फ्रान्सेली तटभन्दा पर आन्ध्र महासागरमा एक लाखभन्दा बढी मरेका माछाको विशाल थुप्रो

तस्बिर स्रोत, Sea Shepherd via Reuters
फ्रान्सेली तटभन्दा पर आन्ध्र महासागरमा एक लाख वटाभन्दा बढी मरेका माछा छरिएको फेला परेपछि फ्रान्सको मत्स्य मामिलामन्त्रीले त्यसबारे छानबिन हुने घोषणा गरेकी छन्।
पर्यावरण अभियानकर्ताहरूले खिचेको भिडिओमा समुद्रको सतहमा ठूलो सङ्ख्यामा मरेका माछा तैरिरहेको देखिन्छ।
मत्स्य उद्योगले जारी गरेको एउटा विज्ञप्तिमा मार्जिरिस नामक विश्वको दोस्रो ठूलो ट्रोलर अर्थात् माछा मार्न प्रयोग गरिने विशेष जहाजको जाली चुँडिएपछि "एउटा दुर्घटना" भएको जानकारी दिएको उल्लेख छ।
मरेका माछा कड परिवारको ब्लू ह्वाइटिङ जातको रहेको बताइएको छ।
ती माछा उक्त जहाजको कोटाबाट कटौती गरिने पनि विज्ञप्तिमा भनिएको छ।
मृत माछाको विशाल थुप्रोको भिडिओ खिचेको द सी सेपर्ड फ्रान्स नामक पर्यावरणसम्बन्धी अभियान चलाउने समूहले माछाहरू ३२,३०० वर्गफुट अर्थात् ३,०० वर्गमिटर क्षेत्रफलमा फैलिएका छन्।

तस्बिर स्रोत, Reuters
उक्त समूहकी प्रमुख लाम्या इसेम्ललीले समाचारसंस्था रोएटर्ससँग कुरा गर्दै अस्ट्रेलियाली जलक्षेत्रमा प्रतिबन्धित गरिएको भनिएको उक्त ट्रोलरबारे "फ्रान्सेली सर्वसाधारणमाझ जनचेतना बढाउन" चाहेको बताएकी छन्।
माछासम्बन्धी मामिला हेर्ने मन्त्री अनिक जिहार्दाँले आफूले त्यस विषयमा छानबिन गरिरहेको र ती तस्बिरहरू स्तब्ध पार्ने खालका भएको टिप्पणी ट्विटरमा गरेकी छन्।
युरोपेली सङ्घका पर्यावरण, समुद्र तथा माछासम्बन्धी मामिला हेर्ने एक आयुक्तले आफूले "उक्त घटनाबारे पूर्ण जानकारी तथा प्रमाण" खोजिरहेको बताएका छन्।
द पेलाजिक फ्रीजर-ट्रोलर असोसिएशनले एउटा विज्ञप्ति प्रकाशित गर्दै मार्जिरिसको एउटा जाली बिहीवार स्थानीय समयानुसार ५:५० बजे चुँडिएको जनाएको छ।
उसले यो "निकै दुर्लभ घटना" भएको उल्लेख गरेको छ।
"युरोपेली सङ्घको कानुनअनुसार त्यो कुरा उक्त जहाजको लगबुकको अभिलिखित छ र उक्त जहाज दर्ता भएको मुलुक लिथूएनिआका अधिकारीहरूलाई रिपोर्ट गरिएको छ," उक्त संस्थाले भनेको छ।
यो पनि हेर्नुहोस्

























