सोलोमन आईल्यान्ड्स: प्रशान्त क्षेत्रमा चीनले गरेको सम्झौताले अस्ट्रेलिया चिन्तित

चीन र सोलोमनका नेता

तस्बिर स्रोत, Getty Images

Published

चीनले सोलोमन आईल्यान्ड्ससँग सुरक्षा सम्झौता गरेपछि अस्ट्रेलिया, न्यूजील्यान्ड र संयुक्त राज्य अमेरिकाले प्रशान्त क्षेत्रको सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन्।

यसै साता हस्ताक्षर भएको सम्झौतापछि चीनले प्रशान्त क्षेत्रमा नौसैनिक केन्द्र बनाउन अघि बढ्ने चिन्ता बढाएको छ।

चीनसँगको सम्झौता रोक्ने अस्ट्रेलियाको अन्तिम प्रयत्न सोलोमन आईल्यान्ड्सले अस्वीकार गरेको थियो। अस्ट्रेलिया सोलोमन आईल्यान्ड्सको सबैभन्दा ठूलो दातृराष्ट्र हो।

प्रधानमन्त्री मुनासे सोगुभारेले यो सम्झौताले प्रशान्त क्षेत्रको "शान्ति र सद्‌भाव नबिथोल्ने" दाबी गरेका छन्।

उनले सम्झौताका सर्तहरू सार्वजनिक गरेका छैनन्। तर "हाम्रा आँखा खुल्ला राखेर तथा राष्ट्रिय हितबाट निर्देशित भएर" सम्झौता गरिएको उनले जिकिर गरेका छन्।

अनौपचारिक माध्यमबाट बाहिरिएको सम्झौताको एक मस्यौदालाई अस्ट्रेलियाली सरकारले पुष्टि गरेको छ।

जसमा चिनियाँ युद्धपोतहरू सोलोमन आईल्यान्ड्समा तैनाथ गर्न अनुमति दिइने र "सामाजिक शान्ति कायम राख्ने सहयोगका लागि" चीनले सुरक्षा फौजहरू पठाउन सक्ने उल्लेख गरिएको छ।

यो टापुहरूक देशले पछिल्ला वर्षहरूमा अशान्तिको सामना गरिरहेको छ।

गत नोभेम्बरमा प्रधानमन्त्री सोगुभारेलाई पदबाट हटाउन माग गर्दै राजधानी होनिआरामा हिंस्रक दङ्गा भड्किएको थियो।

प्रदर्शनकारीहरूले संसद्‌मा आक्रमण गरेपछि अस्ट्रेलिया सरकारले सैनिक पठाएको थियो।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले मङ्गलवार सम्झौतामा "सामाजिक शान्ति कायम गर्ने" प्रावधान पनि समेटिएको पुष्टि गरेका छन्।

'अस्ट्रेलियाको विदेश नीतिको असफलता'

अस्ट्रेलियाका विदेशमन्त्री मरिज पेन र प्रशान्त मन्त्री जेन ससेल्जाले हालै हस्ताक्षर भएको सम्झौतालाई "निकै निराशाजनक" भएको प्रतिक्रिया दिएका छन्।

उनीहरूले "सम्झौताबारे पारदर्शिताको कमी भएकोबारे आफूहरू चिन्तित भएको" बताएका छन्।

"हामीले अस्ट्रेलियाको समेत राष्ट्रिय चासोलाई ध्यानमा राखेर, निरन्तर व्यक्त गर्दै आएको धारणा के हो भने यो क्षेत्रको सुरक्षा आवश्यकतालाई पूरा गर्न प्रशान्त परिवार नै पर्याप्त छ," उनीहरूको संयुक्त वक्तव्यमा भनिएको छ।

अस्ट्रेलियाको विपक्षी लेबर पार्टीले उक्त सम्झौतालाई विगत ८० वर्षयताकै "अस्ट्रेलियाली विदेश नीतिको सबैभन्दा खराब असफलता"को संज्ञा दिएको छ।

कार्यकाल दोहोर्‍याउने अभियानमा सक्रिय प्रधानमन्त्री स्कट मोरिसनले उक्त सम्झौता आफ्नो सरकारको कूटनीतिक असफलता भएको आरोपलाई अस्वीकार गरेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अस्ट्रेलियामा ऊर्जा केन्द्रका विशाल चिम्नी यसरी ढालिए

उनले प्रशान्त क्षेत्रका टापु देशका "नेताहरूलाई उनीहरूले के गर्नु हुन्छ वा के गर्नु हुँदैन" भन्नेबारे आफूले नभनेको दाबी गरे।

प्रधानमन्त्री मोरिसनले आफ्नो देशको चीनसँग "आज्ञाकारी सम्बन्ध" नहुने बताए।

"हामी सधैँ चीनको विपक्षमा उभिएका छौँ किनभने त्यो हाम्रो हितमा छ," उनले बुधवार संवाददाताहरूसँग भनेका थिए।

न्यूजील्यान्डका विदेश मन्त्री नुनाया माहुताले सोलोमन आईल्यान्ड्सको उक्त सम्झौताले आफ्नो देशलाई दुःखी बनाएको बताएका छन्।

सोलोमनले गत महिना चीनसँग सुरक्षा सम्झौताका लागि मस्यौदा तयार भइरहेको पुष्टि गरेको थियो।

उक्त सम्झौताको विषयले सोलोमनबाट २,००० किलोमिटर दक्षिणमा रहेको अस्ट्रेलियाको चासो बढाएको थियो।

अस्ट्रेलियाको वर्षौँदेखि चीनसँग तनाव बढ्दो छ।

अमेरिकी न्याश्नल सेक्युरिटी काउन्सिलका अधिकारी कर्ट क्याम्बेल उच्चस्तरीय वार्ताका लागि सोलोमनको भ्रमणमा आउनु दुई दिनअघि चीनसँगको सम्झौताबारे समाचार बाहिरिएको हो।

अमेरिकाले यो देशमा सन् १९९३ बाट बन्द रहेको दूतावास खोल्ने बताएको छ।