तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
शीतकालीन ओलिम्पिक्स: औषधि सेवनको परीक्षण गर्ने नियमहरू कस्ता छन् र क्यामिला भ्यालिएभाले के गरिन्?
एक १५ वर्षीया रुसी खेलाडी क्यामिला भ्यालिएभा 'डोपिङ टेस्ट'मा असफल भए पनि शीतकालीन ओलिम्पिक्समा प्रतिस्पर्धा गर्न पाएकी छन्।
भ्यालिएभाले रुसी ओलिम्पिक्स कमिटी आरओसीलाई स्वर्ण पदक जित्न सघाइन्।
त्यसबेला उनी क्वाड भनिने चार परिक्रमा सहितको प्रस्तुति सफलतापूर्वक गर्ने विश्वकै महिला खेलाडी बनिन्।
अन्तर्राष्ट्रिय परीक्षण निकायले डिसेम्बरमा सङ्कलन गरिएका नमुना परीक्षणमा उनले प्रतिबन्धित औषधि प्रयोग गरेको देखिएको बतायो।
तर मङ्गलवार कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्सले भ्यालिएभालाई उनको उमेरका कारण निलम्बन नगर्न र प्रतियोगितामा सहभागी हुने अनुमति दियो।
यो घटनाले खेलाडीहरूले आफ्नो क्षमता बढाउन प्रतिबन्धित औषधि प्रयोग गर्ने समस्यालाई पुनः उजागर गरिदिएको छ।
भ्यालिएभाले ट्राइमटिजेडिन भनिने सामान्यता मुटुको समस्या भएका मानिसलाई दिइने औषधि प्रयोग गरेको देखिएको थियो।
यो औषधि खेलाडीको लागि प्रतिबन्धित सूचीमा छ। किनकि यसलाई मुटुलाई बलियो बनाउँछ।
उनी मङ्गलवारबाट सुरु हुने एकल तर्फको 'फिगर स्केटिङ' प्रतिस्पर्धामा दोस्रो स्वर्णपदक जित्न तम्सिएकी छन्।
तर उनी आसपास रहने चिकित्सक र अधिकारीहरूलाई उत्तरदायी ठहर्याइनुपर्ने माग भइरहेका छन्।
डोपिङ के हो र कसरी परीक्षण हुन्छ?
केही खेलाडीहरू आफ्नो प्रदर्शन सुधार्न र आफ्नो क्षमता अभिवृद्धि गरी फाइदाका लागि यस्ता औषधि प्रयोग गर्छन्।
यस्ता औषधिमा पाचन प्रक्रियालाई सघाउने स्ट्रेरोइड्स, होर्मोन्स, मुटुसम्बन्धी औषधिहरू, मादक पदार्थ र दम नियन्त्रणमा प्रयोग हुने औषधि छन्।
खेलाडीहरूले प्रदर्शन राम्रो बनाउन त्यस्ता औषधि प्रयोग गरेको वा नगरेको हेर्न उनीहरूको रगत र पिसाबको नमुनालाई वर्ल्ड एन्टी-डोपिङ एजेन्सी वाडाले परीक्षण गर्छ।
वाडाले खेलाडीले प्रतिबन्धित औषधि प्रयोग गर्ने प्रवृत्ति हटाउने प्रयास गरिरहेको छ।
क्षमता अभिवृद्धि गर्ने औषधिको प्रयोगले ओलिम्पिक्सको गरिमा र विश्वसनीयतालाई कमजोर पार्ने कारण वाडाको निर्देशनमा क्षेत्रीय तथा राष्ट्रिय एन्टी डोपिङ निकायहरूले परीक्षण गर्छन्।
खेलाडीहरूमाथि वर्षको जुनसुकै दिन परीक्षण हुनसक्छ।
डोपिङविरूद्ध कस्तो कारबाही हुन्छ?
खेलाडीहरू प्रतिस्पर्धाकै लागि अयोग्य हुन सक्नुका साथै पदक समेत फिर्ता दिनुपर्ने हुनसक्छ।
उनीहरू चार वर्षका लागि जुनसुकै खेल खेल्न अयोग्य हुन सक्छन्।
खेल्न मात्र होइन तालिम लिन वा दिनका लागि समेत उनीहरू प्रतिबन्धित हुन सक्छन्।
उनीहरूले जरिबाना समेत तिर्नुपर्ने हुनसक्छ।
ओलिम्पिकसमा रुसी खेलाडीहरूलाई पूर्ण रूपले प्रतिबन्ध लगाइनुपर्ने माग भइरहँदा समेत उनीहरू तटस्ठ ओलिम्पिक्स कमिटीको टोलीका रूपमा सहभागी भइरहेका छन्।
अमेरिकी एन्टिडोपिङ निकायका प्रमुखले आफ्नो देशले भ्यालिएभालाई हालै पारित भएको रडचेन्कोभ कानुनका भरमा त्यस्तो औषधि दिनेमाथि अभियोजन चलाउने प्रयास गर्न सक्ने जनाएका छन्।
त्यसले अदालतलाई गैरअमेरिकी समेतलाई जरिबाना तिराउने बाटो खोलिदिन्छ।
त्यस्तो जरिबाना १० लाख डलरसम्म वा उनीहरूका गतिविधिले अमेरिकी खेलाडीको नतिजालाई असर पारेमा दोषीलाई १० वर्षसम्मको जेल सजाय हुनसक्छ।
रुसको विगत
सन् २०१६ मा रुसले ग्रीष्मकीलिन र शीतकालीन ओलिम्पिक्सका लागि राज्यकै सहयोगमा डोपिङ कार्य्रकम सञ्चालन गरेको खुलासा भएको थियो।
जसमा सन् २०१४ को सोची शीतकालीन ओलिम्पिक्स समेत समावेश थियो।
आफैँले आयोजना गरेको त्यसमा रुसले पदक तालिकामा सबैलाई उछिनेको थियो।
वाडाको छानबिन समितिको खुलासाअनुसार त्यहाँको राष्ट्रिय एन्टीडोपिङ निकाय रुसाडाले खेलाडीहरूलाई परीक्षणको पूर्वजानकारी दिनुका साथै हजारौँ नमुना नष्ट गरेको थियो।
उसले डोपिङ नियामक अधिकारी र तिनका परिवारलाई दुर्व्यवहार गर्नुका साथै त्यस्ता परीक्षण छल्न घुस खुवाएको सो खुलासामा जनाइएको थियो।
वाडाले प्रतिबन्धित औषधि सेवनको शङ्का लागेका कैयौँ खेलाडी सन् २०१२ को लन्डन ओलिम्पिक्सका खेलहरू पूरा गरेको जनाएको छ।
फलस्वरुप रुसी खेलाडीहरू सन् २०१६ को रियो ग्रीष्मकालीन ओलिम्पिक्सका लागि 'ट्याक एन्ड फिल्ड' स्पर्धाका लागि प्रतिबन्धित बनेका थिए।
सन् २०१९ मा वाडाले रुसी टोलीहरूलाई सबै मुख्य प्रतिस्पर्धामा प्रतिबन्ध लगाएको छ।
सो प्रतिबन्ध यो वर्षको डिसेम्बरसम्म कायम रहन्छ।
रुसी सरकारले डोपिङमा आफ्नो समर्थन रहेको कुरालाई अस्वीकार गरे पनि उसले त्यससम्बन्धी देशमा ठूलो समस्या रहेको स्वीकारेको छ।
हाल रुस एउटा राष्ट्रका रुपमा ग्रीष्मकालीन वा शीतकालीन ओलिम्पिक्समा सहभागी हुन प्रतिबन्धित छ।
तर रुसी खेलाडीहरू रुसी ओलिम्पिक्स कमिटी आरओसीको तटस्थ झण्डासाथ खेल्न पाइरहेका छन्।
खेलाडीहरू स्वच्छ रहेको प्रमाणित हुनुपर्छ र यसअघिका डोपिङ प्रकरणसँग जोडिएको हुनुहुँदैन।
स्वर्ण पदकहरू जित्ने आरओसीका खेलाडीहरूले पोडियममा राष्ट्रिय गान सुन्न पाउने छैनन्।
उनीहरूले रुसी झण्डा बोक्न वा लुगामा कतै त्यो उल्लेख गर्न पाउने छैनन्।
टोक्योमा भएको २०२० ग्रीष्मकालीन ओलिम्पिक्समा अन्य देशका खेलाडीहरू रुसीहरूलाई पूर्ण रूपमा खेल्न दिएको भन्दै गुनासो गरेका थिए।