जनाएको छ। उसले व्यापारिक पानी जहाजहरूमा आक्रमण रोक्न आह्वान गरेको छ।
सुरेशको मृत्युको खबर सुनेदेखि आगन्तुकहरू घर पुग्ने क्रम चलिरहेको छ। शोक समवेदनाका बीच भार्गवी बारम्बार पतिसँगको अन्तिम कुराकानीतर्फ फर्किन्छिन्।
"यस क्षेत्रमा आक्रमणहरू भएका छन् र केही मानिसहरू मारिएका छन्। तर मेरो चिन्ता नगर्नु, म सकुशल घर फर्कनेछु र हामीले हाम्रो विवाहोत्सव राम्रोसँग मनाऔँला," पतिका शब्दहरू सम्झिन्छिन्, भार्गवी।
पति सुरेश र दुई सन्तानको तस्बिरले घेरिएकी ३९ वर्षीया उनी अहिले आफ्नो पतिको मृत्युसँग त्यो वाचाको तादात्म्य मिलाउन सङ्घर्षरत छिन्।
समुद्रमा करिब १५ वर्ष बिताएका सुरेश समुद्री इन्जिनियरको रूपमा काम गर्दै विश्व भ्रमण गरिरहेका थिए।
पानी जहाजको प्रमुख इन्जिनियरको रूपमा उनलाई प्रत्येक वर्ष ६ महिना बिदा पाउँथे।
तर उनका बुवा रामकृष्णाका अनुसार उनले त्यति लामो बिदा विरलै लिन्थे।
"उनले आफ्नो कामलाई माया गर्थे र आफ्नो अधिकांश समय समुद्रमा बिताउन रुचाउँथे," उनले बीबीसीलाई भने।
बालबच्चाको भरण पोषणको चिन्ता

तस्बिर स्रोत, Forward Seamen's Union of India/x.com/FSUIINDIA
उनी महिनौँसम्म घरभन्दा टाढा रहने कुरामा उनको परिवार अभ्यस्त भइसकेको थियो।
यो जोडीले सामान्यतया केही दिनमा भिडिओ कलमा कुरा गर्थे, कहिलेकाहीँ चालक दलका अन्य सदस्यहरूले पनि अभिवादन आदान प्रदान गर्थे।
तर जुन ५ तारिखदेखि फोन गर्न गाह्रो हुँदै गयो। जुन ९ तारिखसम्म पुग्दा ती पूर्ण रूपमा बन्द भइसकेका थिए।
"उनीहरू समुद्रमा भएकाले मैले त्यो केवल नेटवर्क समस्या होला भन्ठानेकी थिएँ," भार्गवीले भनिन्।
दुई दिनसम्म उनले समाचारको प्रतीक्षा गरिन् र अन्ततः आक्रमणमा आफ्नो पति मारिएको थाहा पाइन्।
सुरुमा त परिवारका सदस्य केही गल्ती भएको र सुरेश जीवित भेटिने आशामा थिए। तर त्यो आशा लामो समय टिकेन।
जहाजको व्यवस्थापनले आक्रमण हुँदा उम्किने कुनै सम्भावना नरहेको जानकारी परिवारलाई गराएको भार्गवीले बिहीवार बताइन्। उनका अनुसार सुरेशले त्यति बेला जहाजको एउटा जेनरेटरमा आएको खराबीको जाँच गरिरहेका थिए।
परिवारले अहिले उनको शव भारत ल्याउन र उनी परिवारको एक्लो कमाउने व्यक्ति भएको बताउँदै सरकारसँग आर्थिक सहयोगको माग गरिरहेको छ।
सुरेशले दुई छोरा र भार्गवीका दिदी भिनाजुको निधनपछि आफूले हुर्काइरहेका दुई जना भतिजीहरूलाई छाडेर गएका छन्।
"पूरै परिवार उनको आम्दानीमा निर्भर थियो। अब मैले कसरी बच्चाहरूलाई पढाउँला वा हुर्काउँला मलाई थाहा छैन," भार्गवीको चिन्ता छ।
छोराको जीवनको अन्तिम क्षणको जानकारी...

तस्बिर स्रोत, Saurabh Chauhan and @CMOFFICEHP
आक्रमणमा मारिएका चालक दलका अन्य दुई सदस्यको घरहरूमा पनि यस्तै प्रश्नहरू प्रतिध्वनित भइरहन्छन्।
उत्तरी राज्य हिमाचल प्रदेशको हमिरपुर जिल्लाका २३ वर्षीय आदित्य शर्माको परिवार आफ्नो एक मात्र छोरा गुमाउनुको शोकमा डुबेको छ।
"मेरो छोराको शव हामीलाई फिर्ता दिइयोस्। उनको जीवनको अन्तिम क्षणमा के भएको थियो भन्ने पनि हामीलाई जनकारी दिइनु पर्छ," आदित्यका पिता राजेश शर्माले बीबीसी हिन्दीसँग भने।
उनले चालक दलका सदस्यलाई बचाउन पर्याप्त काम भए नभएकोबारे पनि प्रश्न उठाएका छन्।
उनले भने, "अरूलाई उद्धार गरियो, तर यी ३ जनालाई किन बचाउन सकिएन?"
त्यहाँबाट १,००० किलोमिटरभन्दा टाढा उत्तर प्रदेशको देवरिया जिल्लामा ३५ वर्षीय शिवानन्द चौरसियाको परिवारले उस्तै शोकको सामना गरिरहेको छ।
चौरसियाले वैदेशिक ढुवानी कम्पनीमा काम गर्नका निम्ति ८ महिनाअघि घर छाडेका थिए।
"हामीले अघिल्लो रात उनीसँग कुरा गरेका थियौँ। उनले हामीलाई सबै कुरा ठिक रहेको बताएका थिए," उनका बुवा रामजी चौरसियाले समाचार संस्था एएनआईलाई भनेका छन्, "अहिले हामीलाई अब उनी नरहेको बताइएको छ।"
विशाखापट्टनमकी भार्गवीजस्तै दुवै परिवार आफ्ना प्रियजनको शव फर्कने प्रतीक्षामा छन्।
उनीहरूका लागि, ट्याङ्करलाई चर्चामा ल्याइदिएको भूराजनीतिक तनाव निकै बिरानो लाग्छ। अब आफ्ना पति र छोराहरूलाई अन्तिम पटक हेर्न पाउनु पर्ने उनीहरूको भनाइ छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।























