युक्रेन युद्ध: अमेरिकाले ८० करोड डलर बराबरको थप सैन्य सहायता पठाउने बाइडनको घोषणा

तस्बिर स्रोत, Getty Images
अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई ८० करोड डलर बराबरको थप सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेका छन्।
बाइडनका अनुसार उक्त सहायतामा हतियार, गोलाबारूद र रणनीतिक ड्रोनलगायत समावेश हुनेछन्।
उक्त सहायता "सीधा स्वतन्त्रताको अग्रपङ्क्तिमा" पठाइने बाइडनले बताएका छन्।
यद्यपि उक्त सैन्य सहायता युक्रेन पुग्नमा विलम्ब हुनसक्ने युक्रेनी उपरक्षामन्त्रीले चेतावनी दिएका छन्।
ट्याङ्क भेदी ज्याभेलिन अस्त्रहरूको सन्दर्भमा बोल्दै यसै साता बाइडनले "कहिलेकाहीँ हामी नरम बोल्छौँ तर ठूलो भाला (ज्याभेलिन) बोक्छौँ किनकि हामीले तीमध्ये धेरैलाई (युक्रेनमा) पठाउँदैछौँ" भनेका थिए।
युद्ध सुरु भएयता युक्रेनी फौजले ज्याभेलिन अस्त्रको प्रयोग गरेर कैयन् रुसी ट्याङ्क ध्वस्त पारेका विवरण आएका थिए।
गत फेब्रुअरी २४ मा रुसी हमला भएयता तीन अर्ब डलर भन्दा बढीको सैन्य सहायता युक्रेन पठाइ सकिएको छ।
डोनबासमा कब्जा
यसैबीच क्रेम्लिनले पूर्वी युक्रेनमा आफ्नो आक्रमण जारी राख्दै डोनबास क्षेत्रका ४० भन्दा बढी गाउँहरू कब्जा गरेको युक्रेनी अधिकारीले बताएका छन्।
तर राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रणनीतिक सहर मारिऊपोल कब्जा गरेको रुसको दाबीलाई अस्वीकार गरेका छन्।

तस्बिर स्रोत, EPA
उनले त्यहाँ अझै युद्ध जारी रहेको र युक्रेनी प्रतिरोधलाई मद्दत गर्न कूटनीतिक र रणनीतिक उपायहरूमा विचार गरिरहेको बताएका छन्।
रुसले उक्त सहर कब्जा गरेको बताएका बेला अमेरिकी राष्ट्रपति जो बाइडनले पनि मारिऊपोल पूर्ण रूपमा रुसी नियन्त्रणमा गएको भनिएको कुरा "शंकास्पद" रहेको बताएका छन्।
मारिऊपोल सिटी काउन्सिलले प्रकाशित गरेको एउटा तस्बिरमा रुसी सेनाले उक्त सहरको सामूहिक चिहानमा कैयौँ शवहरू पुरिरहेको जस्तो देखिएको छ।
तर बीबीसीले त्यसलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन र रुसले पनि त्यसबारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अर्थोडक्स इस्टरका बेला युद्धविरामका लागि गरिएको प्रस्तावलाई रुसले अस्वीकार गरेको पनि बताएका छन्। आगामी आइतवार अर्थोडक्स क्रिस्चियन समुदायको इस्टर परेको छ।
युक्रेनी नेताको उक्त दाबीबारे हालसम्म रुसले कुनै प्रतिक्रिया जनाएको छैन।
अनि यो पनि
- मारिओपोलमा आत्मसमर्पण गर्न रुसले गरेको आह्वान युक्रेनद्वारा अस्वीकार
- युक्रेन-रुसबीच 'वार्ता विफल हुनुको अर्थ तेस्रो विश्वयुद्ध हुनेछ'
- पुटिनले जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्न लागेको बाइडनको दाबी
- पुटिनले विश्वको स्वरूप नै फेरिदिए तर त्यो उनले चाहे जसरी भएन
- युक्रेन युद्धमा रुसी सेनाले गरेका गल्ती के-के हुन्
- तीस वर्षअघि सोभियत सङ्घ ढल्नुका पाँच कारण




















