डेसमण्ड टुटु: नोबेल शान्ति पुरस्कार विजेता रङ्गभेदविरोधी दक्षिण अफ्रिकी व्यक्तित्वको निधन

डेसमण्ड टुटु

तस्बिर स्रोत, Getty Images

Published

दक्षिण अफ्रिकामा रङ्गभेद अन्त्य गर्न प्रमुख भूमिका खेलेका एक जना व्यक्ति डेसमण्ड टुटुको ९० वर्षको उमेरमा निधन भएको छ।

नोबल शान्ति पुरस्कार विजेता इसाई पादरी टुटुको मृत्यु दक्षिण अफ्रिकी राष्ट्रपति सिरील रामाफोसाले एक विज्ञप्तिमा पुष्टि गरेका छन्।

राष्ट्रपति रामाफोसाले उनको मृत्यु "उत्कृष्ट दक्षिण अफ्रिकीहरूको एक पुस्ताको बिदाइको एक अध्याय" भएको बताएका छन्।

उनले "स्वतन्त्र दक्षिण अफ्रिका प्राप्तिका लागि टुटुले सहयोग गरेको" बताएका छन्।

नेल्सन मन्डेलाका समकालीन टुटु सन् १९४८ देखि सन् १९९१ सम्म दक्षिण अफ्रिकामा कायम रङ्गभेदी नीतिको अन्त्य गर्ने आन्दोलनको एक प्रमुख व्यक्तित्व थिए।

सन् १९८४ मा नोबल शान्ति पुरस्कार दिइएका टुटु आफ्नो व्यक्तित्व र कार्यले दक्षिण अफ्रिका र अन्तर्राष्ट्रिय रूपमा लोकप्रिय बनेका थिए।

रङ्गभेदविरोधी व्यक्तित्व

अश्वेत जातिका टुटु आफ्नो विचार र कार्यका कारण सधैँ दक्षिण अफ्रिकामा अल्पमत श्वेत शासकहरूसँग सङ्घर्षमा रहे तर जीवनभर उनले आफ्नो उद्देश्य राजनीतिक नभई धार्मिक भएको बताइरहे।

मन्डेलाले उनलाई रङ्गभेद नीति भएको समयमा दुवै समूहले गरेका अपराधको अनुसन्धान गर्न गठित सत्य निरुपण आयोगका प्रमुख नियुक्त गरेका थिए।

टुटुले रङ्गभेदी नीतिको अन्त्यपछि दक्षिण अफ्रिकाको बहुजाति मिश्रणलाई सम्बोधन गर्न इन्द्रेणी राष्ट्र नामाकरण गरेका थिए।

सुरुमा शिक्षक रहेका उनले सन् १९५३ मा विद्यालयहरूमा रङ्गका आधारमा विद्यार्थी छुट्टाउने कानुन बनेपछि शिक्षण पेसा छोडेर चर्च पसेका थिए।

उनी सन् १९७६-७८ मा लेसोथोको विशप, त्यसपछि जोहानेसवर्गका सहायक विशप बन्दै पछि विशप बनेका थिए।

चर्चको प्रभावशाली भूमिकामा रहँदा नै उनले दक्षिण अफ्रिकामा भइरहेको अन्यायविरुद्ध आवाज उठाउन थालेका थिए।

डेसमण्ड टुटु

तस्बिर स्रोत, Oryx Media Archive/Gallo Images

नोबेल शान्ति पुरस्कार

उनी केप टाउनको आर्चविशप नियुक्त हुँदा सो समारोहमा मार्टिन लुथर किङकी विधवा सहभागी भएकी थिइन्।

अफ्रिकी चर्चका प्रमुखका रूपमा उनले रङ्गभेदविरुद्ध आफ्नो अभियान जारी राखे र सन् १९८८ मा घोषणा गरे: "हामी सरकारको जुत्ता पुछ्ने ढोकाको म्याट हुन अस्वीकार गर्छौँ।"

सोही वर्ष उनले स्थानीय निर्वाचन बहिष्कार गर्न आह्वान गरे।

राष्ट्रपति फ्रडरिक विलियम डि क्लेर्कले नियुक्त हुनेबित्तिकै गरेको सुधारको घोषणा उनले स्वागत गरे।

सो सुधारमा अफ्रिकन न्याश्नल कँग्रेस दलमाथिको प्रतिबन्द खुला गर्ने र सन् १९९० को फेब्रुअरीमा मन्डेलालाई जेलमुक्त गर्ने प्रतिबद्धता थियो।

क्लेर्कको केही साताअघि ८५ वर्षको उमेरमा निधन भएको थियो।

त्यसको लगत्तै उनले पादरीहरूले राजनीतिक दलमा आबद्ध हुन नपाउने घोषणा गरे जसलाई अन्य चर्चहरूले आलोचना गरेका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेल्सन मण्डेलाको जन्मशताब्दीको अवसरमा उनका केही स्मरणीय उक्तिहरु। बीबीसी रिपोर्ट( भिडिओ)

टुटुले सधैँ मन्डेलाको समर्थन गरे पनि न्यायिक अन्त्यका लागि हिंसा प्रयोग गर्नेजस्ता विचारसँग असहमत थिए।

सन् १९९५ को नोभेम्बरमा सत्य निरुपण आयोगको प्रमुख नियुक्त भएका उनले त्यसको अवधि सकिँदा श्वेत नेताहरूले ढाँटेको र अफ्रिकन न्याश्नल कँग्रेसले रङ्गभेदविरुद्धको सङ्घर्षमा मानव अधिकार हनन गरेको आरोप लगाए। दुवै पक्षले आयोगको प्रतिवेदनलाई अस्वीकार गरेको थियो।

टुटुले "विमानस्थल र होटेलभन्दा चिया खाएर क्रिकेट हेरेर समय बिताउने" भन्दै सन् २०१० सार्वजनिक जीवनबाट सन्यास लिए।

सन् २०१४ मा उनले स्वमृत्युवरणको पक्षमा बोलेका थिए।

अन्य चर्च व्यक्तित्वहरूले विरोध गरेको विषयमा उनले अशक्त मानिसलाई आफूले चाहेको बेला मर्न पाउने अधिकार हुनुपर्ने बताएका थिए।