कोभिड नेपालः थप १७ सय जनामा कोरोना भाइरस, सङ्क्रमण ओरालो लाग्ने क्रम जारी

Published

नेपालमा विगत २४ घण्टामा १,७१४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले शनिवार अपराह्ण सार्वजनिक गरेको विवरणअनुसार थप नौ जनाको कोभिडका कारण मृत्यु भएको छ।

सो अवधिमा ४,७७१ जना सङ्क्रमणमुक्त भएका छन्।

अहिले देशभरि पुष्टि भएका निको हुन बाँकी सङ्क्रमितको सङ्ख्या ५२,७८० छ।

तीमध्ये अधिकांश अधिकांश काठमाण्डू उपत्यकाका तीन जिल्लामा भए पनि विभिन्न प्रदेशका केही जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या उल्लेख्य भएको तथ्याङ्कले देखाउँछ।

विज्ञहरूका अनुसार नेपालमा अहिले अतिसङ्क्रामक ओमिक्रोन भेरिअन्टका कारण सङ्क्रमण फैलिएको हो।

चाँडै फैलिने भए पनि अधिकांश सङ्क्रमित व्यक्तिमा मध्यम खालका लक्षण देखिने गरेका छन्।

कहाँ छन् सङ्क्रमित?

अहिले उपत्यकाबाहिर झापा, मोरङ, सुनसरी, धनुषा, काभ्रेपलान्चोक, चितवन, मकवानपुर, कास्की, नवलपरासी पूर्व, बाँके, रूपन्देही र कैलाली जिल्लामा धेरै सक्रिय सङ्क्रमित छन्।

सङ्क्रमितमध्ये २५१ जना आईसीयूमा र ४९ जना भेन्टिलेटरमा उपचाररत भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार जनाएको छ।

विगत २४ घण्टामा ५,२२५ पीसीआर र ३,२८८ एन्टिजन विधिबाट गरी कुल ८,५१३ वटा परीक्षण भएका थिए।

तीमध्ये २०.१ प्रतिशत नमुनामा सङ्क्रमण देखिएको हो। कोभिड सङ्क्रमणको तेस्रो लहर उच्चबिन्दुमा पुग्दा गत माघ ८ गते परीक्षण गरिएका मध्ये ५०.८ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको थियो।

पुसको अन्तिम सातादेखि बढ्दै गएको सङ्क्रमितको सङ्ख्या गत सातादेखि ओरालो लाग्न थालेको देखिन्छ।

एक साता अघि देशभरि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार नाघेको थियो।

के छ अरू तथ्याङ्क?

केही दिनदेखि कोरोनाभाइरस सङ्क्रमणको तेस्रो लहर ओरालो लागेको भए पनि केही जिल्लामा अहिले पनि १,००० भन्दा बढी सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयको तथ्याङ्कअनुसार पाँच वटा प्रदेशका १२ जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या धेरै छ।

बागमती प्रदेशका पाँच वटा जिल्लामा १,००० भन्दा बढी सक्रिय सङ्क्रमित छन्। सर्वाधिक सक्रिय सङ्क्रमित भएको यो प्रदेशको काठमाण्डूमा सबैभन्दा धेरै अर्थात् १३ हजार ८६ सक्रिय सङ्क्रमित छन् भने उपत्यकाका ललितपुरमा ९,३२६ र भक्तपुरमा ३,५८३ सक्रिय सङ्क्रमित छन्। तीन जिल्लापछि चितवन र काभ्रेपलान्चोकमा बढी सङ्क्रमित रहेको तथ्याङ्कले देखाउँछ।

गण्डकी प्रदेशको कास्की जिल्लामा पनि सक्रिय सङ्क्रमितको सङ्ख्या १,००० भन्दा बढी छ। यो काठमाण्डू उपत्यकापछि सबैभन्दा धेरै सक्रिय सङ्क्रमित भएको जिल्ला हो।

शनिवारसम्म मधेश प्रदेश र कर्णाली प्रदेशका कुनै पनि जिल्लामा १,००० भन्दा बढी सक्रिय सङ्क्रमित नरहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

गण्डकीको मनाङमा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य छ। यो हिमाली जिल्लामा अहिलेसम्म केवल १६७ जना कोभिड पुष्टि भएकोमा चार जनाको मृत्यु भएको थियो।

लुम्बिनी प्रदेशमा बढी आवतजावत हुने भारतीय सीमानाका भएका रूपन्देही र बाँकेमा १,००० भन्दा बढी सक्रिय सङ्क्रमित छन्।

सुदूरपश्चिम प्रदेशमा पनि भारतसँग बढी आवतजावत हुने सीमानाका भएको कैलालीमा १,००० भन्दा बढ सक्रिय सङ्क्रमित छन्।