कोभिड नेपाल: नेपालमा थप १० हजार जनामा कोरोना भाइरस, सक्रिय सङ्क्रमितको सङ्ख्या ८२ हजार नाघ्यो

कोभिड नेपाल

तस्बिर स्रोत, Reuters

Published

नेपालमा पछिल्लो २४ घण्टामा १०,३३९ जना व्यक्तिमा कोभिड पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यसअघि शनिवारसम्म लगातार पाँच दिन दैनिक १० हजारभन्दा बढीमा सङक्रमण देखिएको बताएका अधिकारीले आइतवार ६,४६२ जनामा कोभिड पुष्टि भएको जनाएका थिए।

पछिल्लो वृद्धिसँगै देशभरि रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या ८२ हजार पाँच सय नाघेको छ।

विगत दुई सातादेखि नेपालमा निरन्तर कोभिड-१९ सङ्क्रमण वृद्धि भइरहेको छ।

के छ अहिलेको तथ्याङ्क

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले ओमिक्रोन भेरिअन्टका कारण सङ्क्रमण दर वृद्धि भइरहेको बताउँदै आएका छन्।

सोमवार अपराह्ण प्रकाशित विवरणअनुसार विगत २४ घण्टामा २१,२०१ वटा नमुना परीक्षण गरिएको थियो।

तीमध्ये पीसीआर विधिबाट १६,६५४ वटा र एन्टिजन विधिबाट ४,५४७ वटा परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

पीसीआर विधिबाट गरिएका परीक्षणमध्ये ४८ प्रतिशत भन्दा बढीमा र एन्टिजन परीक्षणमा झन्डै ५० प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो।

Nepal_daily_covid_Cases

हाल देशभरि सङ्क्रमितको सङ्ख्या ८२,५५० रहेको तथ्याङ्कले देखाउँछ। तीमध्ये झन्डै दुईतिहाई काठमाण्डू उपत्यकामा रहेको तथ्याङ्कले देखाउँछ।

सक्रिय सङ्क्रमितमध्ये ३८,५८१ जना काठमाण्डूमा, ९,०५१ जना ललितपुरमा र ५,२१०जना भक्तपुरमा छन्।

गत २४ घण्टामा काठमाण्डूमा ३,६३४ जना, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जना नयाँ सङ्क्रमित थपिएका हुन्।

त्यसैगरी चितवनमा ७९०, कास्कीमा ३४३ र झापामा २०५ जना सङ्क्रमित थपिएका छन्।

अहिले आईसीयूमा २३८ जना र भेन्टिलेटरमा ४३ जना बिरामी भएको मन्त्रालयले जनाएको छ।

खोप

तस्बिर स्रोत, RSS

विगत २४ घण्टामा निको हुने सङ्क्रमितको सङ्ख्या २,५४० रहेको छ।

अहिले सङ्क्रमित भइरहेका मध्ये अधिकांश २१ देखि ४० वर्ष उमेर समूहका मानिसहरू रहेका छन्।

अहिलेसम्म नेपालमा ११,६५९ जनाको कोभिडका कारण मृत्यु भएको छ जुन कुल सङ्क्रमितको १ दशमलव ४ प्रतिशत हो।

ओमिक्रोनका लक्षण के-के हुन्?

हाल विश्वभर तीव्र गतिमा फैलिरहेको कोभिड-१९ को ओमिक्रोन भेरिअन्ट निकै सङ्क्रामक रहेको वैज्ञानिकहरूले बताएका छन्।

तर यो प्रकारको कोरोनाभाइरसले विगतका भेरिअन्टभन्दा मध्यम खालका लक्षणहरू देखाइरहेको र रुघाखोकी वा फ्लूसँग मिल्दोजुल्दो बनाएको छ।

वैज्ञानिकहरूका अनुसार ओमिक्रोनबाट सङ्क्रमित भएका व्यक्तिमा नाकबाट पानी बग्ने, टाउको दुख्ने, शरीर गल्ने, हाच्छिउँ आउने र घाँटी दुख्ने जस्ता आम लक्षण देखिन्छ।

ब्रिटिश न्याश्नल हेल्थ सर्भिसेज एनएचएसले अकस्मात्को निरन्तर खोकी, ज्वरो वा उच्च तापक्रम अनि स्वाद वा गन्ध हराउनु वा परिवर्तन हुने जस्ता लक्षणहरूबारे भने सचेत रहन सुझाव दिएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, चिसो, फ्लू र कोभिड-१९ का लक्षण कसरी छुट्याउने