युक्रेन युद्ध: अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री युक्रेन जाँदै, राष्ट्रसङ्घीय महासचिवको रुस भ्रमणप्रति जेलेन्स्की असन्तुष्ट

अमेरिकी विदेशमन्त्री र र रक्षामन्त्री राष्ट्रपति बाइडनसँग

तस्बिर स्रोत, Getty Images

Published

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन र रक्षामन्त्री लोइड अस्टिनले आइतबार किएभको भ्रमण गर्न लागेको बताएका छन्।

युक्रेन र रुसबीच द्वन्द्व सुरु भएपछि युक्रेनको भ्रमण गर्न लागेका उनीहरू सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी हुन्।

आफ्ना वरिष्ठ अधिकारीहरूको किएभ भ्रमणका बारेमा अमेरिकाले अहिलेसम्म प्रतिक्रिया दिएको छैन।

राष्ट्रपति जेलेन्स्कीले उनीहरू ठोस सहयोग लिएर आउने अपेक्षा राखेको बताएका छन्। राष्ट्रपति जेलेन्स्कीले थप हतियार माग गर्न सक्ने ठानिएको छ।

त्यसअघि उनले युक्रेनको युद्धका लागि हतियार एकदमै महत्तवपूर्ण रहेको बताएका थिए।

रुसले युक्रेनमा आक्रमण थालेयता युक्रेन पुगेका वरिष्ठ अधिकारीहरूमा युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायन, युरोपेली सङ्घका वरिष्ठ कूटनीतिज्ञ जोसेफ बोरेल, इस्टोनिया, लाट्भिया, लिथुएनिया र पोल्यान्डका नेताहरू छन्।

सबैभन्दा पछिल्लो पटक यूकेका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको भ्रमण गरेका थिए।

जेलेन्स्कीले राष्ट्रसङ्घका महासचिवबारे के भने

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको बाक्लो उपस्थिति रहेको पत्रकार सम्मेलन किएभको सबवे स्टेशनमा आयोजना गरिएको थिए।

तीन घण्टासम्म सम्बोधन गरेका जेलेन्स्की एकचोटि रेल आएको समयमा केही बेर चुप लागेका थिए।

उनले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शान्तिवार्ताका लागि भेटघाट गर्न तयार रहेको पनि जनाएका छन्।

उनले किएभको भ्रमण नगरीकनै मङ्गलवार मस्कोमा रुसी राष्ट्रपतिलाई भेट्न जान लागेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसको पनि आलोचना गरेका छन्।

राष्ट्रसङ्घका महासचिव

तस्बिर स्रोत, China News Service via Getty Images

स्थलगत रूपमा अवस्थाको जानकारी लिन राष्ट्रसङ्घका महासचिव पहिले युक्रेन आउनुपर्ने उनको भनाइ छ।

राष्ट्रसङ्घको विज्ञप्तिका अनुसार सोमवार टर्की पुग्ने महासचिव गुटेरसले त्यहाँबाट मङ्गलवार मस्को जाने छन्। उनले मस्कोमा राष्ट्रपति पुटिन र विदेशमन्त्री सर्गेइ लाभ्रोभलाई भेट्ने छन्।त्यसपछि उनले बिहीवार किएभको भ्रमण गरी युक्रेनी राष्ट्रपति र विदेशमन्त्रीलाई भेट्ने छन्।टर्कीले युद्ध जारी रहेको अवस्थामा युक्रेन र रुसबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको थियो र दुवै पक्षबीचको वार्ताको आयोजना गरेको छ।  

पत्रकार सम्मेलनमा जेलेन्स्कीले मारिऊपोल सहरको स्टील उद्योगको रक्षा गरिरहेका कुनै पनि बाँकी सैनिकहरूलाई रुसले हत्या गरे वा खेअर्सनमा जनमत सङ्ग्रहको आयोजना गरिएमा युक्रेनले मस्कोसँगको वार्ता भङ्ग हुने बताए।

जेलेन्स्कीले झन्डै ५,००० बालबालिकासहित लगभग पाँच लाख व्यक्तिलाई रुसले कब्जा जमाएको युक्रेनी भूभागबाट रुसतर्फ पठाइएको बताए।

यसैबीच अमेरिकास्थित इन्स्टिट्यूट अफ द स्टडी अफ वारले आफ्नो अद्यावधिक विवरणमा अन्तिम युक्रेनी रक्षकहरू रहेका मारिऊपोलको एजोभ्स्ताल उद्योगमा रुसी सेनाले दबाव बढाइरहेको जनाएको छ।

उक्त विवरणमा रुसी सैनिककहरूले स्टील उद्योगमा तैनाथ अन्तिम युक्रेनी फौजलाई भोकै बनाउने प्रयास रुसले गर्ने र त्यहाँ फसेका नागरिकहरूलाई उद्धार गर्न नदिने भनिएको छ।

युक्रेन युद्ध तेस्रो महिनामा प्रवेश

बीबीसीका कूटनीतिक संवाददाता जेम्स लान्डेलका अनुसार जम्मा आठ सातामा रुसले इतिहासलाई सम्झाएको छ र युक्रेनलाई बीसौँ शताब्दीको त्रासदीपूर्ण अवस्था सम्झन बाध्य पारेको छ।

जेलेन्स्की

तस्बिर स्रोत, AFP via Getty Images

हजारौँ मानिसको ज्यान गएको छ, दशौँ लाख विस्थापित भएका छन् र सहरहरू भग्नावशेषमा परिणत भएका छन्।

उनका अनुसार अतिक्रमणकारी फौजहरूलाई बाल अस्पताल र गैरसैनिक लुकिरहेका एउटा नाटकघरमाथि बम प्रहार गरेपछि युद्ध अपराधको आरोप लगाइएको छ। सहरी क्षेत्र कब्जा, सामूहिक चिहान र निष्कर्षविहीन शान्तिवार्ता दोहोरिएका छन्।

तर पनि रुसी फौजले किएभमा कब्जा जमाउन सकेको छैन र सरकार ढाल्न विफल भएको छ।

युक्रेनी फौजले बलियो प्रतिरोध गरेको छ र युक्रेनी राष्ट्रपति जेलेन्स्कीले देशलाई एकतामा बाँधेर उत्कृष्ट नेतृत्व प्रदर्शन गरेका छन्।

उनी भन्छन्, "तर रुसी फौजहरू पूर्वतर्फ भेला भइरहँदा के युक्रेनले तिनलाई पुनः रोक्न सक्छ? के पश्चिमा शक्तिहरूले आफ्नो सैन्य सहयोगलाई वृद्धि गरेर युद्धका साझा लक्ष्यप्रति एकताबद्ध रहन सक्छन्? वा के समय, थकाइ वा कमजोर अस्त्र भण्डारले उनीहरूको क्षमता घट्छ? यो युद्ध दुई महिनाको भइसकेको छ तर अझै थप केही समय चल्न सक्नेछ।"