कोभिड नेपालः थप ८४ सय जनामा कोरोना भाइरस, सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार नाघ्यो

तस्बिर स्रोत, Reuters
नेपालमा विगत २४ घण्टामा ८,४५४ जनामा कोभिड पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधवार अपराह्ण जनाएको छ।
अहिलेको वृद्धिसँगै देशभरि रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार नाघेको छ।
तीमध्ये आधाभन्दा बढी काठमाण्डू उपत्यकाका तीन जिल्लामा छन्।
मन्त्रालयले प्रकाशित गरेको विवरणअनुसार कोभिडसँग सम्बन्धित कारणले थप पाँच जनाले ज्यान गुमाएका छन्।
अहिलेको अवस्था के छ?
बुधवार अपराह्न प्रकाशित विवरणअनुसार विगत २४ घण्टामा १३,५४९ वटा परीक्षण पीसीआर विधिबाट र ६,८१० वटा एन्टिजन विधिबाट कुल २०,३५९ परीक्षण गरिएको थियो।
पीसीआर विधिबाट गरिएका परीक्षणमध्ये ४१ प्रतिशतभन्दा बढीमा र एन्टिजन परीक्षणमा ४२प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो।
Nepal_daily_covid_Cases
अहिले देशभरि सङ्क्रमितको सङ्ख्या ९००६७ रहेको तथ्याङ्कले देखाउँछ। तीमध्ये अधिकांश काठमाण्डू उपत्यकाका छन्।
"वैशाखमा भएको डेल्टा भेरिअन्टको लहरको तुलनामा यसपालि सघन उपचार कक्षमा भर्ना हुने चारगुनाले कम र भेन्टिलेटरको आवश्यकता पर्ने बिरामी पाँचगुनाले कम देखिएको छ," नियमित पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख कृष्णप्रसाद पौडेलले भने।
तर यसो भन्दै गदा पनि अत्यन्तै चनाखो हुनुपर्ने स्थिति रहेको उनले बताए।
अहिले आईसीयूमा २५१ जना र भेन्टिलेटरमा ४८ जना बिरामी भएको मन्त्रालयले जनाएको छ।
विगत २४ घण्टामा निको हुने सङ्क्रमितको सङ्ख्या ४,४३३ रहेको छ।
दुई सातादेखि निरन्तर वृद्धि

तस्बिर स्रोत, RSS
विगत दुई सातादेखि नेपालमा प्रत्येक दिन हजारौँ मानिसमा कोभिड-१९ पुष्टि भइरहेको छ।
तीमध्येअधिकांश २१ देखि ४० वर्ष उमेर समूहका छन्।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले ओमिक्रोन भेरिअन्टका कारण सङ्क्रमण दर वृद्धि भइरहेको बताउँदै आएका छन्।
सामान्य लक्षण देखिएका मानिसहरू परीक्षण गर्न नगएकाले सङ्क्रमितको सङ्ख्या तथ्याङ्कले देखाएभन्दा निकै बढी भएको विज्ञहरू बताउँछन्।
हालसम्म नेपालमा ११,६७२ जनाको कोभिडका कारण मृत्यु भएको छ।

यो पनि हेर्नुहोस्























