कोभिड नेपालः के सरकारले सबै प्रतिबन्धात्मक नियम हटाउन लागेको हो

तस्बिर स्रोत, Reuters
- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली
- Published
कोभिड खोपको पूर्ण मात्रा लगाउने मानिसको सङ्ख्या बढ्दै जाँदा विश्वका कतिपय मुलुकले प्रतिबन्धात्मक नियम हटाउँदै लगेका विवरण आइरहेका छन्।
नेपालले कतिपय नियम खुकुलो पार्दै गए पनि कैयौँ नियम अझै कायमै रहेको अवस्था छ।
तर पूर्ण मात्रा खोप लगाउनेहरू बढिरहँदा नेपालमा पनि प्रतिबन्धहरू हटाउँदै पूर्ण क्षमतामा व्यापार, व्यवसाय सञ्चालन हुन दिनुपर्ने माग उठ्न थालेको छ।
यद्यपि सरकारले अहिलेसम्म त्यसबारे कुनै ठोस निर्णय चाहिँ गरिसकेको छैन।
प्रतिबन्धको अवस्था के छ?
कोभिड नियन्त्रण तथा रोकथामको प्रयास स्वरूप स्थानीय प्रशासनहरूले सभा, सम्मेलन, पटके बजार लगायतको हकमा लगाएका प्रतिबन्धात्मक नियम हटिसकेका छैनन्।
डिपार्टमेन्टल स्टोर, शपिङ मल, सुपर मार्केट लगायतमा एक पटकमा ५० जनाभन्दा बढी हुन नहुने नियम छ।
पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको ५० प्रतिशत वा बढीमा पूर्ण खोप लगाएका सयजना नबढ्ने गरी उपस्थित हुन पाउने व्यवस्था छ।
डान्स बार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लब लगायतका रात्रिकालीन व्यवसाय, सिनेमा हल, व्यायामशाला, फुटसल लगायत जनस्वास्थ्यका मापदण्डको पालना गरी राति १० बजेमा नबढ्ने गरी फागुन १ गतेबाट सञ्चालन भइरहेका छन्।

तस्बिर स्रोत, RSS
फागुन १ गतेदेखि एक पटकमा कुल दर्शक क्षमताको ५० प्रतिशतभन्दा बढी नहुनेगरी पूर्ण खोप लगाएका दर्शक उपस्थित गराएर खेलकुद कार्यक्रम सञ्चालन गर्न पाइने व्यवस्था छ।
विदेशबाट आउने यात्रुले पूर्ण मात्रा खोप लगाएको हुनुपर्ने र बोडिङ पास जारी हुनुभन्दा ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ रिपोर्ट देखाउनुपर्ने नियम छ।
त्यस्तै विदेश जाने नेपालीले पनि खोप लगाएको प्रमाणपत्र र पीसीआर नेगेटिभ रिपोर्ट देखाउनुपर्ने नियम कायम रहेको अवस्था छ।
सबै नियम हट्छन् त?
पछिल्लो समय नेपालमा कोभिडबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या तीव्र रूपमा घटिरहेको सरकारी तथ्याङ्कले देखाउँछ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रकाशित गर्ने दैनिक विवरण हेर्दा गत एक सातामा दैनिक साढे दुई सयदेखि साढे छ सयको बीचमा सङ्क्रमित थपिएका छन्।
"सङ्ख्याका आधारमा अथवा अरू जुन प्रतिबन्ध हामीले लगाएका छौँ ती चाहिँ अब लगभग हट्छन्," कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सुनिता नेपालले बुधवार बीबीसीसँग भनिन्।
"नाइट क्लबमा समयको जुन सीमा छ, सिनेमा हलमा र रङ्गशालामा सङ्ख्याको जुन कुरा छ त्यो चाहिँ हटाउँदै जाने समझदारी भएको छ। त्यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को आगामी बैठकमा लैजाने तयारी छ," उनले थपिन्।
"अहिलेसम्मको हाम्रो अन्डरस्ट्यान्डिङ भनेको केही समयलाई पूर्ण रूपमा खुला गर्ने र सङ्क्रमण बढ्दै गए फेरि प्रतिबन्धहरू लगाउन पनि सकिने भन्ने हो।"
केन्द्रको सिफारिसका आधारमा छलफल गरी मन्त्रिपरिषद्ले आवश्यक निर्णय गर्ने अधिकारीहरूले बताएका छन्।
तर जोखिम कम नभएकोले सामाजिक दूरीलगायत जनस्वास्थ्यका मापदण्डलाई चाहिँ जारी नै राखिने उनले स्पष्ट पारिन्।
यात्रु जान लागेको देशले ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य नगरेको खण्डमा त्यो नियम पनि हटाउन आफूहरूले सरकारलाई प्रस्ताव गरेको प्रवक्ता नेपालले जनाकारी दिइन्।
उनका अनुसार नेपाल आउने यात्रुको हकमा पीसीआर नेगेटिभ रिपोर्ट हटाउने विषयमा चाहिँ कुनै कुराकानी भएको छैन।
विज्ञ के भन्छन्?
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी अब पनि प्रतिबन्धात्मक नियमहरू लम्ब्याउँदै गए देशलाई घाटा हुने तर्क गर्छन्।
"सरकार आफैँले पनि लक्षित जनसङ्ख्याको ७५ प्रतिशतभन्दा बढीले पूर्ण मात्रा खोप लगाइसकेको बताइरहेको छ। त्यसो हो भने प्रतिबन्धात्मक नियमहरू पनि हटाउँदै लग्नुपर्यो नि त," बीबीसीसँग उनले भने।
तर खुला गरिएपछि कोभिड लक्षण देखिएका व्यक्तिहरूले तुरुन्त रिपोर्ट गर्नुपर्ने कुरा शर्तको रूपमा राख्न सकिने डा. मरासिनी बताउँछन्।
हवाई यात्राका लागि खोप लगाइसकेका व्यक्तिले पनि ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ रिपोर्ट देखाउनुपर्ने नियम पनि हटाउन उनको सुझाव छ।
कतिले खोप लगाए?
स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार मङ्गलवार अपराह्नसम्म कुल जनसङ्ख्याको करिब ६१ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन्।
लक्षित जनसङ्ख्याको ७७.४ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् भने ९०.९ प्रतिशतले एक मात्रा लगाइसकेको मन्त्रालयले जनाएको छ।

तस्बिर स्रोत, RSS
त्यसैगरी मङ्गलवार अपराह्नसम्म करिब ९ लाख ४४ हजारले अतिरिक्त मात्रा पनि लगाइसकेको सरकारी तथ्याङ्क छ।
मन्त्रालयका अनुसार नेपालले हालसम्म चार करोड ७८ लाख ८२ हजारभन्दा बढी मात्रा खोप प्राप्त गरेको छ।





















