लाइभ, बाढीबाट ९० हजारभन्दा बढी मानिस प्रभावित भएको अनुमान, मृतकको सङ्ख्या ५०० नाघ्यो,

रसुवाको भोटेकोशी नदी र तलपट्टि त्रिशूलीमा आएको बाढीका कारण मृत्यु हुनेहरूको सङ्ख्या बढेको अधिकारीहरूले बताएका छन्। सयौँ मानिस अझै सम्पर्कविहीन छन्।

सारांश

  • भोटेकोशी-त्रिशूली बाढीका कारण मृत्यु भएका ५०० जनाभन्दा बढीको शव विभिन्न स्थानमा फेला परेको प्रहरीद्वारा पुष्टि
  • बाढीप्रभावित स्थानहरूमा खोज र उद्धारकार्य जारी
  • विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका मानिसहरूलाई बाहिर निकाल्ने प्रयास हुँदै
  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म विदेशी नागरिकसहित झन्डै १,००० जना अझै सम्पर्कविहीन
  • चीनका प्रधानमन्त्रीद्वारा तिब्बततर्फ प्रभावित क्षेत्रको निरीक्षण

लाइभ कभरेज

  1. 'विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक' - प्रधानमन्त्री

    प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक रहेको बताएका छन्।

    "भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र सामग्रीबारे निरन्तर समन्वय भइरहेको छ," शुक्रवार साँझ प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन्। "उद्धारमा हेलिकप्टर परिचालन गर्दा हवाई सुरक्षा, भौगोलिक पहुँच र वास्तविक आवश्यकतालाई ध्यानमा राखिएको छ।"

    यसैबीच भारतीय विदेशमन्त्री एस जयशङ्करले चिकित्सक, प्यारामेडिक्स र सुरुङ उद्धार कार्यका लागि रेकी टोलीसहितको ११ सदस्यीय दल सहायता सामग्री पठाइएको आफ्नो तेस्रो उडानमा रहेको फेसबुकमा जनाएका छन्।

    भारतले यसअघिका दुई उडानमा १० र ३७ टन राहत सामग्री पठाएको थियो।

    प्रधानमन्त्रीले आफ्नो फेसबुक पोस्टमा उनले खोजी कार्य तल्लो तटीय क्षेत्रसम्म विस्तार गरिएको जनाएका छन्।

  2. सम्पर्कविहीनहरूको सङ्ख्या करिब २ हजार

    रसुवा बाढीमा परेर सम्पर्कविहीन हुनेको सङ्ख्या १,९२४ पुगेको छ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका तर्फबाट करिब चार घण्टापछि जारी भएको पछिल्लो विवरणमा हराउनेको सङ्ख्या करिब एक हजारले वृद्धि भएको हो।

    शुक्रवार साँझसम्म ५७९ जनाको शव फेला परेको समेत प्राधिकरणले जनाएको छ।

    विभिन्न जलविद्युत् प्राधिकरणका सुरुङमा सयौँ मानिसहरू फसेको विवरण अद्यावधिक हुनुलाई त्यसरी सम्पर्कविहीन हुनेको सङ्ख्या ह्वात्तै बढ्नुको कारण मानिएको छ।

  3. चीनका प्रधानमन्त्री बाढीबाट प्रभावित तिब्बती क्षेत्रमा

    चिनियाँ प्रधानमन्त्री तिब्बतको बाढीप्रभावित क्षेत्रमा

    तस्बिर स्रोत, Xinhua/RSS

    चीनका प्रधानमन्त्री ली चीआङ र अन्य अधिकारीहरूले तिब्बतमा बुधवारको बाढीबाट प्रभावित क्षेत्रको भ्रमण गरेका छन्। उक्त स्थान नेपालको सीमानजिकै पर्ने केरुङ काउन्टीमा पर्छ।

    चिनियाँ समाचारसंस्था सिन्ह्वाका अनुसार राष्ट्रपति सी जिन्पिङले लीलाई त्यहाँ जारी उद्धार र आपत्कालीन प्रतिकार्यको नेतृत्व गर्न पठाएका हुन्।

    पहिरो खसेर पानीको तल बनेको ठाउँको निरीक्षण गर्न जाँदै चिनियाँ अधिकारीहरू

    तस्बिर स्रोत, Xinhua/RSS

    पहिरो खसेर पानीको तल बनेको ठाउँको निरीक्षण गर्दै चिनियाँ अधिकारीहरू

    तस्बिर स्रोत, Xinhua/RSS

    बुधवारको विनाशकारी बाढीका कारण नेपालमा धनजनको ठूलो क्षति भएको छ। नेपालतर्फ ५५० जनाभन्दा बढी मानिसको मृत्यु भएको पुष्टि भइसकेको छ भने झन्डै १,००० जना अझै सम्पर्कविहीन छन्।

    चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार तिब्बततर्फ कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने विदेशी पर्यटकहरूसहित ५०० जनाभन्दा बढी हराइरहेका छन्।

    बाढीले क्षति पुगेको स्थानमा उद्धारकर्मीहरू

    तस्बिर स्रोत, Xinhua/RSS

    तस्बिरको क्याप्शन, चिनियाँ उद्धारकर्ता र विज्ञहरू पहिरो थुप्रिएर बनेको तालनजिकै पुगेका छन्
    बाढीले क्षति पुगेको स्थानमा उद्धारकर्मीहरू

    तस्बिर स्रोत, Xinhua/RSS

    बाढीले क्षति पुगेको स्थानमा रबरको डुङ्गा बोकेर लैजाँदै चिनियाँ उद्धारकर्मीहरू

    तस्बिर स्रोत, Xinhua/RSS

    प्रधानमन्त्री लीले बाढीबाट प्रभावित स्थानीय बासिन्दाहरूसँग पनि भेटघाट गरेका छन्।

    तस्बिर स्रोत, Xinhua/RSS

    तस्बिरको क्याप्शन, प्रधानमन्त्री लीले बाढीबाट प्रभावित स्थानीय बासिन्दाहरूसँग पनि भेटघाट गरेका छन्
  4. 'श्रीमान्, आमा र बुवा सबै हराए'

    रसुवाकी सुष्मा विकले बुधवार आएको बाढीपछि आफ्ना श्रीमान्, आमा र बुवा सबै हराएको बताएकी छन्।

    उनलाई बिहीवार सेनाले उद्धार गरेर नुवाकोटको त्रिशूलीमा लगेको छ।

  5. बाढीबाट नेपालमा ९०,००० भन्दा बढी मानिस प्रभावित भएको अनुमान - रेडक्रस

    नेपालका लागि रेडक्रस र रेड क्रिसन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी) प्रतिनिधिमण्डलका प्रमुख डेभिड फिशरले नेपालमा अर्को सम्भावित बाढीका कारण पुग्न सक्ने प्रभावबारे अझै चिन्ता कायम रहेको बताएका छन्।

    "हामी पक्कै पनि दोस्रो बाढीको जोखिमलाई लिएर धेरै चिन्तित छौँ," फिशरले आज बिहानको पत्रकार सम्मेलनमा भने।

    उनले बुधवारको विपद्का कारण झन्डै ९३,००० मानिस प्रभावित भएको हुन सक्ने पनि बताए।

    आईएफआरसीले "तत्काल जीवनरक्षक सहायता र प्रतिकार्य"का लागि झन्डै २.५ करोड स्विस फ्र्याङ्क (झन्डै ३ करोड १० लाख डलर) आपत्कालीन सहयोग उपलब्ध गराउन दाताहरूलाई आह्वान गरेको छ।

    आफ्नो "सम्पूर्ण विश्वव्यापी नेटवर्क" परिचालन गरेको उक्त संस्थाको विज्ञप्तिमा उल्लेख छ।

  6. मृतकको सङ्ख्या बढ्यो

    बुधवारको बाढीका कारण ज्यान गुमाएकाहरूमध्ये शुक्रबार दिउँसो १५:०० बजेसम्म ५४७ जनाको शव फेला परेको प्रहरीले बताएको छ।

    रसुवादेखि नवलपरासी पश्चिमसम्म नदीमा शवहरू फेला पर्ने क्रम जारी छ।

    यसअघि प्रहरीले ५३८ जनाको शव फेला परेको जनाएको थियो।

    • रसुवा - १३
    • नुवाकोट - ३८
    • धादिङ - ४०
    • गोरखा - ४४ (विभिन्न मानव अङ्गसहित)
    • चितवन - २२१
    • तनहुँ - २९
    • नवलपरासी पूर्व - १३४
    • नवलपरासी पश्‍चिम - २८
  7. चिनियाँ दूतावासले खोज तथा आपत्कालीन प्रतिकार्यबारे के भन्यो

    काठमाण्डूस्थित चिनियाँ दूतावासले बुधवारको बाढीका कारण हराइरहेका व्यक्तिहरूको खोज तथा उद्धार संवेदनशील चरणमा रहेको जनाएको छ।

    एउटा विज्ञप्तिमा उसले उद्धार र आपत्कालीन प्रतिकार्य नेपाल र चीन दुवैका लागि गम्भीर रहेको जनाएको छ।

    दूतावासले नेपाल र चीन दुवैले जोखिमको निरन्तर निगरानी गरिरहेको र त्यसको व्यवस्थापनका लागि काम गरिरहेको उल्लेख गरेको छ।

    पहिला बाढीपछि "पहिरो थुप्रिएर बनेको दह"मा अहिले "पानीको तह उच्च रहेको र त्यहाँ पानी भरिएर बाहिर निस्किन थालेको" विज्ञप्तिमा उल्लेख छ।

    त्यसबाट उक्त दहको डिल भत्किन सक्ने जोखिम रहेको पनि दूतावासले जनाएको छ।

  8. 'आमा कि उहाँको शवको आशा'

    नुवाकोटका मिलन विश्वकर्मा अहिले बाढीपछि हराइरहेकी आफ्नी आमाको खोजीमा छन्।

    उनी आफ्नी आमा जीवित फेला पर्छिन् कि भन्ने आशामा छन्। अन्यथा आमाको शव पाइन्छ कि भनेर आफू आएको उनले बीबीसी न्यूज नेपालीलाई त्रिशूलीमा बताए।

  9. तिब्बतमा मृतकको सङ्ख्या ५

    बुधवार गएको बाढीका कारण नेपालको सीमापारि तिब्बतमा ज्यान गुमाएकाहरू मध्ये पाँच जनाको मृत्यु भएको पुष्टि भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ।

    उक्त क्षेत्रमा ५५८ जना सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ।

    तीमध्ये विदेशी पर्यटकहरू पनि छन्।

  10. ५३८ जनाको शव फेला पर्‍यो : नेपाल प्रहरी

    बाढी आएको नदी

    रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार अपराह्णसम्म ५३८ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।

    शवहरू सर्वाधिक सङ्ख्यामा चितवन, नवलपरासी पूर्वमा नारायणी नदीमा फेला परेका हुन्।

    बाढीबाट अतिप्रभावित क्षेत्रबाट अधिकांश शवहरू नदीमा बगेर तल पुगेका हुन्।

    रसुवामा बुधवार बाढी आएको भोटेकोशी नदीले अलि तल पुगेपछि त्रिशूलीको रूप लिन्छ। उक्त नदी रसुवा, धादिङ, गोरखा, चितवन र तनहुँलाई छुँदै देवघाटसम्म पुग्छ।

    तनहुँ हुँदै आएको कालीगण्डकी नदी त्यहाँ मिसिएपछि नारायणी नदी बन्छ। नारायणी नदी चितवन र नवलपरासी हुँदै भारततिर जान्छ।

    भारत प्रवेश गरेपछि उक्त नदीलाई गण्डक भनिन्छ।

  11. शुक्रवार अपराह्णसम्म १२१ पर्यटकको उद्धार

    नेपाल पर्यटन बोर्डले शुक्रवार अपराह्णसम्म १२१ विदेशी पर्यटकको उद्धार भएको जनाएको छ।

    तीमध्ये ८५ जना भारतका र १६ जना चीनका नागरिक छन्।

    त्यसबाहेक दक्षिण कोरियासहित अन्य ६ देशका नागरिकको उद्धार गरिएको तर तीन जनाको राष्ट्रियता नखुलेको पर्यटन बोर्डले जनाएको छ।

  12. रसुवा बाढीले पुर्‍याएको क्षतिपछि नेपाललाई सहयोग गर्ने राष्ट्रपति ट्रम्पको प्रस्ताव

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिनाशकारी बाढीपछि अमेरिकाले नेपाललाई सहयोगको प्रस्ताव गरेको बताएका छन्। यस्तो स्तरको विपद् ‘विगतमा कहिल्यै नदेखिएको भन्दै उनले ‘बलिया भवनहरू पनि सिन्का सरह बगेको’ उल्लेख गरे। ट्रम्पले ५०-६० जना अमेरिकीहरू वेपत्ता रहेका उल्लेख गर्दै उनीहरूमध्ये केहीले ‘दुर्भाग्यवश जीवन गुमाउने’ पनि जनाएका थिए। नेपालको नेतृत्वसँग अमेरिकाले कुरा गरेको र जुनसुकै प्रकारको सहयोगको प्रतिवद्धता जनाएको ट्रम्पले बताएका छन्।

    ट्रम्प

    तस्बिर स्रोत, EPA

  13. चीनका राष्ट्रपतिको अध्यक्षतामा आपत्कालीन बैठक

    चिनियाँ राष्ट्रपति सी जिनपिङले भीषण बाढी पछिको उद्धार कार्यबारे अधिकारीहरूसँग आपत्कालीन बैठक गरेको चीनको सरकारी सञ्चारसंस्था सिन्ह्वाले जनाएको छ।

    विवरणहरूमा उक्त बैठकमा उनले चीन र विदेशमा वेपत्ता रहेका व्यक्तिहरूको खोजीमा कुनै कसर बाँकी राख्न नहुने भन्दै वैज्ञानिक खोज तथा उद्धार योजना बनाइनुपर्ने निर्णय लिएका थिए।

    सिन्ह्वाले उक्त बैठकमा नेपालको विपद् प्रभावित क्षेत्रमा राहत उपलब्ध गराइनुपर्ने कुरा उठेको पनि उल्लेख गरेको छ र उद्धारमा अन्तर्राष्ट्रिय सहकार्य अघि बढाउनुपर्ने कुरा भएको पनि उल्लेख गरेको छ।

    सी जिन्पिङ

    तस्बिर स्रोत, Reuters

  14. मृतकको सङ्ख्या बढ्दो क्रममा, ४८९ जनाको शव फेला पर्‍यो

    रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार मध्याह्नसम्म ४८९ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।

    तीमध्ये रसुवामा १३, नुवाकोटमा ३७, धादिङमा ४०, चितवनमा १८६, गोरखामा ४४, तनहुँमा २९, नवलपरासी पूर्वमा ११२ र नवलपरासी पश्‍चिम २८ जना गरी कुल ४८९ जनाको शव फेला परेको हो।

    कहाँ राखिएको छ शव?

    आठ जिल्लामा फेला परेका केही शवहरूलाई छिमेकी जिल्लामा पनि राखिएको राष्ट्रिय विपद् जोखिम व्यवस्थापन तथा न्यूनीकरण आयोगले जनाएको छ।

    कहाँ छन् शव
  15. मन्त्रीहरूको एक महिनाको तलब दैवी प्रकोप कोषमा

    सरकारले सबै मन्त्रीहरूको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति, व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनः स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

  16. तिब्बतमा बनेको बाँधमा 'पानीको मात्रा घट्यो', तालको नक्साङ्कन गर्न ड्रोन प्रयोग

    चीनमा पहिरो खसेर बनेको ताल

    तस्बिर स्रोत, CCTV

    चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले स्थानीय समयानुसार दिउँसो २ बजेपछि दिएको विवरणअनुसार तिब्बततर्फ नदी थुनिएर बनेको बाँधमा पानीको मात्रा केही घटेको छ। अहिले त्यहाँ सामान्य रूपमै उद्धारकार्य भइरहेको छ।

    सीसीटीभीका अनुसार सरकारले परिचालन गरेका उद्धारकर्मीहरूले विपद्बाट प्रभावित क्षेत्रमा राहतकार्य गर्न उपलब्ध सबै उपाय प्रयोग गरेका छन्।

    बीबीसीकी चीनस्थित संवाददाता लोरा बिकरका अनुसार चिनियाँ विज्ञहरूले पहिरो थुप्रिएर बनेका दुईवटा तालको नक्साङ्कन गर्न ड्रोन प्रयोग गरेका छन्।

    चिनियाँ उद्धारकर्ताहरूले नेपाल र तिब्बतका बीच रहेको क्षेत्रमा पुग्न बाढीको जोखिम घटाउन प्रयास गरेको बताइएको छ।

    तिब्बततर्फ रहेको उक्त क्षेत्रमा ५०० जना भन्दा बढी मानिस बेपत्ता छन्।

    बिकरका अनुसार त्यहाँ निरन्तर वर्षा हुँदा ताल फुट्न सक्ने र बाढी आउन सक्ने चिन्ता अधिकारीहरूले व्यक्त गरेका छन्।

    दक्षिणी तिब्बतको विपद्ग्रस्त क्षेत्रबाट १,००० जनाभन्दा बढी मानिसको उद्धार गरिएको छ। तीमध्ये ५०० जनाजति विदेशी पर्यटक छन्।

  17. ‘चीनमा बनेको ताल फुटेको होइन’

    यो YouTube पोस्ट छोड्नुहोस्
    Google YouTube को सामग्रीलाई अनुमति छ?

    यो लेखमा Google YouTube बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Google YouTube cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन। YouTube का सामग्रीमा विज्ञापन हुन सक्छन्।

    YouTube पोस्ट समाप्त

    भोटेकोशी नदीमा लेदोसहितको बाढी बढेको भए पनि चीनतर्फ बनेको ताल फुटेको आधिकारिक जानकारी आफूहरूलाई नआएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले बताएकी छन्।

    यसअघि नेपाल प्रहरीले बाँध भत्केको जानकारी प्राप्त भएको भन्दै खोज तथा उद्धारकार्यमा खटेका सुरक्षाकर्मी, उद्धारकर्ता र सर्वसाधारण मानिसहरूलाई सतर्क रहन र सुरक्षित स्थानतर्फ जान सूचित गरेको थियो।

    चिनियाँ सरकारी सञ्चारमाध्यमले बाँध भत्किएको नभई जम्मा भएको पनि बाँध भरिएर बाहिर निस्किएको विवरण दिएको छ।

  18. सतर्क रहन भनिएपछि मानिसहरू अग्लो स्थानतिर सर्दै छन्, आजादे मोशिरी, दक्षिण एशिया संवाददाता, त्रिशूली

    त्रिशूलीमा नदीभन्दा टाढा अग्लो स्थानमा गएका मानिसहरू

    तस्बिर स्रोत, BBC/Azadeh Moshiri

    नेपाली सुरक्षा निकायले तिब्बततर्फबाट फेरि बाढी आउन सक्ने खतरा रहेको भन्दै उद्धारकर्ता र सर्वसाधारण मानिसहरूलाई सतर्क रहन अनुरोध गरेपछि आपत्कालीन उद्धारकर्मीहरूले मानिसहरूलाई सुरक्षित स्थानतर्फ सार्न थालेका छन्।

    हामी भर्खरै त्रिशूली नदीमाथिको एउटा क्षेत्रमा पुगेका छौँ। यहाँ मानिसहरू खतरा टर्ने पर्खाइमा बसेका छन्।

    सेनाले आएर घर खाली गर्न भनेपछि हामी बसेको होटेलका प्रबन्धक पनि हामीसँगै यहाँ आएका छन्।

    त्रिशूलीस्थित सेनाको ब्यारकमा हेलिकप्टरहरू अवतरण गरिरहेका छन्। तिनले जीवितै उद्धार गरिएका मानिसहरूलाई ल्याउँदै छन्। तीमध्ये केही घाइतेहरू पनि छन्।

    दर्जनौँ मानिसहरू सेनाको ब्यारकबाहिर आफ्ना प्रियजनको खबरको पर्खाइमा वा चिनेका व्यक्तिहरू आइपुग्ने आशामा भेला भएको देखिन्छ।

    भेटिएका मानिसहरूको सूची टाँसिएको भित्तामा नाम हेर्ने मानिसहरूको पनि घुइँचो लागेको छ।

    त्रिशूलीमा नदीभन्दा टाढा अग्लो स्थानमा गएका एक व्यक्ति

    तस्बिर स्रोत, BBC/Azadeh Moshiri

  19. रसुवामा हाइड्रोपावरको सुरुङमा फसेका दुई जनाको उद्धार, प्रधानमन्त्रीको कार्यालयले सार्वजनिक गरेको भिडिओ हेर्नुहोस्

  20. शव व्यवस्थापन कसरी गर्ने भनेर छलफल हुँदै

    हराएका आफन्तको खोजीमा पुगेका मानिसहरू चितवनमा

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, भरतपुरस्थित चितवन उद्योग सङ्घको परिसरमा राखिएको डिस्प्लेमा देखाइएका शवको तस्बिर हेरेर पहिचानका लागि आएका आफन्तहरू

    भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीका कारण मृत्यु हुनेहरूको शव फेला पर्ने क्रम जारी रहेका बेला तिनको व्यवस्थापन कसरी गर्ने भनेर सम्बन्धित जिल्लासँग समन्वय भइरहेको गृह मन्त्रालयले जनाएको छ।

    रसुवादेखि नवलपरासी पश्चिम शव भेटिइरहँदा ती शव व्यवस्थापन सम्बन्धित जिल्लामै गर्ने वा केन्द्रमा कसरी ल्याउने भन्ने विषयमा छलफल भइरहेको गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्य सुवेदीले बताएकी हुन्।

    “जहाँजहाँ शवहरू भेटिएको छ र व्यवस्थापन गर्नुपर्ने छ त्यहाँ कसरी व्यवस्थापन गर्ने भनेर समन्वय भइरहेको छ,” सहप्रवक्ता सुवेदीले भनिन्।

    चितवनमा मात्रै अहिलेसम्म १७८ वटा शव फेलापरिसकेको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए।

    चितवनमा फेला परेका शवमध्ये ७४ पुरुष, ४१ महिला, ६ बालक, २ बालिकाको भएको छुट्टिएको छ।