बागमती प्रदेश सरकारः एमालेले गुमायो तेस्रो मुख्यमन्त्री, अष्टलक्ष्मी शाक्यद्वारा राजीनामा

मुख्यमन्त्री शाक्य

तस्बिर स्रोत, RSS

Published

प्रदेशसभाको पहिलो निर्वाचनपछि सबैभन्दा धेरै मत ल्याएर सातमध्ये चार प्रदेशमा सरकारको नेतृत्व गरेको नेकपा एमालेले एउटाबाहेक सबै प्रदेश सरकारको नेतृत्व गुमाएको छ।

बुधवार बागमती प्रदेशमा आफ्नो सरकार गुमाएसँगै एमाले नेतृत्वको सरकार अब प्रदेश नं १ मा मात्रै बाँकी छ। यसअघि एमालेले गण्डकी र लुम्बिनी प्रदेशको सरकार गुमाएको थियो।

प्रदेशसभाबाट विश्वासको मत नपाउने निश्चित भएपछि मतपरीक्षणअघि नै बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभा बैठकमा आफ्नो राजीनामाको घोषणा गरिन्।

"नेपालको संविधानको धारा ६९ को १ क बमोजिम मैले मुख्यमन्त्रीको नाताले मार्ग प्रशस्त गरेकी छु। छोटो समयमा पनि मलाई सहयोग गर्नुभएको छ त्यसका लागि म सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु," राजीनामा घोषणा गर्दै शाक्यले भनिन्।

गत भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री थिइन्। उनीअघि एमालेकै डोरमणि पौडेल उक्त प्रदेशका मुख्यमन्त्री थिए।

प्रदेशसभामा सम्बोधनका क्रममा शाक्यले आफ्नो राजनीतिक सङ्घर्षयुक्त विगत स्मरण गरेकी थिइन्। उनले देश पहिलो पटक सङ्घीयतामा गएको भन्दै प्रदेश बनाउन सरकार र प्रतिपक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिइन्।

"हामी संस्कारयुक्त बनौँ, द्वन्द्व लाई कम गरौँ, यो प्रदेश बनाउन मिलेर काम गरौँ। हामी नमिले यो प्रदेश बनाउन सकिँदैन," उनले भनिन्।

प्रदेश नं १ मा पनि सङ्कटमा एमाले

प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले पनि आगामी सोमवार प्रदेशसभामा विश्वासको मत परीक्षण गर्दैछन्।

एमालेबाहेक अरू विपक्षी दलको गठबन्धन प्रदेशसभामा बलियो देखिएका कारण आचार्यले पनि मुख्यमन्त्री गुमाउने सम्भावना अधिक छ।

शाक्यको राजीनामासँगै एमाले विभाजनबाट बनेको नेकपा एकीकृत समाजवादीले पहिलो मुख्यमन्त्री पाउने भएको छ।

राजेन्द्र पाण्डे

तस्बिर स्रोत, Rajendra Prasad Pande/Facebook

एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुन लागेको नेताहरूले बताएका छन्।

पाण्डे गत भदौमा भएको एमाले विभाजनमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा समावेश भएका थिए।

पार्टी विभाजनअघि नेता नेपालको समूहमा रहेकी शाक्यले अन्तिम समयमा गुट बदलेर केपी शर्मा ओली समूहमा गएपछि पार्टीले उनलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो।

तर पार्टी विभाजनसँगै शाक्यले मुख्यमन्त्री गुमाउने निश्चितप्रायः थियो।

प्रदेशसभामा ११० सदस्य रहेको बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ।