युक्रेन-रुस युद्धः बन्दरगाह नगर खेअर्सन 'रुसी सेनाको नियन्त्रणमा'

तस्बिर स्रोत, M1Hussain
युक्रेनको बन्दरगाह नगर खेअर्सनका मेयरले त्यहाँ रुसी सेनाले नियन्त्रण कायम गरेको बताएका छन्।
अतिक्रमणयता रुसी फौजको नियन्त्रणमा गएको यो पहिलो महत्त्वपूर्ण सहर हो।
मेयर इगोर कोलीखाएभले उक्त सहरको सभागृहमा अहिले सशस्त्र आगन्तुकहरू रहेको एउटा फेसबुक पोस्टमा लेखेका छन्।
उनले भनेका छन्, "मैले ती फौजहरूलाई भनेँ कि यो नगरमा अहिले युक्रेनी सशस्त्र बलको उपस्थिति छैन, केवल सर्वसाधारण र बाँच्न चाहने मानिस छौँ।"
रुसी सैनिकहरूले स्थानीय समयानुसार राति ८ बजेदेखि बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गरेको र खानेकुरा औषधि एवं अन्य आपूर्तिका सामान बोकेका कारहरूलाई मात्रै आउजाउ गर्न दिइने भनेको मेयरले लेखेका छन्।
रुसी फौजको निर्देशन
उनले बताएअनुसार सडकमा कारहरू सुस्त गतिमा गुडाउन भनिएको छ भने दुई जनाभन्दा बढीको समूहमा नहिँड्न पैदलयात्रीहरूलाई निर्देशन दिइएको छ।
"अहिलेसम्म भएका कुरा यही हुन्। युक्रेनी झन्डा हाम्रो माथि छ र यथास्थितिमा रहन दिन हाम्रो आवश्यकताहरू पूरा हुनुपर्छ, मैले दिनसक्ने अहिले अरू केही छैन," मेयर कोलीखाएभले भने।
खेअरसनका मेयरको यो भनाइलाई बीबीसीले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।
यसअघि मात्रै अमेरिकी रक्षा मन्त्रालयका अधिकारीहरूले खेअर्सन "निकै चुनौती दिइएको सहर" भएको बताएका थिए।
दक्षिणी बन्दरगाह सहर मारिऊपोलको कुरा गर्नु पर्दा घण्टौँ लामो गोलाबारीमा परी सयौँ मानिस मारिएको हुनसक्ने त्यहाँका सहायक मेयरले बताएका छन्।

युक्रेनमाथि रुसको आक्रमणः थप सामग्री
- लाइभः के छ अहिलेको स्थिति?
- कारणःरुसले युक्रेनमा किन आक्रमण गर्यो?
- जेलेन्स्कीः हास्य कलाकार राष्ट्रपति जो नायकका रूपमा उदाएका छन्
- पुटिनः के रुसी राष्ट्रपति अरूको कुरा सुन्छन्?
- युक्रेनबाटःयुक्रेनी नागरिकको अवस्था झल्काउने तस्बिरहरू
- रुसबाटः ‘छोरो फिर्ता पाउन कसको ढोका ढकढक्याऊँ’: रुसी महिलाको बिलौना
- इतिहासः३० वर्षअघि सोभियत सङ्घ ढल्नुका पाँच कारण
- नेपालीःयुक्रेनबाट अरू देश पुगेका नेपालीको कस्तो छ अवस्था

रुसी फौजले गैरसैनिक संरचनाहरूलाई समेत निसाना बनाउँदै आएको युक्रेनी अधिकारीहरूले बताउने गरे पनि मस्कोले त्यसलाई अस्वीकार गर्दै आएको छ।
संयुक्त राष्ट्रसङ्घका अनुसार युक्रेनमाथि रुसी अतिक्रमणको पाँचौँ दिनसम्म २२७ जना सर्वसाधारण मारिएका छन्।
सो अवधिसम्म अन्य ५२५ जना घाइते भएको पनि उसले जनाएको छ।
रुसी सेनातर्फ कति क्षति?
युक्रेनमाथि अतिक्रमणका क्रममा आफ्नो सेनामा भएको क्षतिबारे रुसी रक्षा मन्त्रालयले पहिलो पटक विवरण सार्वजनिक गरेको छ।
उसका अनुसार करिब ५०० सैनिकको मृत्यु भएको छ झन्डै १,६०० घाइते भएका छन्।
तर विश्लेषकहरूले त्यो सङ्ख्या निकै बढी हुनसक्ने बताएका छन्।
यद्यपि हताहत हुने सैनिकको सङ्ख्याबारे मस्कोले दिएको विवरणबाट रुसी सेनाले युक्रेनको तर्फबाट कडा प्रतिवादको सामना गर्नुपरेको देखाएको विश्लेषकहरूको ठहर छ।























