तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
शेन वार्न: अस्ट्रेलियाका प्रख्यात क्रिकेटरको मृत्यु प्राकृतिक कारणबाट - थाई प्रहरी
अस्ट्रेलियाका क्रिकेट खेलाडी शेन वार्नको थाईल्यान्डमा प्राकृतिक कारणबाट मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
बाउन्न वर्षीय वार्नको पोस्टमोर्टम गर्दा मृत्युको कुनै अन्य कारण फेला नपरेको एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्।
उनी बिदा मनाउन थाईल्यान्डको कोह सामुई टापु गएका थिए। तर गत शुक्रवार उनलाई मृत अवस्थामा फेला पारिएको थियो।
अस्ट्रेलिया सरकारले क्रिकेटका अहिलेसम्मकै एक महान् खेलाडी मानिने वार्नको शव अस्ट्रेलिया लैजाने र राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने बताएको छ।
थाई प्रहरीका प्रवक्ताले वार्नको परिवारलाई पोस्टमार्टमको प्रतिवेदन उपलब्ध गराइएको र उनीहरूले त्यसलाई स्वीकार गरेको बताएका छन्।
उनकी पूर्वपत्नी सिमोन कालाहनबाट वार्नका तीन सन्तान छन्।
क्रिकेटमा सन् १९७० र १९८० ताका तीव्र गतिका बलरहरू चम्किएपछि लगभग हराएको लेग स्पिन भनिने बलिङको एउटा तरिकामा उनको कौशलले क्रिकेटमा एक प्रकारको क्रान्ति नै ल्यायो।
उनले १५ वर्ष लामो खेलजीवनमा १४५ टेस्ट म्याच खेलेका थए भने ७०८ विकेट लिएका थिए। टेस्ट विकेटमा त्यो अहिलेसम्मको दोस्रो सर्वाधिक कीर्तिमान हो।
वार्नले अस्ट्रेलियालाई सन् १९९९मा ५० ओभरको विश्वकप उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
सन् २००० मा उनलाई क्रिकेटको प्रतिष्ठित किताब विज्डनले शताब्दीकै पाँच महान् क्रिकेटरको सूचीमा राखेको थियो।
सो सूचीमा उनीसहित सर डोनल्ड ब्र्याडम्यान, सर गार्फील्ड सोबर्स, सर ज्याक हब्स र सर भिभ रिचर्ड थिए।
उनले सन् २००७मा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएपछि वार्न कमेन्टेटर, क्रिकेटविज्ञ तथा प्रशिक्षकको भूमिकामा देखा परिरहेका थिए।