मङ्कीपक्स नेपालः सङ्क्रमणको आशङ्कामा भर्ना गरिएका युवकको अवस्थाबारे प्रारम्भिक रिपोर्ट के छ

डाबर

तस्बिर स्रोत, Getty Images

Published

मङ्कीपक्स भएको आशङ्कामा काठमाण्डूको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल पठाइएका नेपाली युवकलाई शुक्रवार परीक्षण गरिएको अधिकारीहरूले बताएका छन्।

दुबईबाट बिहीवार स्वदेश फर्केका २६ वर्षीय युवकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित हेल्थ डेस्कले त्यहाँबाट उक्त अस्पताल पठाएको थियो।

निगरानीमा राख्न, अनुसन्धान गर्न र एकान्तवासमा राख्न भन्दै बिहीवार नै उनलाई भर्ना गरिएको अस्पतालका अधिकारीहरूले बताएका छन्।

विभिन्न देशमा पत्ता लागिसके पनि नेपालमा अहिलेसम्म मङ्कीपक्सका कुनै बिरामी फेला नपरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

नेपाली युवक फर्केका देश युएईमा चाहिँ मङ्कीपक्स पुष्टि भइसकेको छ।

अहिलेसम्म के के गरियो?

"वीर अस्पताल, पाटन अस्पताल, [स्वास्थ्य सेवा] विभाग र हाम्रै अस्पतालका छालारोग विशेषज्ञहरूको टोली आज त्यसबारे विमर्श गरेको छ," अस्पतालकी निर्देशक डा. मनिषा रावलले बीबीसीसँग भनिन्।

"त्यस्तो हुनुको सम्भावित कारणबारे उहाँहरूले इभ्यालुएशन गर्नुभएको हो।"

"मङ्कीपक्सलाई पनि ध्यानमा राखेर हेरिरहेका छौँ। विभिन्न सम्भावनामाथि हामीले हाम्रै प्रयोगशालामा पनि परीक्षण गर्दैछौँ," उनले थपिन्।

भर्ना गरिएका युवक शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालकै छालारोग विशेषज्ञहरूको 'निरन्तर निगरानीमा रहेको' डा. रावलले जनाइन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, मङ्कीपक्सबारे जान्नैपर्ने सात कुरा

अहिले पुष्टि नै नभईकन कतिपय सञ्चारमाध्यमले मङ्कीपक्सको बिरामी भन्नु गलत भएको उनले बताइन्।

"अहिले वहाँको अवस्था स्थिर छ, आज ज्वरो पनि छैन। खाना पनि राम्रै खाइरहनुभएको छ," अस्पतालकी निर्देशक रावलले भनिन्।

डा. रावलका अनुसार दुबईमै हुँदा नै करिब एक सातादेखि हातमा बिमिराको समस्या देखिएको ती युवकले बताएका छन्।

"प्रारम्भिक कुरा साँझसम्म आउने रिपोर्टबाट थाहा हुन्छ। तर अरू रिपोर्ट पनि हेर्नुपर्ने भएकोले लगभग आइतवारसम्म सबै कुरा स्पष्ट हुन्छ।"

पुष्टि भएको खण्डमा बिरामीलाई दुईदेखि तीन सातासम्म आइसोलेशनमा राख्नुपर्ने सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्।

"हुन त लक्षण देखिएपछि सामान्यतया केही हप्तामै निको भएर जान्छ, तर त्यसबीचमा स्वास्थ्यमा अस्वाभाविक समस्या देखियो भने लक्षणका आधारमा उपचार गर्ने हो," उनले थपे।

लक्षणहरू के हुन्?

सङ्क्रमणका प्रारम्भिक लक्षणमा ज्वरो आउनु, टाउको दुख्नु, जीउ सुन्निनु, ढाड दुख्नु, मांसपेशी दुख्नु र छटपटी हुनु पर्छन्।

एक पटक ज्वरो आएपछि सुरुमा अनुहार हुँदै शरीरका अन्य भागहरू, प्रायः हत्केला र पैतालामा डाबर देखा पर्न सक्छ।

त्यस्ता डाबरहरू अत्यन्तै चिलाउने हुनसक्छन्। डाबरमा पाप्रा लाग्नुअघि विभिन्न चरणमा परिवर्तन हुन्छ र पछि उप्किन्छ।

सङ्क्रमणका कारण भएको घाउ १४ देखि २१ दिनसम्म रहन्छ र सामान्यतया आफैँ हराउँछ।

सङ्क्रमण कसरी हुन्छ?

सङ्क्रमित व्यक्तिको निकट सम्पर्कमा आउँदा मङ्कीपक्स सर्छ। फुटेको छाला, श्वासनली वा आँखा, नाक वा मुखबाट यो भाइरस शरीरमा प्रवेश गर्न सक्छ।

यसलाई यौनबाट सर्ने सङ्क्रमणको रूपमा व्याख्या गरिएको छैन। तर शारीरिक सम्बन्धको क्रममा प्रत्यक्ष सम्पर्कमार्फत् पनि यो सर्न सक्छ।

त्यस्तै बाँदर, मुसालगायत जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि फैलिन सक्छ।

ज्वरो आउने, टाउको दुख्ने, सुजन हुने, ढाड दुख्ने, मांसपेशी दुख्ने जस्ता समस्या मङ्कीपक्सका लक्षण हुन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ज्वरो आउने, टाउको दुख्ने, सुजन हुने, ढाड दुख्ने, मांसपेशी दुख्ने जस्ता समस्या मङ्कीपक्सका लक्षण हुन्

यो कति खतरनाक छ?

प्रायशः यस भाइरसले मध्यम खालका असरहरू गर्छ।

कहिलेकाहीँ यसका प्रभावहरू ठेउला हुँदा जस्तै देखिन्छन् र केही सातामै निको हुन्छ।

यद्यपि यो भाइरसको सङ्क्रमण कहिलेकाहीँ निकै गम्भीर हुनसक्छ र मङ्कीपक्सका कारण पश्चिम अफ्रिकामा बिरामीको मृत्यु भएको समेत पुष्टि भएको छ।

यसको प्रकोप कति सामान्य?

थुनेर राखिएको एउटा बाँदरमा यो भाइरस पहिलो पटक पहिचान गरिएको थियो।

सन् १९७० देखि नै अफ्रिकाका १० वटा देशमा यो भाइरसका कारण प्रकोप निम्तिएको देखिएको छ।

सन् २००३ मा अमेरिकामा यसको प्रकोप देखियो। मङ्कीपक्स अफ्रिकाबाहिर देखिएको त्यो पहिलो पटक थियो।

त्यतिबेला देशमा आयातित विभिन्न साना स्तनधारी प्राणीबाट समथल भागमा पाइने कुकुरहरू सङ्क्रमित भएका थिए। कुकुरबाट मानिसलाई सङ्क्रमण सरेको थियो। कुल ८१ जनामा सङ्क्रमण देखिएको भए पनि कसैको उक्त भाइरसका कारण मृत्यु भएको थिएन।

अभिलेखहरूका अनुसार सन् २०१७ मा नाइजिरियामा यसको सबैभन्दा ठूलो प्रकोप देखियो। त्यसअघि देशमा सङ्क्रमण पुष्टि भएको लगभग ४० वर्षपछि त्यहाँ नयाँ सङ्क्रमण देखिएको थियो।

त्यहाँ १७२ जनामा मङ्कीपक्स देखिएको अनुमान थियो। तीमध्ये ७५ प्रतिशत सङ्क्रमितहरू २१ देखि ४० वर्ष उमेर समूहका पुरुष थिए।

उपचार के हो?

मङ्कीपक्सको अहिलेसम्म कुनै उपचार छैन।

तर सङ्क्रमण रोकथाम र प्रकोप नियन्त्रण गर्न सकिन्छ।

यो भाइरसको सङ्क्रमण रोक्नको निम्ति बिफरविरुद्धको खोप ८५ प्रतिशत प्रभावकारी साबित भएको छ र अझै पनि त्यसको प्रयोग गरिन्छ।

सर्वसाधारणले डराउनुपर्छ?

विज्ञहरूले यूकेमा मङ्कीपक्सको देशव्यापी प्रकोपको जोखिम नरहेको बताएका छन् र पब्लिक हेल्थ इङ्ग्ल्यान्डले जनताका लागि जोखिम कम भएको जनाएको छ।

नटिङ्गम विश्वविद्यालयका मलिक्यलर भाइरोलजीका प्राध्यापक जोनाथन बलले भने, "सुरुमा मङ्कीपक्सबाट सङ्क्रमित बिरामीसँग सम्पर्कमा आएका ५० जनामध्ये एक जना मात्र सङ्क्रमित भएको तथ्यले भाइरस कति सङ्क्रामक छ भन्ने देखाउँछ।"

उनका अनुसार यसले देशभरि प्रकोप आउन लागेको सङ्केत गर्दैन।

पब्लिक हेल्थ इङ्ग्ल्यान्ड पीएचईमा न्याश्नल इन्फेक्शन सर्भिसका कार्यकारी निर्देशक डा. निक फिनले भने: "मङ्कीपक्स मानिसमा सहजै सर्दैन र सर्वसाधारण मानिसमा हुने जोखिम निकै कम छ भन्ने कुरामा जोड दिनु महत्त्वपूर्ण छ।"

पीएचईले बिरामीसँग नजिकको सम्पर्कमा रहेका व्यक्तिलाई परामर्श दिन र उनीहरूलाई आवश्यकताअनुसार अनुगमन गरिरहेको छ।

स्रोत: पब्लिक हेल्थ इङ्ग्ल्यान्ड र विश्व स्वास्थ्य सङ्गठन