युक्रेन युद्धः पुटिनलाई राष्ट्रसङ्घमा अर्को धक्का, झन्‌झन्‌ एक्लिँदै

राष्ट्रसङ्घ

तस्बिर स्रोत, Reuters

Published

रुसले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा प्रस्तुत गरेको युक्रेनसम्बन्धी प्रस्ताव विफल भएको छ।

त्यसलाई केवल रुस र चीनले मात्र समर्थन गरेका थिए। बाँकी सबै १३ सदस्य मुलुक मतदानमा सहभागी भएनन्।

उक्त मस्यौदा प्रस्तावले युक्रेनमा सहायता सामग्रीको ढुवानी तथा गैरसैनिकको रक्षाको आह्वान गरिएको थियो।

तर त्यसमा युक्रेन सङ्कटमा रुसको जिम्मेदारी उल्लेख थिएन। युक्रेनले आफ्नै तर्फबाट मानवीय सहायताको प्रस्ताव यसै साता महासभामा प्रस्तुत गर्दैछ।

महासभामा रुसको भिटो लाग्दैन।

बीबीसीका एकजना संवाददाता भन्छन्, रुसलाई अन्तर्राष्ट्रिय समुदायले एक्ल्याइदिएको नकार्न अब झन् कठिन हुनेछ।

अतिरिक्त क्षेप्यास्त्र

यसैबीच, यूके सरकारले युक्रेनी फौजलाई थप ६ हजार क्षेप्यास्त्र दिने भएको छ।

ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले उनको देशले युक्रेनलाई करिब ६,००० अतिरिक्त क्षेप्यास्त्र दिने घोषणा बिहीवार गर्दैछन्।

ब्रसल्समा उत्तर एट्लान्टिक सन्धि सङ्गठन र जी सेभेनका नेताहरूको बैठकमा जोन्सनले युक्रेनी सैनिक तथा पाइलटहरूको भुक्तानीका लागि २ करोड ५० लाख पाउन्ड स्टर्लिङ उपलब्ध गराउने योजना पनि सार्वजनिक गर्नेछन्।

सो क्षेत्रमा युक्रेनी र रुसी भाषा सेवाहरूका निम्ति यूके सरकारले ४१ लाख पाउन्ड स्टर्लिङ उपलब्ध गराउनेछ।

जोन्सन

तस्बिर स्रोत, Reuters

यसअघि यूकेले करिब ४,००० क्षेप्यास्त्र युक्रेनी फौजलाई उपलब्ध गराइसकेको छ।

ब्रिटिश अधिकारीहरूका अनुसार पछिल्लो सहायता यसअघि मानवीय तथा आर्थिक सहायताका लागि घोषणा गरिएको ४० करोड पाउन्ड स्टर्लिङभन्दा अतिरिक्त हो।

बाइडन ब्रसल्समा

नेटोको आपत्कालीन बैठक तथा जी सेभेन शिखर वार्ताका निम्ति अमेरिकी राष्ट्रपति जो बाइडन ब्रसल्स पुगेका छन्।

नेटोको बैठकले पूर्वी युरोपमा थप फौज परिचालनमा सहमति जनाउने ठानिएको छ। जी सेभेन बैठकले चाहिँ पछिल्ला सातामा रुसविरुद्ध घोषणा गरिएका व्यापक आर्थिक प्रतिबन्धहरूको कार्यान्वयनबारे समन्वय गर्नेछ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसी राजनीतिज्ञ, सत्तानिकट व्यापारी तथा संस्थामाथि थप कारबाही गरिने पनि बताए।

शुक्रवार राष्ट्रपति बाइडन पोल्यान्ड भ्रमणमा जानेछन्।

Presentational grey line

युक्रेन-रुस युद्धसँग सम्बन्धित थप सामग्री

भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेन-रुस युद्ध: नौ वर्षीया युक्रेनी बालिकाले गाइन् शान्तिका लागि गीत
भिडिओ क्याप्शन सुरु हुँदैछ, 'न साइरन न बम, यहाँ सबै कुरा राम्रो छ' - पोल्यान्डमा युक्रेनी शरणार्थी
भिडिओ क्याप्शन सुरु हुँदैछ, युद्ध भइरहेको ठाउँको जनजीवन देखाउन टिकटकमा भिडिओ
भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेनमा रुसी ट्याङ्कले कारलाई किचेर हिँड्यो
भिडिओ क्याप्शन सुरु हुँदैछ, युद्धको अग्रमोर्चामा युक्रेनी सैनिक जोडीको बिहे
Presentational grey line