कोभिड नेपाल: नेपालीमा कोरोनाभाइरस विरुद्धको खोपको बुस्टर डोजबारे यस्ता छन् विज्ञका सुझाव

तस्बिर स्रोत, Reuters
कतिपय देशहरूले कोभिड खोपको पूर्ण मात्रा लगाएकाहरूलाई थप मात्रा अर्थात् बुस्टर डोज दिन थालेका बेला नेपालमा पनि त्यसबारे चर्चा भएका छ।
स्वास्थ्य अधिकारीहरूले नेपालमा अहिले पर्याप्त मात्रामा खोप रहेको भन्दै खोप अभियान तीव्र बनाएको बताएका बेला बुस्टर डोजबारे पनि चासो व्यक्त भएको पाइएको हो।
एक पटक कोभिड सङ्क्रमण भएका तथा पूर्ण मात्रा खोप लगाएकाहरूको पनि ६-८ महिनापछि प्रतिरोधी क्षमता कमजोर बन्ने अनुसन्धानले देखाएका छन्।
नेपाली विज्ञहरूले सुरुमा खोप लगाउन योग्य सबैलाई पूर्ण मात्रा खोप लगाइसकेपछि मात्र बुस्टर डोजबारे सोच्न सुझाव दिएका छन्।
के भन्छन् विज्ञ?
सङ्क्रामक रोगसम्बन्धी अनुसन्धानकर्ता प्राध्यापक डा. बुद्ध बस्न्यात बुस्टर मात्राभन्दा अघि नेपालका सबै खोप लगाउन योग्य जनसङ्ख्यालाई पूर्ण मात्रा खोप लगाउनु फलदायक हुने बताउँछन्।
"बुस्टर डोज महत्त्वपूर्ण भए पनि त्यसले कसरी काम गर्छ भन्ने प्रमाणहरू अपुष्ट छन्," उनले भने।
"त्यो कति फलदायक हुन्छ भन्ने पनि अहिले नै यकिन भन्न सक्ने अवस्था छैन।"
नेपालले खोप लिन बाँकी रहेका नागरिकलाई खोप पुर्याउनेतर्फ ध्यान दिनुपर्ने उनको सुझाव छ।

तस्बिर स्रोत, Reuters
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अनुसन्धान एकाइ प्रमुख डा. शेरबहादुर पुन पनि नेपालमा अहिले "लक्षित जनसङ्ख्याले खोप लगाउन अझै बाँकी रहेको र मात्रा पूरा गरेकाहरूको पनि छ महिनाभन्दा बढी अवधि पुगेकाले यी दुवैलाई मध्यनजर गरेर हेर्नुपर्ने अवस्था आएको" बताउँछन्।
उनी पहिलो प्राथमिकता सबै लक्षित समूहलाई पूर्ण मात्रा खोप लगाउनुपर्ने हुनेमा जोड दिन्छन्।
पुन पनि पूर्ण मात्रा खोप लगाएकाहरूको एन्टिबडी कति खस्किएपछि जोखिम बढ्ने हो र बुस्टर डोजले कसरी काम गर्छ भन्नेबारे अनुसन्धानहरूले सबै प्रश्नको जवाफ दिइनसकेको बताउँछन्।
उनी भन्छन्, "हामीले सबै वस्तुस्थिति र अनुसन्धानलाई नजिकबाट हेरेर त्यसैका आधारमा निर्णय गर्नुपर्ने हुन्छ।"
दीर्घरोगी र जेष्ठ नागरिकलाई प्राथमिकता
खोपले कोभिडका बिरामीलाई सिकिस्त हुन र उनीहरूको मृत्यु हुनबाट बचाउने विभिन्न अनुसन्धानले देखाएका छन्।
तर दीर्घरोगी र वृद्धहरूलाई पूर्ण मात्रा खोपले पनि बचाउन नसकेका कैयौँ उदाहरणहरू पाइएको चिकित्सकहरू बताउँछन्।
यद्यपि नेपालमा बुस्टर डोज दिने अवस्था आएमा प्राथमिकतामा सबैभन्दा माथि "दीर्घरोगी र बढी उमेर समूहका व्यक्तिहरूलाई राख्नुपर्ने" डा. बस्न्यातको मत छ।
विभिन्न अनुसन्धानले पहिले लगाएका खोपभन्दा भिन्न खोप मिलाएर दिँदा राम्रो काम गरेको उदाहरण देखाएका छन्।
त्यसैलाई आधार मानेर बस्न्यात बुस्टर डोजमा दुई खाले खोप मिलाउँदा राम्रो गर्ला भन्ने आफूलाई लागेको बताउँछन्।

तस्बिर स्रोत, RSS
यद्यपि यो पनि किटेरै भन्न अझै केही समय पर्खेर थप अनुसन्धानका नतिजा हेर्नुपर्ने विषय भएको उनी ठान्छन्।
पुन चाहिँ नेपालको कुन समूह बढी जोखिममा छ भनेर पहिले हेर्नुपर्ने बताउँछन्। त्यसका आधारमा खोप दिनुपर्ने उनको मत छ।
सरकारले के भन्छ?
बीबीसीसँग कुरा गर्दै दुई साताअघि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारले अहिले नै बुस्टर डोजबारे निर्णय नगरेको बताएका थिए।
उनका भनाइमा सरकारको अहिलेको प्राथमिकता बुस्टर डोजभन्दा पनि सबै खोपयोग्य नागरिकलाई खोप लगाइसक्नु रहेको छ।
उनले बुस्टर डोजका हकमा पछि निर्णय हुने र त्यस्तो डोज सक्नेले किनेर लाउनुपर्ने पनि हुनसक्ने बताएका थिए।
तर सरकारी अस्पतालहरूमै कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले पनि बुस्टर डोज लगाउनु पर्ने आवश्यकता औँल्याउन थालेका छन्।
नेपालमा गत वर्ष माघदेखि खोप अभियान सुरु भएको थियो र पहिलो चरणमा स्वास्थ्यकर्मीहरूले खोप लगाएका थिए।
त्यस बेला खोप लगाएकाहरूमा अहिले एन्टिबडी कम भइसकेको हुनसक्ने भएकाले बुस्टर डोजको आवश्यकता रहेको उनीहरूको भनाइ छ।
'बुस्टरभन्दा बढी सावाधानी जरुरी'
डा. बस्न्यात चाहिँ नेपालीहरूले बुस्टर डोजमा भन्दा बढी सङ्क्रमण सर्न र फैलन नदिने व्यवहारमा ध्यान दिनुपर्ने बताउँछन्।
युरोप तथा अमेरिकाको उदाहरण दिँदै उनी भन्छन्, "त्यहाँ अहिले फेरि सङ्क्रमण बढेको विवरणहरू आइरहेका छन् किनकि त्यहाँ मानिसहरू मास्क लगाउन चाहँदैनन्।"
"हाम्रोमा चाहिँ मास्क लगाउने चलन छ। त्यसमा हामीले गर्व नै गर्न सक्छौँ। तर त्यसलाई छाड्नु भएन, कायम राख्नुपर्यो।"
उनी सामाजिक दूरी कायम गर्ने, बेलाबेलामा साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्नेजस्ता बानीलाई नियमित जारी राख्नुपर्ने सुझाव दिन्छन्।

तस्बिर स्रोत, REUTERS
कतिले लाए खोप?
नेपालमा हालसम्म कुल जनसङ्ख्याको ३० प्रतिशतभन्दा बढीले कम्तीमा एक मात्रा खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयको विवरणले देखाउँछ।
त्यस्तै करिब २७ प्रतिशतले दुवै मात्रा खोप लगाइसकेका छन्।
उक्त विवरणलाई खोप लगाउन योग्य जनसङ्ख्याका हिसाबले हेर्दा बढी हुन जाने बताइएको छ।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म एक करोड ७५ लाखभन्दा बढी मात्रा खोप खपत भइसकेको छ।
मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार हालसम्म नेपालमा अनुदान पाइएको र नेपालले किनेको विभिन्न कम्पनीका गरी कुल दुई करोड ५५ लाख मात्राभन्दा बढी खोप आइसकेको छ।
त्यस्तै थप तीन करोड ५६ लाख ९१ हजार ५ सय ४८ मात्रा खोप आउने निश्चित भइसकेको अधिकारीहरूले जानकारी दिएका छन्।




















