रुस-युक्रेन युद्ध: 'पुटिन सत्तामा रहन नसक्ने' बाइडनको भनाइविरुद्ध रुसको आलोचनात्मक प्रतिक्रिया

जो बाइडन।
Published

अमेरिकी राष्ट्रपति जो बाइडनले भ्लादिमिर पुटिन "सत्तामा रहन नसक्ने" बताएका छन्। युरोप भ्रमणमा रहेका उनले पोल्यान्डको राजधानी वार्सामा दिएको एक मन्तव्यमा "ईश्वरका लागि पुटिन सत्तामा रहन सक्दैनन्" भनेका हुन्।

उनको भनाइमाथि क्रेमलिनले आलोचनात्मक प्रतिक्रिया जनाएको छ। क्रेमलिनले भनेको छ, "रुसको राष्ट्रपति रुसीहरूले छनोट गरेकाले पुटिन सत्तामा रहने वा नरहने निर्णय बाइडनले गर्ने होइन।"

लगत्तै ह्वाइट हाउसले बाइडनको भनाइले शासन परिवर्तनको लागि आह्वान नगरेको बताउँदै स्पष्टीकरण दियो। "राष्ट्रपतिले पुटिनलाई छिमेकी मुलुक वा कुनै पनि क्षेत्रमाथि शक्ति प्रयोग गर्न दिन नसक्ने बताएका हुन्," एक अधिकारीले भने।

रुसले युक्रेनविरुद्ध आक्रमण गरेको सन्दर्भमा यी भनाइहरू आएका हुन्। एक महिनाअघि सुरु भएको आक्रमण अझै जारी छ।

निरन्तर आक्रमण र क्षति

अघिल्लो साताको अन्त्यमा रुसले आफ्नो रणनीतिमा परिवर्तन गर्ने सङ्केत दिँदै युक्रेनको पूर्वी क्षेत्रलाई "मुक्त" बनाउन केन्द्रित हुने घोषणा गरेको थियो। तर निरन्तर प्रहार भइरहेका विवरणहरू सार्वजनिक भएका छन्।

हालसम्मको सबैभन्दा भीषण लडाइँबाट जोगिएको भनिएको लभिभमा थुप्रै शक्तिशाली विस्फोटको आवाज सुनिएको अधिकारीहरूले बताएका छन्। यस पश्चिमी सहरको बाहिरी क्षेत्रमा कालो र बाक्लो धुवाँ उडिरहेको देखिएको बताइएको छ।

लभिभमा देखिएको धुवाँको मुस्लो।

तस्बिर स्रोत, Reuters

लभिभका गभर्नर म्याक्सिम कोजित्स्कीले पछिल्लो विस्फोटहरूमा परी पाँच जना घाइते भएको र रकेट हमलाका कारण इन्धन भण्डारण केन्द्र र एउटा कारखानामा क्षति पुगेको जानकारी दिए।

हालसम्म यस क्षेत्र देशका अन्य भागहरूबाट सुरक्षित स्थान खोज्दै पुगेका शरणार्थीहरूको लागि आश्रय केन्द्र बनेको छ।

उक्त आक्रमण, बाइडनले लभिभबाट करिब ४०० किलोमिटर टाढा वार्सामा भाषण गरेको केही समयपछि भएको हो।

चेर्निहाइभका मेयरका अनुसार उत्तरी युक्रेनी सहरलाई पनि अहिले रुसी सेनाले पूर्ण रूपमा घेरेको छ।

चर्नोबलको पारमाणविक ऊर्जा केन्द्रका थुप्रै कामदारहरू आश्रित स्लावुटिच सहरलाई पनि रुसी सेनाले कब्जा गरेको थियो। क्षेत्रीय गभर्नरका अनुसार त्यहाँका स्थानीय बासिन्दाहरूले युक्रेनी झन्डा फहराए र रुसको विरोधमा देशभक्ति गीतहरू गाएका थिए।

रुसी सेनाले उत्तर पूर्वी सहर खार्किभमा रहेको पारमाणविक अनुसन्धान केन्द्रमा पनि गोली प्रहार गरेको युक्रेनी संसद्ले जनाएको छ। निरन्तर भइरहेको रुसी गोलाबारीका कारण घटनास्थलमा भएको क्षतिको आकलन गर्न नसकिएको बताइएको छ।

उच्च श्रेणीका अधिकारीको मृत्यु

घटनाक्रमबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने युक्रेनले रुसीहरूलाई "शक्तिशाली प्रहार" गरेको र उनीहरूको "व्यापक नोक्सान" भएको बताएका छन्।

त्यस्तै रुसी सैन्य अधिकारी याकोभ रेजान्त्सेभको दक्षिणी सहर खेरसन नजिकै भएको आक्रमणमा परी मृत्यु भएको युक्रेनको रक्षा मन्त्रालयको दाबी छ।

याकोभ रेजान्त्सेभ

तस्बिर स्रोत, DENIS NASIK/WIKIMEDIACOMMONS

एक पश्चिमी अधिकारीका अनुसार उनी युक्रेनमा मारिने सातौँ जेनरल हुन्।

यद्यपि, रुसले भने हालसम्म आफ्नो पक्षको एक जना मात्र जेनरल मारिएको पुष्टि गरेको छ।

के पुटिनले आफ्नो उद्देश्य परिवर्तन गरेका हुन्?

रुसले आफ्नो आक्रमणको पहिलो चरणको उद्देश्य "सामान्यतया पूरा भएको" बताउँदा, उसले आफ्नो महत्त्वाकाङ्क्षाहरू केही कम गरेकोजस्तो देखिएको बीबीसी संवाददाता पल किर्बीले जनाएका छन्। रुसले युक्रेनको लडाइँ क्षमतालाई उल्लेखनीय रूपमा कमजोर बनाएको दाबी गर्दै आएको छ।

रुसले आफ्नो प्रमुख लक्ष्य लुह्यान्स्क र डोनेट्स्कलाई जनाउने "डोन्बासको स्वतन्त्रता" भएको बताउँदै आएको छ। युक्रेनको पूर्वी क्षेत्रमा रहेको यी दुई स्थानलाई रुसी समर्थित पृथकतावादीहरूले सन् २०१४ मा सुरु भएको युद्धमा कब्जा गरिसकेका थिए।

क्राइमियाली प्रायद्वीप कब्जा गर्नु बाहेक रुसले यसको दक्षिणी तटमा पर्ने युक्रेनी क्षेत्रहरू पनि नियन्त्रणमा लिने किर्बीले उल्लेख गरेका छन्।

साथै उनी अझै पनि भविष्यमा युक्रेनको तटस्थता सुनिश्चित गर्न चाहन्छन्।