एसईई: परीक्षाफल प्रकाशित गर्ने अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड, कसरी हेर्न सकिन्छ

Published

गत वैशाख महिनामा लिइएको कक्षा १० को बोर्ड परीक्षाको नतिजा चाँडै प्रकाशन हुन लागेको जानकारी राष्ट्रिय परीक्षा बोर्डले दिएको छ।

बोर्डले परीक्षाफल प्रकाशित गर्ने विषयमा छलफल गर्न बुधवार दिउँसो बैठक बोलाएको छ।

परीक्षाफलको अन्तिम रुजु गर्ने काम भइरहेकाले नतिजा चाँडै आउने बोर्डका अध्यक्ष महाश्रम शर्माले बीबीसीलाई मङ्गलबार बताएका थिए।

"अब एक दिनजति धैर्य गर्नुपर्ला," मङ्गलवार उनले बीबीसीसँग भनेका थिए।

यसपालि पाँच लाखभन्दा बढी विद्यार्थीले एसईई परीक्षा दिएका थिए।

दुई वर्षपछि भौतिक उपस्थितिमा परीक्षा

परीक्षा दिने छात्रा र छात्रको सङ्ख्या लगभग बराबर रहेको शर्माले बताए।

"विद्यार्थीका यकिन सङ्ख्या र कतिजना परीक्षामा गयल भए भन्ने जस्ता विवरण मङ्गलवारसम्म स्पष्ट हुन्छ।"

अघिल्ला दुई वर्ष कोभिड सङ्क्रमणका कारण विद्यालयहरूले गरेका आन्तरिक मूल्याङ्कनकै आधारमा बोर्डले परीक्षाफल प्रमाणीकरण गरिदिएको थियो।

यसपालि विद्यार्थीहरूले सशरीर उपस्थित भएर परीक्षा दिएका थिए।

देशभरिका करिब २,००० परीक्षा केन्द्रहरूबाट वैशाख ९ देखि २० गतेसम्म परीक्षा लिइएको थियो।

कसरी हेर्ने परीक्षाफल?

एसईईको परीक्षाफल विभिन्न वेबसाइट एवं एसएमएस तथा फोनबाट सोध्न मिल्ने आईभीआर सेवाहरूबाट प्राप्त गर्न सकिने जनाइएको छ।

वेबसाइटहरूः

  • राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय www.see.gov.np

एसएमएस (SMS) र आईभीआर (IVR):

एसएमएस सेवाअन्तर्गत विद्यार्थीले आफ्नो सिम्बल नम्बर निम्न शर्टकोड नम्बरमा पठाएर नतिजा हेर्न सक्छन्।

  • नेपाल टेलिकम (SMS/ IVR) प्रयोग हुने शर्टकोड - १६००
  • जानकी टेक्नोलोजी (SMS) प्रयोग हुने सर्टकोड - ३५००१
  • इजी सर्भिस (SMS) प्रयोग हुने सर्टकोड - ३४९४९
  • आकाश टेक (SMS) प्रयोग हुने सर्टकोड - ३१००३

१२ कक्षाको परीक्षाफल कहिले?

एसईईको नतिजा प्रकाशन भएलगत्तै बोर्डले १२ कक्षाको परीक्षाफल पनि प्रकाशन गर्ने तयारी गरिरहेको जनाइएको छ।

"कक्षा १२ को उत्तरपुस्तिका परीक्षण र संपरीक्षण हुने कुरा समानान्तर रूपमा भइरहेको छ," बोर्डका अध्यक्ष महाश्रम शर्माले भने।

एसईईको नतिजापश्चात् करिब एक-डेढ महिनामा १२ कक्षाको परीक्षाफल आउन सक्ने उनले बताए।

यो पनि हेर्नुहोस्