युक्रेन युद्धः मारिऊपोलमा घेराबन्दीमा परेका युक्रेनी सैनिकहरूको उद्धार

तस्बिर स्रोत, Reuters
युक्रेनको बन्दरगाह शहर मारिऊपोलस्थित एउटा स्टील कारखानामा घेराबन्दीमा परेका २६४ युक्रेनी सैनिकको उद्धार गरिएको छ।
युक्रेनी उपरक्षामन्त्रीले रुससँग बन्धक साटासाट सम्झौता अन्तर्गत उनीहरूलाई स्वदेश फर्काइने बताएका छन्।
उद्धार गरिएका २६४ युक्रेनी सैनिकमध्ये ५३ जना गम्भीर घाइते रहेको अधिकारीहरूले बताएका छन्।
उनीहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ।
भीषण बमबारी
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना नायकहरूलाई युक्रेनले जीवितै चाहेको बताएका छन्।
उद्धार गरिएका सैनिकहरू रुस नियन्त्रित क्षेत्रमा छन्।
मारिऊपोलस्थित एजोभस्टाल स्टील कारखानामा ८० दिनभन्दा बढी समयदेखि ती सैनिक रुसी फौजको घेराबन्दीमा थिए।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीका अनुसार ती सैनिकहरूको उद्धार कार्यमा संयुक्त राष्ट्रसङ्घ र रेडक्रम संलग्न थिए।
एजोभस्टाल स्टील कारखानामा रुसी अतिक्रमणविरुद्ध युक्रेनी प्रतिरोधको एउटा प्रतीक बनेको छ।
युक्रेनी सेनाको दाबी अनुसार उक्त बन्दगाह शहरमाथि कब्जा गर्ने अभियानमा करिब २० हजार रुसी सैनिक संलग्न थिए।

तस्बिर स्रोत, Reuters
कारखानाको सुरुङमा रही सयौँ सैनिकले युक्रेनका तर्फबाट प्रतिरक्षा गर्दै आएका थिए।
रणनीतिक रूपमा महत्त्वपूर्ण स्थानमा रहेको उक्त बन्दरगाह शहरमाथि रुसी फौजहरूले अतिक्रमणको शुरूदेखि नै भीषण बमबारी गर्दै आएका छन्।
मारिऊपोलमाथि रुसले कब्जा गर्नुको अर्थ क्राइमिया र डोन्बासबीच सेतु पाउनु हो र त्यसो भए युक्रेनको ब्ल्याक सी तटीय क्षेत्रका ८० प्रतिशतभन्दा बढी भूभागमा रुसको नियन्त्रण हुनेछ।
रुसी फौजको बमबारीका कारण दशौँ हजार सर्वसाधारण मारिएको र शहरका सडकहरूमा शवहरू अलपत्र परिरहेको युक्रेनले जनाएको छ।
तर सर्वसाधारणलाई निशाना बनाएको कुरा रुसले निरन्तर अस्वीकार गर्दै आएको छ।




















