पुष्पा भुसालः सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेस नेत्री उपसभामुख निर्वाचित

तस्बिर स्रोत, RSS
संसद्को तल्लो सदन प्रतिनिधिसभाको उपसभामुखमा सत्ता गठबन्धनतर्फकी उम्मेदवार पुष्पा भुसाल निर्वाचित भएकी छन्।
शुक्रवार संसद्मा भएको मतदानमा उनी विजयी भएकी हुन्।
प्रतिनिधिसभामा साढे दुई वर्षदेखि उपसभामुखको पद रिक्त रहेको थियो। शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि नयाँ उपसभामुख छानिएको थिएन।
त्यस बेला नेकपा एमाले र माओवादी केन्द्र एक भएर बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपा सत्तामा थियो।
भुसालको प्रस्तावकमा माओवादीका प्रमुख सचेतक देव गुरुङ थिए भने भट्टराईको प्रस्तावकमा एमाले सचेतक शान्ता चौधरी बसेकी थिइन्।
यसअघि भुसाल प्रतिनिधिसभामा नेपाली कांग्रेसकी सचेतक थिइन्। अर्घाखाँचीकी उनी समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकी हुन्।
कसले पाए कति मत?
भुसालले १४८ र उनकी प्रतिद्वन्द्वी प्रतिपक्षी नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले ९३ मत प्राप्त गरेको सभामुखले बताए। सभामुखका अनुसार २४२ सांसद उपस्थित थिए।
उपस्थितमध्ये एक सांसद मत दिन्नँ भन्ने पक्षमा देखिए।
भट्टराई एमालेका हेलिकप्टर दुर्घटनामा परी निधन भएका नेता रवीन्द्र अधिकारीकी पत्नी हुन्। अधिकारीको मृत्यु भएपछि रिक्त रहेको कास्कीको निर्वाचन क्षेत्रबाट उनी सांसद चुनिएकी हुन्।

तस्बिर स्रोत, RSS
कांग्रेस नेत्री भुसाललाई माओवादी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, जसपा र लोसपालगायतले समर्थन गरेका थिए।
एमालेकी उम्मेदवार भट्टराईलाई राप्रपाले समर्थन गरेको थियो।
मजदुर किसान पार्टीले भने उपसभामुखको निर्वाचनमा सहभागी भएन।
को हुन् पुष्पा भुसाल?
संसद् सचिवालयमा उनले बुझाएको विवरणअनुसार भुसाल २०१७ साल फागुन १ गते अर्घाखाँचीमा जन्मिएकी हुन्।
कानुनमा स्नातकोत्तर गरेकी उनी २०२८ सालदेखि नेपाली कांग्रेसमा आबद्ध भएको उक्त विवरणमा देखिन्छ।
यद्यपि त्यसबेला उमेरका हिसाबले उनी ११ वर्षकी मात्र देखिन्छिन्।

तस्बिर स्रोत, RSS
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी उनी नेपाल महिला सङ्घको महासचिव रहिसकेकी छन्।
उनी पहिलो संविधानसभामा २०६४ सालमा अर्घाखाँचीबाट निर्वाचित भएकी थिइन्।
तर दोस्रो संविधानसभा निर्वाचनमा उनी पराजित भइन्।
भुसाल विसं २०५६ सालको आम निर्वाचनमा पनि उक्त जिल्लाबाट प्रतिनिधिसभा सदस्य उठेर विजयी हुन सकेकी थिइनन्।
उनले विश्वविद्यालयमा अध्यापन गराउनुका साथै कानुन व्यवसाय पनि गरेको संसद् सचिवालयको विवरणमा देखिन्छ।
उनका हाल दिवंगत भइसकेका पिता काशीनाथ गौतम पूर्वमन्त्री थिए भने पति चोपलाल भुसाल बाङ्ग्लादेशका लागि नेपालको राजदूत बनेका थिए।
सभामुख र उपसभामुख दुवै सत्ता गठबन्धनबाट
कृष्णबहादुर महराले राजीनामा दिएको बेला प्रतिनिधिसभामा तात्कालिक नेकपाको बहुमत थियो।
तर संवैधानिक व्यवस्थाअनुसार एकै दलका सभामुख र उपसभामुख बन्न नपाउने भएकाले तुम्बाहाङ्फेलाई उक्त दलले राजीनामा गर्न लगाएर सभामुखमा माओवादी पक्षका अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाएको थियो।
सापकोटा सभामुख निर्वाचित भए पनि उपसभामुख पद लामो समय रिक्त रह्यो। तर फरक दल भए पनि सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसकी सांसद उपसभामुख बनेकी छन्।

तस्बिर स्रोत, RSS
महराले अदालतबाट उक्त मामिलामा सफाइ पाइसकेका छन्।
गत संसदीय निर्वाचनका बेला एमाले र माओवादीले गठबन्धन गरेर चुनाव लडेका थिए।
फरकफरक दलका रूपमा चुनिएर आएको तर्क गर्दै उनीहरूले सभामुख र उपसभामुखमा उम्मेदवार उठाएका थिए।
माओवादीका महरा सभामुख तथा एमालेकी तुम्बाहाङ्फे उपसभामुख बनेका थिए।
पछि पार्टी एकीकरण गरेर नेकपा गठन भएको थियो।
सत्ता पक्ष र प्रतिपक्षका आआफ्नै मत
उपसभामुख चयनका लागि भएको मतदानअघि सत्ता र प्रतिपक्षका सांसद्हरूले प्रतिनिधिसभामा बोल्दै आफ्नो मत व्यक्त गरेका थिए।

तस्बिर स्रोत, RSS
त्यस क्रममा सत्तारूढ गठबन्धनमा रहेका दलका सांसदहरूले आफ्नो पक्षका उम्मेदवारीको प्रतिरक्षा गरेका थिए।
विपक्षी सांसदहरूले संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुखमध्ये एउटा पद सत्ता र अर्को प्रतिपक्षले पाउनुपर्ने बताएका थिए।
तर सत्ताधारी गठबन्धनका सांसद्हरूले सत्ता गठबन्धनबाटै उम्मेदवार उठाइएको भए पनि दल र लिङ्ग फरक भएको तर्क गरेका थिए।
नेपालको संविधानमा सभामुख र उपसभामुख फरक दल तथा फरक लिङ्गका हुनुपर्ने व्यवस्था छ। तर संविधानले गठबन्धनबारे केही बोलेको छैन।




















