कोभिड नेपाल: नयाँ सङ्क्रमितको सङ्ख्या केही कम, तर काठमाण्डू उपत्यकाबाहिर फैलिँदैछ सङ्क्रमण

कोभिड परीक्षण

तस्बिर स्रोत, RSS

Published

नेपालमा कोरोनाभाइरस सङ्क्रमणको दर विगत केही दिनदेखि निरन्तर घटेको जस्तो देखिए पनि काठमाण्डू उपत्यकाबाहेक अरू स्थानमा कोभिड पुष्टि हुने दर नघटेको तथ्याङ्कले देखाएको छ।

आइतवार देशैभरि ३,५४० सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चार दिनमा कोभिडका कारण ३२ जनाको मृत्यु भएको जनाएको छ।

विगत २४ घण्टामा ९,९१० जनाको आरटीपीसीआर विधिबाट परीक्षण हुँदा ३,०४९ जनामा र ३,२०० जनाको एन्टिजन विधिबाट परीक्षण हुँदा ४९१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता मञ्जु कौशल मिश्रले जानकारी दिइन्।

सो अवधिमा अवधिमा ६,३५९ जना सङ्क्रमणमुक्त भएका छन्। आइतवार सार्वजनिक गरिएको तथ्याङ्कमा काठमाण्डू उपत्यकामा सङ्क्रमितको सङ्ख्या १,७७८ देखिएको छ। यो सङ्ख्या पछिल्लो २४ घण्टामा देशैभर सङ्क्रमित भएकाहरूको आधा हो।

गत साता आइतवार थपिएका ५८ प्रतिशतभन्दा बढी सङ्क्रमित उपत्यकाका काठमाण्डू, ललितपुर र भक्तपुर जिल्लामा थिए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत आइतवार सार्वजनिक गरेको विवरणमा देशैभरि थपिएका ६,४६२ सङ्क्रमितको आधाभन्दा धेरै ३,७९१ जना उपत्यकामा भएको उल्लेख छ।

तर साताको अन्तिम दिन थपिएका नयाँ सङ्क्रमितको एकतिहाई मात्रै काठमाण्डू उपत्यकामा छन्। सरकारले शनिवार पुष्टि गरेका ४,९०४ नयाँ सङ्क्रमितमध्ये ३७ प्रतिशत उपत्यकामा थिए।

देशैभरि थपिएका सङ्क्रमितको एकतिहाई सङ्ख्या उपत्यकामा थपिँदा बाँकी दुईतिहाईजति सङ्क्रमित उपत्यकाबाहिर थपिएको मन्त्रालयको तथ्याङ्कमा देखिन्छ।

गत साताको तुलनामा देशैभरि सङ्क्रमितको सङ्ख्यामा कमी आइरहे पनि उपत्यकाबाहिर सङ्क्रमण फैलिने क्रम अझै उच्च रहेको अधिकारीहरूले बताएका छन्।

उपत्यकामा सङ्क्रमणको अवस्था के छ?

काठमाण्डू उपत्यकामा सङ्क्रमण दर र सक्रिय सङ्क्रमितको सङ्ख्या दुवै निरन्तर घटिरहेको तथ्याङ्कले देखाउँछ।

यसरी बढिरहेको छ कोरोनाभाइरस सङ्क्रमण. नेपालमा कोभिड-१९.  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  दैनिक प्रकाशित गरेको विवरणमा आधारित.

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुन पछिल्ला दिनहरूमा अस्पतालमा बिरामीको चाप पनि घटिरहेको बताउँछन्।

"पहिला बिरामीहरूको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको थियो। तर पछिल्लो साताबाट बिरामीको चापमा कमी हुँदै आएको छ," उनले भने। "यो हप्ताबाट अझै कमी हुन्छ भन्ने मेरो अनुमान छ।"

ओमिक्रोन भेरिअन्ट छिटो फैलिने र छिटो निको हुने भएकाले यसको लहर अब कम प्रभावकारी हुँदै जाने पुनको आकलन छ।

अहिले नेपालमा कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्टका कारण सङ्क्रमणको नयाँ लहर आएको विज्ञहरूको भनाइ छ।

के छ उपत्यकाबाहिरको अवस्था?

कोभिठ खोप

तस्बिर स्रोत, RSS

मन्त्रालयका अनुसार प्रदेश नं १ मा झापा मोरङ र सुनसरी तथा मधेश प्रदेशमा धनुषा सप्तरी र सिराहामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन्।

बागमतीमा उपत्यकाबाहेक चितवन, मकवानपुर काभ्रेपलान्चोक र नुवाकोट तथा गण्डकीमा कास्की नवलपरासी पूर्व र तनहुँमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन्।

लुम्बिनीका बाँके, रूपन्देही र दाङ तथा सुदूर पश्चिमको कैलालीमा सक्रिय सङ्क्रमितहरूको सङ्ख्या ५०० बढी छ।

उपत्यकाबाहिर परीक्षणको सुविधामा समस्या र परीक्षण गराउनैपर्ने बाध्यता कम हुने भएकाले पनि सबै सङ्क्रमितहरू परीक्षणको दायरामा नआएको हुनसक्ने डा. पुन ठान्छन्।

"यो लहरमा काठमाण्डूमा नै परीक्षण कम भयो। बाहिर अझै कम परीक्षण हुने भएकाले सङ्क्रमितको सङ्ख्या बढी पनि हुनसक्छ," उनले भने।

भिडिओ क्याप्शन सुरु हुँदैछ, चिसो, फ्लू र कोभिड-१९ का लक्षण कसरी छुट्याउने