कोभिड नेपाल: थपिए १,३६९ सङ्क्रमित, अर्को हप्ताबाट विद्यालय खुल्न लाग्दा विज्ञ के भन्छन्

तस्बिर स्रोत, EPA
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा पछिल्लो २४ घण्टामा १,३६९ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको जनाएको छ।
उक्त अवधिमा ११,८८० वटा नमुना परीक्षण गरिएका थिए।
केही दिनदेखि निरन्तर ओरालो लागिरहेको सङ्क्रमण दर बिहीवार ११.५२ प्रतिशत रहेको छ।
यो अवधिमा २,२३८ जना निको भएका छन् भने सक्रिय सङ्क्रमितहरूको सङ्ख्या २९ हजारभन्दा बढी छ।
पछिल्लो २४ घण्टामा थप १२ जनाको कोभिड-१९ ले गर्दा निधन भएको छ। योसँगै निधन हुनेको कुल सङ्ख्या ११,८६४ पुगेको छ।
कहाँ कति सक्रिय सङ्क्रमित
हाल काठमाण्डूमा ७,१७० जना, ललितपुरमा ३,४३१ जना र भक्तपुरमा १,४६४ जना सक्रिय सङ्क्रमित रहेका छन्।
काठमाण्डू उपत्यकाका तीनसहित १३ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् भने १५ वटा जिल्लामा दुई सयभन्दा बढी सङ्क्रमितहरू रहेका छन्।
हाल २२५ जना आईसीयुमा र ३२ जना भेन्टिलेटरमा उपचाररत रहेको जनाइएको छ।
स्वास्थ्य अधिकारीहरूले ओमिक्रोन भेरिअन्टका कारण नेपालमा पछिल्लो सङ्क्रमणको लहर देखा परेको बताउने गरेका छन्।
यो लहर उच्च विन्दुमा हुँदा दैनिक १२ हजार भन्दा बढीमा सङ्क्रमण देखा परेको थियो। हाल उक्त क्रम घटिरहेको छ।
विज्ञ के भन्छन्
एक जना सङ्क्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन धेरै जना सङ्क्रमित भइसकेकाले सङ्क्रमण दर शिथिल बनिरहेको बताउँछन्।

तस्बिर स्रोत, EPA
उनले भने, "मलाइ जहाँसम्म लाग्छ अहिले नै कुनै नयाँ लहर तत्कालै कारणवश आउने सम्भावना देख्दिनँ। यो भाइरसले स्वरूप परिवर्तन गर्ने क्षमता राख्छ भन्ने हामीले देखिसकेका छौँ। तर मलाई लाग्छ भाइरस विगतमा जस्तो कडा रूपमा नदेखिएर आगामी दिनमा क्रमशः कमजोर हुँदै जानेछ।"
सरकारले आगामी फाल्गुन १ गतेबाट विद्यालयहरू पुन: सञ्चालनमा ल्याउने र अवरुद्ध रहेका परीक्षाहरू सञ्चालन गर्ने बताइसकेको छ।
त्यसबारे डाक्टर पुन भन्छन्, "हामीले व्यवस्थापनमा केही सतर्कता अपनाएर विद्यालयहरू सञ्चालनमा ल्याउन मिल्छ। विद्यालय लगायत विभिन्न क्षेत्रहरू खोल्दै जाँदा हामीले अहिले पनि कैयौँ मानिसहरूले खोप नलगाइसकेको वा कुरिरहेको पनि हुन सक्छन् भन्ने कुरालाई ध्यान दिनुपर्छ र स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ।"
ओमिक्रोन कस्तो भेरिअन्ट हो
ओमिक्रोन भेरिअन्टका कोरोनाभाइरसका अरू भेरिअन्ट भन्दा द्रुत गतिमा फैलने गरेको बताउने गरिन्छ।
त्यसमध्ये पनि अझै द्रुत गतिमा फैलने भनिएको ओमिक्रोनको बीए.टु सब भेरिअन्ट नेपालमा देखा परेको अधिकारीहरूले बताइसकेका छन्।
बुधवार पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयकी प्रवक्ता सङ्गीता कौशल मिश्रले ९५ वटा नमुना जीन सिक्वेन्सिङका लागि गएको माघ २४ गते भारत पठाइएकोमा ७८ वटा अर्थात ८२ प्रतिशतमा ओमिक्रोनको बीए.टु पुष्टि भएको बताइन्।
अमेरिकाको सेन्टर फर डीजीज कन्ट्रोलले कोभिड-१९ का लागि जिम्मेवार मूल कोरोनाभाइरस र पछि आएको डेल्टा भेरिअन्टभन्दा ओमिक्रोन बढी तेज गतिमा सर्ने बताएको छ।
तर विगतका भेरिअन्टभन्दा यसले शरीरमा कम असर गर्ने विज्ञहरूको मत पाइन्छ।
प्रारम्भिक तथ्याङ्कले ओमिक्रोनले मध्यम स्तरको बिरामी बनाउने तर कतिपय मानिसहरूमा गम्भीर प्रभाव पर्ने उनीहरूलाई अस्पतालमा भर्ना गर्नुपर्ने अवस्थासमेत आउन सक्ने देखाएको छ।
ओमिक्रोनका कारण सङ्क्रमितमध्ये थोरैलाई अस्पताल पुर्याउनुपर्ने आवश्यकता पाइएको भएपनि ठूलो सङ्ख्यामा सङ्क्रमण फैलँदा त्यसले जनस्वास्थ्य प्रणालीमा चाप थप्ने भन्दै सावधानी अपनाउन विज्ञहरूले अनुरोध गर्ने गरेका छन्।
यो भेरिअन्टसँग जुझ्न खोप लगाउनुपर्ने, नियमित रूपमा मास्कको प्रयोग गर्नुपर्ने र कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिए परीक्षण गराउनुपर्ने विज्ञहरूको सुझाव पाइन्छ।




















